• ९ मंसिर २०८१, आइतबार

बडादसैँको अवसरमा प्रहरीको मौलो पूजा

blog

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर मौलोमा पूजा गर्नुहुँदै । तस्बिर : नेपाल प्रहरी

गोरखापत्र अनलाइन

काठमाडौँ, असोज २५ गते । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँको अवसरमा शुक्रबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलो पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभएको छ । 

नेपाल प्रहरीले परम्परागत रूपमा गर्दैआएको सो पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बलीपूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष काम गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खा थारुलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।  

सो अवसरमा प्रहरी महानिरीक्षक सन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा विसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको छ ।

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट ल्याइएको हो । जसमा दुई वटा निशान हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अङ्कित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अङ्कित हुन्छ । 

नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्नेजस्तो संवेदनशील एवं महत्त्वपूर्ण काममा सफलता प्राप्तिका लागि शक्तिपिठ र इष्ट देवताको प्रतीकका रूपमा निशान झण्डालाई लिइन्छ । 

सङ्गठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनी निशान झन्डालाई पूजा गर्ने परम्परा रही आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीले विक्रम स‌वत २०११ सालमा निशान झण्डा प्राप्त गरेपश्चात् हरेक वर्ष बडा दसैँ र चैते दसैँमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ ।

आज देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रही आएअनुरूप सम्पूर्ण प्रहरी इकाईहरूमा समेत विधिवत् रूपमा मौलो पूजा सम्पन्न गरिएको प्रधान कार्यालयले जनाएको छ ।