• ७ मंसिर २०८१, शुक्रबार

सुरक्षा भत्ताको रकम बालबालिकाको शिक्षामा

blog

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिदै ।

अर्जुन काफ्ले

स्याङ्जा, असोज २५ गते । भीरकोट नगरपालिका–६ का ९२ वर्षीय प्रेमबहादुर थापाले आफ्नो सामाजिक सुरक्षा भत्ता बालबालिकाको शिक्षाका लागि खर्च गर्नुभएको छ । 

सामाजिक सुरक्षा भत्ताको ३० हजार रुपियाँ थापाले लुब्दीखोला आधारभूत विद्यालयका विद्यार्थीका लागि खर्च गर्नुभएको हो । यहाँ रहेका १३ जना विद्यार्थीलाई थापाले लत्ताकपडा र शैक्षिक सामग्री वितरण गर्नुभयो ।  

दसैँविशेष शुभकामना आदानप्रदान कार्यक्रममा ड्रेस झोला, कापी, पेन्सिल, कटर, इरेजर लगायतका सामग्रीहरू वितरण गर्नुभयो । थापाले सामग्री वितरण गरेर बालबालिकाको शैक्षिक विकासमा योगदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । 

भविष्यमा पनि आवश्यक सहयोग गर्ने बताउँदै थापाले मेरो सानो योगदानले पनि कसैको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने भएकाले सहयोग गरेको बताउनुभयो । आफु अब जिवनको अन्तिम खुडकिलो पार गरेको अवस्थामा समाजमा सहयोग गर्न मन लागेको र गरेको थापाले बताउनुभयो ।  

भीरकोट नगरपालिका-६ का वडाअध्यक्ष लक्ष्मण केसीले थापाको कार्यलाई उच्च सराहना गर्दै यस प्रकारका सहयोगले सामुदायिक विद्यालयको  शैक्षिक वातावरणमा सुधार आउने बताउनुभयो । सामुदायिक सहभागितामा यस्ता कार्यलाई बढावा दिन आवश्यक रहेको भन्दै सबैलाई आग्रह गर्नुभयो ।