काठमाडौँ, असोज २२ गते। गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनः निर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ।
नेपालस्थित कोरियाली दूतावासले त्यहाँको सरकारले आज यस्तो निर्णय गरेको जनाएको हो। यस सहयोगबाट विपद्पछिको पुनः निर्माण तथा पुनः स्थापना र ती क्षेत्रका बासिन्दाहरूलाई छिट्टै आफ्नो नियमित दैनिक जीवनमा फर्कन मद्दत गर्ने अपेक्षा कोरिया सरकारले गरेको दूतावासले जनाएको छ।
यसैबिच कोरियाका विदेशमन्त्री चो ताए–युल्कनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई सन्देश पठाउँदै नेपालमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको जनाइएको छ।
कोरियाली सरकारले विकास तथा सहयोगमा नेपाललाई प्राथमिकतामा राखेको र यसले दुई देशबिचको सहकार्य र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरेको छ। नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको छ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                