लीलाधर वली
घोराही, असोज २४ गते । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले अनावश्यक चेकजाँचको झन्झटका कारण बाह्य पर्यटकहरु लुम्बिनी भित्रिन नसकेको बताउनुभएको छ ।
पर्यटन क्षेत्रको विकासका लागि पर्यटनमैत्री वातावरणको विकास गर्नुपर्ने बताउनुभएको हो । घोराहीमा रहेको धार्मिक पर्यटकीयस्थल सिद्धरत्ननाथ मठमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले पर्यटकलाई सहज रूपमा प्रवेश गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको हो ।
लुम्बिनी प्रदेशमा विशेष गरेर बाह्य पर्यटक भारतबाट बढी आउने गरेको भन्दै मन्त्री न्यौपानेले चेकजाँचका नाममा सास्ती दिन नहुने बताउनुभयो । धार्मिक विकाससँगै पर्यटकलाई आकर्षण गर्न सहज वातावरण, सहज र मिठो भाषा र व्यवहार आवश्यक रहेको भन्दै मन्त्री न्यौपानेले भन्नुभयो, ‘एक पटक प्रदेशमा आएका भारतीय पर्यटक अर्को पटक फर्केर आउन नसक्ने स्थिति छ ।’
प्रहरीले चेकजाँचका नाममा पर्यटकलाई सास्ती दिने गरेको गुनासो बढी रहेको छ । यसमा सुधार गर्न पर्छ उहाँले भन्नुभयो । पर्यटकको आगमन बढाउन पर्यटकलाई सहज वातावरण निर्माण गर्नु पर्नेमा झन् सास्ती दिने काम भएर राम्रो नहुने बताउनुभयो ।
भारतबाट नेपाल प्रवेश गरिसकेपछि एक ठाउँमा मात्र चेकजाँच गरे पुग्ने भएकाले प्रदेश सरकारले एक पटक चेकजाँच गरिने र उनीहरूलाई जाँच गरिएको पास उपलब्ध गराउने व्यवस्था गर्न थालेको बताउनुभयो । भारतबाट गाडी लिएर लुम्बिनी प्रदेशमा घुम्न आउने पर्यटकलाई एक ठाउँमा मात्र चेकजाँच गर्ने व्यवस्थाको तयारी भइरहेको भन्दै मन्त्री न्यौपानेले भन्नुभयो, ‘ठाउँ–ठाउँमा चेकजाँच गरेर पर्यटकलाई सास्ती दिने काम गर्नुहुन्न । त्यस्तो ठाउँ अब बन्द गरिनुपर्छ ।’
प्रदेशको समृद्धिको बलियो आधार भनेकै पर्यटकीय क्षेत्र रहेको भन्दै उहाँले पर्यटकलाई सहज रूपमा आउने वातावरण निर्माण नहुँदा प्रदेशको आर्थिक समृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताउनुभयो ।