• ७ मंसिर २०८१, शुक्रबार

सुस्तायो चौपाया व्यापार

blog

तस्बिर : रवीन्द्र उप्रेती गौशालामा बिक्रीका लागि राखिएका राँगाभैँसी ।

बर्दीबास समाचारदाता

बर्दीबास, असोज २५ गते । गत साता आएको बाढीपहिरोको प्रभाव मुलुकको व्यापार व्यवसायमा पनि देखिएको छ । बाटोघाटोमा पुगेको क्षतिले आवागमन असहज र अवरुद्ध हुँदा चौपाया व्यापार सुस्त छ । 

यहाँको गौशाला बजार जिल्लाकै एक मात्र चौपाया हाट हो । यहाँ खरिद गरिएका चौपाया (खसीबोका र राँगाभैँसी) मुख्यतः काठमाडौँलगायत पहाडी जिल्लामा खपत हुन्छन् । चौपायाको स्थानीय उत्पादन र माग पनि यसै बजारले धान्ने गरेको छ । स्थानीय व्यापारीका अनुसार खसीबोका तथा राँगाभैँसी कारोबार हुने मुख्य सिजन दसैँ नै हो तर दसैँ छ दिन बितिसक्दा चौपायाको अपेक्षित कारोबार हुन सकिरहेको छैन । बजार ठेकेदारका अनुसार गत साता पानी पर्नुअघि गौशालामा चौपाया कारोबार प्रतिहाट एक करोड रुपियाँसम्म पुगेको थियो । यसबिच राँगाभैँसीको व्यापार नै ३० देखि ४० लाख रुपियाँसम्मको भएको थियो । 

शिवम राँगाभँैसी खरिद बिक्री केन्द्रका प्रोप्राइटर तथा गौशाला बजारका पुराना राँगाभैँसी व्यापारी सन्तोष झा भन्नुहुन्छ, “सुरुका दिनमा चौपाया व्यापार बढ्ने सङ्केत देखिएको थियो । अकस्मात आएको अविरल वर्षा र बाढीपछि बाहिरका व्यापारी आउन छाडेका छन् । कारोबार ठप्प छ ।” उहाँका अनुसार यसअघि गौशालाबाट प्रतिहाट सय वटाभन्दा बढी राँगाभैँसी बोकेर काठमाडौँका लागि २०÷२२ वटासम्म पिकअप जाने गरेका थिए । अहिले यो क्रम टुटेको छ । वर्षा थामिएको पहिलो बजारमा त यहाँको कारोबार ठप्प नै भयो । गत सोमबारे बजारमा खरिद गरिएका एक पिकअप राँगा मात्र काठमाडौँका लागि गएको छ ।”

गौशाला बजारमा सन्तोष झालगायत एक दर्जनभन्दा बढी चौपाया व्यापारी छन् । उनीहरूका अनुसार प्रकोपपछि त्रिभुवन राजपथ (बाइरोड) मात्र खुलेकाले चौपाया कारोबार जोखिमपूर्ण छ । 

बाइरोडको बाटोमा ढुवानी खर्चसमेत बढी लाग्ने हँुदा फाइदा पनि नहुने भएकाले चौपाया व्यापार सुस्त बनेको हो । व्यापारीका अनुसार चौपाया व्यापारका लागि बिपी राजमार्ग सबैभन्दा सुगम हो । यो मार्ग सञ्चालन हुँदा गौशालाबाट एउटा पिकअपले पाँच वटा राँगा बोक्थे । हिँडेको सात घण्टामा काठमाडौँ पुग्थ्यो । भाडा पनि १४/१५ हजार मात्र लाग्थ्यो । 

बिपी राजमार्ग बन्द भएपछि एक त चालकले बाइरोडको बाटो गाडी लैजानै मान्दैनन् । कसै गरी मानिहाले पनि यो बाटोको भाडा २२ हजार रुपियाँ छ । एउटा पिकअपमा चार वटा राँगाभन्दा बढी बोक्न मान्दैनन् । समय पनि १२ घण्टाभन्दा बढी लाग्ने भएकाले कतिपय राँगा बाटोमै मर्ने जोखिम हुन्छ । 

गौशालका चौपाया व्यापारी झाले प्रश्न गर्नुभयो “मैले बाइरोडको बाटो हुँदै असोज २१ गते अपराह्न २ बजे गौशाला बजारबाट पठाएको चार वटा राँगा १४ घण्टापछि मात्र कालीमाटी पुग्यो । केहीबेर अझै ढिलो भएको भए बाटोमै मर्न सक्थ्यो । यस्तो अवस्थामा कसरी व्यापार गर्ने ? बाटोका कारण कारोबार सुस्त बन्दै गएपछि गौशाला बजारका ठेकेदार जैसी ठाकुरले पनि चिन्ता व्यक्त गर्नुभयो । आव २०८०/८१ का लागि ठाकुरले डाक बढाबढमा एक करोड ८१ लख रुपियाँमा बजार ठेक्का लिनुभएको छ । गौशालामा सोमबार र बिहीबार गरी साताको दुई दिन हाट लाग्छ । यस हिसाबले प्रतिबजार दुई लाख रुपियाँ कर सङ्कलन हुनुपर्ने हो । वर्षापछि बजारले गति लिँदै थियो । बाढीपहिरोले बाटो बन्द भएपछि कर सङ्कलन घटेर प्रतिहाट एक लाख ३०/३५ हजारमा झरेको उहाँले हिसाब देखाउनुभयो ।