• ८ मंसिर २०८१, शनिबार

डहरेमा ५० किलोको घण्टी

blog

आरुचौरमा रहेको बालसिद्ध मोक्षद्वारी आश्रम डहरे देउराली मन्दिरमा राखिएको ५० केजीको घण्टी । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, असोज २४ गते । अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा रहेको बालसिद्ध मोक्षद्वारी आश्रम डहरे देउराली मन्दिरमा ५० केजीको घण्टी राखिएको छ ।

साबिक आरुचौर गाविस–४ बाट बसाइसराई गरी चितवन, नवलपुर, धनगढी, बुटवल, पोखरा गएका कारिम्ले परिवारबाट डहरे देउराली मन्दिरमा घण्टी झुण्ड्याएका हुन् । 

जिल्लाकै पवित्र धार्मिकस्थल यस मन्दिरमा पुगेपछि मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास लिइँदै आएको छ । करिब दुई लाखभन्दा बढी मूल्य बराबरको घण्टी डहरे देउरालीको अग्लो चुचुरोमा झुन्ड्याइएको सहभागीमध्येका डिल्लीराम सिग्देलले बताउनुभयो । 

दर्शन गर्न आउने धार्मिक व्यक्तिहरूले मन्दिरमा पूजा अर्चना पश्चात् घण्टी बजाउन सहज हुने गरी बाटोमा झुन्ड्याइएको छ । डहरे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक श्रेष्ठलाई घण्टीसहित मन्दिरको भौतिक निर्माण सहयोग गर्नु भएकोमा उक्त परिवारलाई धन्यवाद दिनुभयो । 

धार्मिक र पर्यटकीय रूपमा पहिचान बोकेको डहरे देउराली स्याङ्जा र पर्वत जिल्लाको सिमानामा रहेको छ । समुद्र सतहदेखि दुई हजार २६६ मिटर उचाइमा रहेको डहरे देउराली प्राचीन धर्मग्रन्थमा पनि उल्लेख भएको तीर्थस्थल हो ।  

अठार पुराणमध्येको स्कन्द पुराणमा निलगिरी पर्वत, सिद्धेश्वर महादेव र कालीशक्ति डहरेको नाम उल्लेख भएको छ । परापूर्वकालमा यहाँ डगरा नाम गरेका ऋषिले तपस्या गर्नुभएको र डगरा ऋषिले तपस्या गरेको स्थान भएकाले अपभ्रंश भई डहरे हुन गएको स्थानीयको भनाइ छ । विसं १९९७ मा तत्कालीन पर्वतको लुङ्खुका षडानन्द अधिकारी (बालब्रह्मचारी) पहराभित्र बसेर तपस्या गर्नुभएको थियो । 

विशेषगरी नवदुर्गा, शिवरात्रि, बाला चतुर्दशीजस्ता चाडपर्वसहित हरेक मङ्गलबार र शनिबारका दिन यहाँ ठुलो सङ्ख्यामा दर्शनार्थी आउने गर्दछन् । अग्लो स्थानमा अवस्थित भएकाले यहाँबाट स्याङ्जाका अधिकांश भागसहित पर्यटन राजधानी पोखरा र आसपासका कुस्मा, बागलुङलगायत जिल्लाका बजार, हिमशृङ्खलाहरू, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य नाङ्गो आँखाले देख्न सकिन्छ ।