• ७ मंसिर २०८१, शुक्रबार

रौनक हराएको दसैँ

blog

यस वर्षको मुख्य चाड बडादसैँ बिस्तारै उत्सर्गमा छ । यसपालि नवमी र अष्टमी एकै दिन परेकाले भोलि अर्थात् असोज २६ गते विजयादशमी हो । नेपालीका लागि यो चाड सर्वाधिक लोकप्रिय पनि छ । असत्यमाथि सत्यको जितको प्रतीकका रूपमा यो चाड मनाइने गरिन्छ । यो पर्वका मिथकहरू प्रारम्भदेखि नै धार्मिक, सांस्कृतिक र सामाजिक एकताको पक्षमा छन् । हिन्दु धर्ममा नवदुर्गाका नौ स्वरूप शक्ति, साहस, न्याय र धैर्यको प्रतिरूप मानिन्छन् । त्यसैले नेपाली समाजमा दसैँ बडो धुमधाम र हर्षाेल्लासका साथ मनाइने चलन रहिआएको छ । 

यस वर्ष विगतजस्तो उल्लासमय वातावरण छैन । मनसुन सकिएलगत्तै बडा दसैँको रौनकले मुलुकलाई झपक्कै छोप्ने गर्छ । दसैँको मुखैमा आएको बाढीपहिरोले यो साल भने भयङ्कर वितण्डा मच्चायो । अर्बाैं रुपियाँ बराबरको धनमाल क्षति भएको छ भने सयौँ जनाले ज्यान गुमाउनु परेको छ । राजधानीबाट बाहिर निस्कन चाहनेका लागि यात्रा सहज छैन किनभने राजधानी जोड्ने सबै राजमार्ग क्षतविक्षत अवस्थामा छन् । सरकारले अनवरत प्रयास गरेपछि जेनतेन राजमार्ग सुचारु भएका छन् । तैपनि ज्यान जोखिममै राखेर यात्रा गर्नुपर्ने बाध्यता छ । पूर्वी नेपालसँग जोडिने बिपी हाइवे भने अझै खुल्न सकेको छैन । यो सडकमा रोसी र कोशीले तहसनहस पारेको छ । सर्वसाधारण बिचल्लीमा परेका छन् । बिस्तारै जनजीवन सामान्य बन्दै छ । सँगसँगै पीडा र अत्यासपूर्ण जनजीवनले दसैँ खल्लो नै हुने अवस्था छ । 

नेपाली समाजमा सहअस्तित्वको गज्जबको संयोजन देख्न सकिन्छ । हिन्दुहरूका चाडबाडसँगै इसाई, इस्लाम र बुद्ध धर्मका पर्वले पनि हाम्रो समाजमा उत्तिकै महìव राख्ने गरेका छन् । नेपाल बहुधार्मिक र बहुसांस्कृतिक देश हो । सबै धर्म र संस्कृतिबिच अहिले सहअस्तित्व र अन्तर्घुलनको बेजोड संयोजनको अनुभूति गर्न सकिन्छ । सबै चाड र संस्कृति बिस्तारै साझा जस्तै हुन थालेका छन् । एकले अर्कालाई सहजै स्विकार्ने र सम्मान गर्ने नेपाली समाजको विचित्रको रूप देख्न सकिन्छ । समाजमा उदारता, सहिष्णुता र स्वीकारोक्तिका यी पछिल्ला नमुना हुन् । नेपालमा धर्म र संस्कृतिका नाममा कुनै झैझगडा छैन । यो हाम्रो सबैभन्दा ठुलो सम्पत्ति पनि हो । दसैँमा अन्य धर्म मान्नेले पनि बडो आनन्दको अनुभूति गर्न सक्छन् । 

यस वर्ष भने परिस्थिति खल्लो छ । दसैँको रौनक छैन । परम्परा धान्ने बाध्यता जस्तो मात्रै बनेको छ यो दसैँ । गाउँघरमा लिङ्गेपिङ कतै कतै देख्न पाइन्छ तर रोटेपिङको त लगभग चलन नै हराइसकेको छ । नयाँ पुस्तालाई हाम्रा पराम्परागत पिङ संस्कृतिबारे जानकारीसमेत नहुने अवस्था आइसकेको छ । यो वर्ष दसैँको मुखैमा आइपरेको प्राकृतिक विपत्तिले परम्परा धान्नसमेत खासै जाँगर छैन । यही मौकामा उपभोक्तामाथि कालोबजारले सकस थप्ने गरेको छ । सरकारले बजार अनुगमन गर्ने भने पनि सर्वसाधारणले न गुणस्तरीय सामग्री पाउने गरेका छन् न त सुपथ मूल्यमा नै । कृत्रिम अभाव र मूल्यवृद्धिले आमनागरिकको ढाड सेकिने गरेको छ । आफूखुसी व्यापारीले मूल्य बढाएका छन् । तिनलाई कारबाही गर्ने निकाय रमिते छ । नागरिकलाई थोरै भए पनि राहत पुग्ने गरी स्थानीय सरकारले आफ्नो उपस्थिति दरिलो पार्न सके हुने हो । चाडबाडको मौका छोपेर गरिएको मूल्यवृद्धि सधैँका लागि स्थायी हुने गरेको छ । 

दसैँको आगमनसँगै रमाएको नेपाली समाज असोजको ११ गते अचानक विपत्तिमा प¥यो । दसैँ आउन केवल एक साता बाँकी रहँदा बेहोर्नु परेको प्राकृतिक विपत्तिले आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई समेत नराम्रो झट्का लाग्यो । आफन्त गुमाउनु पर्दाको पीडा असह्य छ । केही अझै बेपत्ता छन् । जीवनभर कमाएर बनाएका घरबार नै बगेको छ । उर्वरा जमिन बगरमा परिणत भएका छन् । साथै घरभित्रका चल सम्पत्ति र पशुधनसमेत बगेर गएका छन् । प्रभावितको बिल्लीबाठ नै भएको छ । प्रत्यक्ष रूपमा प्रभावित नहुनेसमेत कुनै न कुनै रूपमा पीडित बन्नु परेको छ । सडक सञ्जाल ध्वस्त भएकाले दसैँमा घरपरिवारसँग भेट्नसमेत असहज भएको छ । नेपाली समाजको अनोठो पक्ष छ, जस्तोसुकै पीडा पनि भुल्न सक्ने खुबी । जे जस्तो अवस्थामा पनि रमाउन सक्ने । सम्भवतः यसपालिको दसैँ पनि यसै गरी बित्ला÷बितोस् । राजधानीबाट सकसपूर्ण यात्रा गर्दै लाखौँ मानिस मातृभूमितिर लागेका छन् । उनीहरू पीडा भुलाउनकै लागि कष्ट सहेर घरपरिवार भेट्न आतुर देखिन्छन् । 

बाढीपहिरोले जमिन अझै थिलथिलो बनाएको छ । घाम लाग्न थालेपछि फेरि सुक्खा पहिरोको जोखिम पनि बढ्ने गर्छ । बिग्रिएको सडकमा धेरै यात्रु खाँदेर गन्तव्यतर्फ लागेका सवारीसाधन अर्काे समस्यामा नपरून् भनेर सम्बद्ध निकाय चनाखो हुनु पर्छ । विज्ञहरूले दिएको सूचना वा जानकारीलाई अक्षरशः पालना गर्नुपर्ने हुन्छ । उदाहरणका लागि भर्खरै भएको विनाश हामीले अटेरी गर्दा थपिएको हो । मौसमविद्ले ठुलो वर्षा हुने र केही दिन रात्रिकालीन बस नचलाउन भनेकै थिए । जबरजस्ती गर्दा झ्याप्लेखोलामा त्यत्रो क्षति बेहोर्नु प¥यो । त्यसैले अब पनि विज्ञको सल्लाह र सुझाव मानियो भने कम क्षति पुग्न सक्छ अन्यथा अर्काे विपत्ति नआउला भन्न सकिन्न । कदाचित् क्षति भयो भने त्यसको प्रत्यक्ष मार त पीडितलाई नै पर्ने हो । त्यसैले सबैभन्दा चनाखो स्वयम् नागरिक नै बन्नु जरुरी छ । 

विगत एक दशकयता नेपालमा चाडपर्वको खासै रौनकता छैन । २०७२ सालको महाभूकम्पले नेपाली समाजलाई त्राहीमाम बनायो । त्यसपछिका केही वर्ष कोरोना कहरले सबैको सातो लियो, यसपालि बाढीपहिरोले । यो स्थिति हाम्रा कारणले मात्रै नहोला । कतिपय अवस्थामा हाम्रो सचेतना र सतर्कताले पनि जोगिन सकिने हुन्थ्यो । सरकारले पनि यो अवस्थामा सक्दो प्रयास गर्नुपर्ने हुन्छ । राज्यले आफ्नो धर्म निर्वाह गरिरहेकै छ । 

अहिलेको सरकार एउटा निश्चित उद्देश्य प्राप्तिका लागि गठन भएको हो । राजनीतिक स्थिरता र सुशासनका लागि भन्दै गठन भएको प्रतिनिधि सभाका ठुला दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको सरकार छ । यो सरकारको कार्यादेश केवल सत्ता सञ्चालन गर्नु मात्र होइन । सातबुँदे सहमतिका साथ सरकार बनेको हो । त्यसको पहिलो उद्देश्य भनेकै राजनीतिक स्थिरता हो । नागरिकप्रतिको उत्तरदायित्व त प्रमुख उद्देश्य हुने नै भयो । संसद्मा तेस्रो र चौथो हैसियतमा रहेका राजनीतिक दलको सबैलाई फनफनी घुमाउने गलत प्रवृत्ति र संस्कार सच्याउनका लागि नै नयाँ गठबन्धन बनाउनु परेको हो । त्यो उद्देश्य पूरा गर्नका लागि क्रियाशील सरकारले अन्य दायित्व पनि सँगसँगै निर्वाह गर्नु पर्छ । 

सरकार एउटा लयमा हिँड्ने प्रयत्न गर्छ तर एउटा न एउटा अवरोध आइलाग्छ । अहिले आइपरेको विपत्ति पनि त्यही अवरोधको एउटा पाटो हो । ध्यान अन्यत्रै मोड्नुपर्ने आकस्मिक घटनाले नियमित प्रक्रियामा पनि अप्ठ्यारो पार्छ नै । सरकारले प्राकृतिक विपत्तिबाट प्रभावितका लागि तात्कालिक र दीर्घकालिक राहतका कार्यक्रम ल्याउनु पर्छ । दसैँको मुखैमा आइपरेको विपत्तिबाट राहत दिन तात्कालिक राहतका कार्यक्रम सञ्चालन गर्नु पर्छ । त्यसका लागि पीडितलाई आर्थिक सहयोग एउटा कार्यक्रम हो । साथै दीर्घकालका लागि गरिखाने बाटोसमेत तयार गर्नु पर्छ । पीडितको आर्थिक पक्ष सबल र मजबुत बनाउन सकेको सहयोग राज्य पक्षले गर्नु पर्छ । अनि मात्रै पीडितप्रति थोरै भए पनि न्याय हुने छ । 

नेपालीले लडेपछि उठ्न सक्छ भन्ने पहिचान बनाएको छ । समस्यासँग जुध्दै तङ्ग्रिने नेपाली समाजको विचित्रको क्षमता छ । यसपालिको दसैँमा पनि त्यही अवस्थाको निरन्तरता नेपालीले दिने नै छन् । नयाँ निर्माणका लागि पनि पुरानो संरचना ध्वस्त हुनै पर्छ । प्रकृतिको नियम पनि यही नै हो । अहिले विपत्तिमा परेको नेपालीले त्यही साहस फेरि पनि देखाउने विश्वास गर्नु पर्छ । जे जस्तो अवस्थामा पनि नआत्तिने नेपाली पहिचानलाई थप उचाइमा पु¥याउन यो वर्षको दसैँ शुभ होस्, मङ्गलमय शुभकामना ।