• २१ पुस २०८१, आइतबार

वृद्धाश्रमलाई आर्थिक सहयोग

blog

वालिङ समाज स्याङ्जा युएईका उपाध्यक्ष लक्ष्मी भट्टराईलगायत आश्रमका अध्यक्ष कविता गैह्रेलाई रकम हस्तान्तरण गर्नुहुँदै । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, असोज ३० गते ।
वैदेशिक रोजगारीको क्रममा युएईमा रहेकाहरुले सङ्कलन गरेको रकम रामनदी धाम राम्दीको वृद्धाश्रमलाई हस्तान्तरण गरिएको छ ।

वालिङ समाज स्याङ्जा युएईको तर्फबाट सङ्कलन गरिएको रकम एक लाख ११ हजार १०५ रुपियाँ वृद्धाश्रमलाई हस्तान्तरण गरिएको हो । गएको भदौमा समाजले युएईमा गरेको तीज विशेष कार्यक्रममा उठेको रकमलाई बचत गरेर आश्रमलाई सहयोग गरेको समाजका उपाध्यक्ष लक्ष्मी भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “समाजमा आबद्ध सदस्यहरुले थोरै थोरै रकम सङ्कलन गरेर समाजसेवामा जोडिएका हौं ।” रोजगारीको क्रममा विदेशमा रहे पनि समाजलाई केही गर्नुपर्छ भनेर आफूहरु समाजसेवामा सक्रिय रहेको उहाँको भनाइ छ । प्रदेशमा गर्ने कार्यक्रममा आफूहरुले नै पैसा उठाउने गरेको उहाँको भनाइ छ ।

आश्रममा रहेका वृद्धवृद्धालाई नियमित खाना तथा अन्य कामका लागि सहयोग पुगोस् भनेर रकम प्रदान गरिएको संस्थाका संरक्षक नारायण डुम्रेले बताउनुभयो । आफूहरुले काम गर्ने क्रममा पाउने पारिश्रमिकबाट गरेको बचतले सहयोग गरेको उहाँको भनाइ छ । आफूहरुले खर्च कम गरेर रकम बचाउने गरेको उहाँको भनाइ छ ।

रकम ग्रहण गर्नु हुँदै शिवपार्वती वृद्धाश्रमका अध्यक्ष तथा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले सवैको सहयोगले वृद्धाश्रम सञ्चालनमा सहज भएको बताउनुभयो । दाताहरुको सहयोगले वृद्धवृद्धाको दैनिकीमा ठूलो सहयोग पुगेको उहाँको भनाइ छ । वृद्धाश्रममा भवन निर्माणको काम जारी रहेको भन्दै उपप्रमुख तिवारीले यसको व्यवस्थापनका लागि सबैको निरन्तर सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

जिल्लाको एक मात्र वृद्धाश्रममा जिल्ला बाहिरबाट समेत वृद्धवृद्धा बस्न आउने गरेको संस्थाका उपाध्यक्ष अर्जुनप्रसाद खनालले बताउनुभयो । अनाथ र असहाय वृद्धवृद्धाका लागि वृद्धाश्रम जीवनको अन्तिम क्षण बिताउने थलो बनेको उहाँको भनाइ छ ।

कालीगण्डकी तट राम्दीमा सञ्चालनमा रहेको वृद्धाश्रममा २५ जना वृद्धवृद्धा आश्रय लिएर बस्दै आएका छन् । आश्रममा खाना बास तथा नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको आश्रमले जनाएको छ ।