भक्तपुर, असोज २७ गते । दसैँको अवसरमा मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा सम्पन्न भएको छ । नेपाल भाषामा खाँ: भनेर चिनिने यो जात्रा घटस्थापनाका दिन थिमिको लायकूस्थित तलेजु मन्दिरमा जमरा राखेर सुरु भएको थियो ।
एकादशीको दिन आज तीनजना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुकुन्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, बिगुल फुक्ने, राजदण्ड समाउने नाइके, राजोपाध्यायसहितको संलग्नतामा जात्रा सम्पन्न भएको हो ।
बाजागाजासहित लायकुबाट ल्याइएको कुभिन्डोलाई बालकुमारी अगाडि कर्माचार्यले पूजा गरी थकाली (पमा) ले कुभिन्डो काटेका थिए । कुभिन्डोको टुक्रा टिपेर लान सक्नेको घरमा सुखशान्ति हुने र ती टुक्राले औषधिको समेत काम गर्ने जनविश्वास रहिआएको छ ।
कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजु दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगा र बोकाको बलि दिने परम्परा छ । नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिन्डोलाई आज एकादशीको दिनमा बाजागाजाका साथ बिगुल फुक्दै लायकु दरबारबाट दिगु भैरव परिक्रमा गरी बालकुमारीमा पुगेर जात्रा सम्पन्न भएको हो । रासस