• ७ मंसिर २०८१, शुक्रबार

बसाइँ सर्दै क-याङकुरुङ

blog

कैलालीको आकाशमा देखिएका क¥याङकुरुङ सारस ।तस्बिर : हिरुलाल डङ्गौरा

धनगढी समाचारदाता

धनगढी, असोज २५ गते । क-याङकुरुङ सारस नेपाली आकाश हुँदै भारततर्फ बसाइँ सर्न थालेका छन् । करिब छ महिनासम्म भारतको राजस्थान र गुजरातमा अस्थायी बसोबास गर्ने यी चरा कर्णाली कोरिडोर हुँदै त्यता जान थालेका हुन् । सेप्टेम्बर १ देखि १७ सम्म यो प्रजातिको सारस बसाइँ सर्ने खास समय हो । यस वर्ष भने सेप्टेम्बर २५ बाट नेपाली आकाश हुँदै क-याङकुरुङ सारस भारततर्फ गइरहेको चराविद् हिरुलाल डङ्गौराले जानकारी दिनुभयो । 

उहाँका अनुसार कर्णाली कोरिडोर हुँदै लगभग २५ बथान क-याङकुरुङ सारस गइसकेका छन् । त्यस क्रममा कञ्चनपुर, कैलाली र बर्दियाको आकाशमा यी चरा देखिएका हुन् । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आउने क-याङकुरुङ सारस प्रायः अङ्ग्रेजी अक्षर ‘भी’ आकार बनाएर आकाशमा उड्ने गर्छन् । क-याङकुरुङ आवाज निकाल्दै रातिसमेत यो प्रजातिको चरा उडेर भारततर्फ गइरहेको जनाइएको छ । बसाइँ सर्ने क्रममा क-याङकुरुङ सारस आहारा र आरामका लागि कैलाली, बर्दिया, कञ्चनपुरका विभिन्न ठाउँमा केही दिन रोकिनेसमेत गरेका छन् । स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गानाले क¥याङकुरुङ सारस रातिसमेत उडेर भारततर्फ गइरहेको उल्लेख गर्नुभयो । 

कैयौँ माइल उडेर भारततर्फ जाने यो प्रजातिको चरा नेपालमा माथिल्लो मुस्ताङस्थित समर–धौलागिरि हिमालको पश्चिम र डोल्पा गरी दुई वटा रुटबाट आउने गरेको जनाइएको छ । माथिल्लो मुस्ताङ हुँदै आएका क¥याङकुरुङ सारस भेरी नदी कोरिडोर भएर बसाइँ सर्ने गरेको जनाइएको छ । 

त्यस्तै डोल्पा हुँदै आएका क-याङकुरुङ सारस कर्णाली कोरिडोर भएर भारततर्फ जाने गरेको जनाइएको छ । भारत जाने क्रममा क-याङकुरुङ सारसले १३ देखि ४० दिनसम्म चार हजार ८९६ किलोमिटर उडान भर्ने गरेको डङ्गौराले जानकारी दिनुभयो । त्यस्तै जाडो मौसम सकिन थालेपछि पाकिस्तान, किर्गिस्तान, अफगानिस्तानलगायतका देश हुँदै यो चरा रसिया, मङ्गोलिया, उत्तरी चीनतर्फ पुनः फर्कने गरेको बताइन्छ । डङ्गौराले भन्नुभयो, “फर्कने क्रममा क-याङकुरुङ सारसको भारतदेखि रसिया, मङ्गोलियासम्मको यात्रा ६५ देखि ६६ दिनसम्मको हुने गर्छ । यस क्रममा यो चराले छ हजार ३४ किलोमिटरसम्म उडान भर्ने गर्छन् ।”

भारत जाने क्रममा तुलनात्मक रूपमा कम उडान भर्ने क-याङकुरुङ सारस फर्कने बेला भने त्योभन्दा बढी दुरीमा उड्ने गरेको बताइएको छ । एक बथानमा हजारौँको सङ्ख्यामा उड्ने क-याङकुरुङ सारसले उडानका क्रममा पालैपालो बथानको नेतृत्व गर्ने गरेको बताइन्छ ।