• ८ मंसिर २०८१, शनिबार

छठपर्व नजिकिँदा बाँसका सामग्रीको बिक्री अत्यधिक

blog

सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा बिक्रीका लागि राखिएका बाँसका सामग्री । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, कात्तिक १ गते ।
नेपालीहरुको महान् पर्व दसैँ सकिएसँगै सुनसरीका विभिन्न स्थानमा दीपावली र छठको चहलपहल बढेको छ । दीपावली आउन दुई हप्ता र छठ करिब तीन हप्ता बाँकी छँदै बजारमा चाडपर्वका लागि किनमेल गर्नेहरुकाे चहलपहल बढेको छ ।

सूर्यलाई अर्घ दिएर मनाइने छठपर्व नजिकिँदै जाँदा सुनसरीमा बाँसका सामग्रीको माग बढेको छ । छठका लागि बाँसका सामग्रीको माग बजारमा अत्यधिक बढेको कोशी गाउँपालिका १ का रम्भा मरिकले बताउनुभयो ।

कोशीको लौकही बजारमा अहिले दैनिक बाँसबाट बनाइएको ढाकी (ढकिया), नाङ्लो, टपरी, कुनियालगायतका सामग्री प्रति सेट ६५० रुपियाँमा बिक्री भइरहेको छ भने कुनिया प्रति गोटा एक सय रुपियाँको दरले र ढाकी (ढकिया) प्रति गोटा चार सयदेखि ६ सयमा बिक्री भइरहेको मरिक बताउनुहुन्छ । वर्षभरि खासै बिक्री नहुने बाँसका सामग्रीहरु छठ पर्वको बेला भने निकै बिक्री हुने गरेको मरिकको भनाइ छ ।

मरिकका अनुसार छठका लागि माग बढेकाले लौकही, इनरुवा, चिमडी, भोक्राहा, दुहवी, देवानगञ्जलगायतका हाटबजारमा बाँसका सामग्रीको बिक्री बढेको छ । इनरुवाको सोमबारे हाट र बिहीबारे हाटमा पनि बाँसका सामग्रीको बिक्री बढेको इनरुवा नगरपालिका–२ का राम मरिकले बताउनुभयो । इनरुवामा अरू बेला खासै बाँसको सामग्री बिक्री नहुने, तर छठ आउन करिब तीन साता बाँकी छँदै हाटबजारमा यी सामग्रीको माग र बिक्री बढेको मरिकले बताउनुभयो ।  छठ पर्वका लागि बाँसको चोयाबाट ढाकी (ढकिया), नाङ्लो, टपरी, कुनियालगायतका सामग्री बिक्री भइरहेको अर्का स्थानीय सकुन्ती मरिकले बताउनुभयो । बाँसकै सामग्रीमा छठ पर्वमा प्रसाद (धूप, अगरबत्ती, मिठाई र फलफूल) राखेर पूजा गर्ने चलन छ ।

यहाँका मरिकले बनाएका बाँसका सामग्री सुनसरी जिल्लाको सदरमुकाम इनरुवासहित कोशी गाउँपापिलाको लौकही, हरिपुर, वराहक्षेत्र नगरपालिकाको मधुवन, दुहबी, हरिनगरा, रामनगर भुटाहा, चिमडी, झुम्का र इटहरीसहितका विभिन्न बजारमा बिक्री भइरहेको छ । तराई मधेशमा परम्परागत रूपमै हस्त शिल्पकलामा डुम, डोम, मेहत्तर वा मल्लिक भनेर चिनिने गरेको र उहाँहरु श्रममा विश्वास गर्दै पुर्ख्याैली पेसाका रूपमा बाँसका सामग्री बनाउँदै बिक्री गर्दै जीविकोपार्जन गर्दै आएको भोक्राहा नरसिंह ७ का शिवन मरिकले बताउनुभयो ।

विवाह, व्रतबन्ध र चाडपर्वमा तथा धेरै मात्रामा स्थानीयको महान् चाड छठ पर्वलगायत अन्य पूजापाठमा अति आवश्यक रहेको बाँसका सामग्रीको छठको समयमा भने यी सामग्रीको माग बढी हुने गरेको हरिनगरका सुरेन्द्र मरिकले बताउनुभयो ।

मौसमी रूपमा बाँसका सामग्री बनाउने पेसा फस्टाउँदै गएको देखिए पनि समग्रमा यो पेशा समस्याग्रस्त रहेको उहाँको गुनासो छ । केही वर्षदेखि मिथिलाञ्चलमा मात्रै नभएर उत्तरी क्षेत्र धरान, इटहरीसहित देशको राजधानी काठमाडौँ र पोखरालगायतका स्थानमा पनि छठपर्व मनाउन थालिएकाले यहाँ बनाइएका बाँसका सामग्री उतासमेत लाने गरेको अर्का स्थानीय रुपेश मरिकले जानकारी दिनुभयो । छठपर्व मनाइने विभिन्न सहरमा पनि बाँसका सामग्री निर्यात हुने गरेको छ । यहाँका मरिक परिवारले प्रतिपरिवार खर्च कटाएर छठपर्वका बेला एक लाखदेखि तीन लाख रुपियाँसम्म आम्दानी गर्ने गरेका छन् ।