कुनै घटना वा परिस्थितिको भय वा डरले निकै आत्तिने, छटपटाउने अवस्थालाई फोबिया भनिन्छ । ग्रिक शब्द फोबोस भन्नाले डर भन्ने बुझिन्छ । फोबियाको विभिन्न परिभाषा भए पनि निरन्तरजसो डरले देखाउने प्रतिक्रिया नै फोबिया हो ।
आफूमा क्यान्सर विकसित होला कि भन्ने लामो समयदेखिको डर पनि एक खालको फोबिया नै हो । यसलाई कार्सिनोफोबिया पनि भन्ने गरिन्छ । अधिकतर हुने फोबिया खासमा चिन्तासँग सम्बन्धित हुन्छ । आफ्नो स्वास्थ्यप्रति निकै सचेत हुने व्यक्तिलाई चिकित्सा भाषामा हाइपोकोन्ड्रिएक भनिन्छ । आफ्नो स्वास्थ्यप्रति एक हदसम्म सजग हुनु राम्रो कुरा हो तर कुनै स्वास्थ्य अवस्था वा समस्याप्रतिको बढ्ता सजगताले नयाँ स्वास्थ्य समस्या (बढीजसो मनोरोग) निम्तिन बेर लाग्दैन ।
कुनै समय क्यान्सर एक खतरनाक रोगका रूपमा लिइन्थ्यो । त्यसो भएर क्यान्सर रोगीका आफन्तमा फोबिया विकसित हुनु स्वाभाविक नै थियो । नेपालको चिकित्सा क्षेत्रमा पनि उल्लेखनीय प्रगति भइसकेको छ । यस्तो परिस्थितिमा डोरीलाई सर्प मानेर डर मानिराख्नुलाई फोबियाकै रूपमा लिन सकिन्छ । अरू त अरू शिक्षित एवं नयाँ पुस्ता पनि चाहिनेभन्दा बढी नै सजग हुने, त्यसमाथि क्यान्सर विकसित होला कि भन्ने डर मान्ने अथवा डराउने परिस्थितिलाई क्यान्सर फोबिया मान्न सकिन्छ । सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मीले डराउनुपर्ने अवस्था छैन भन्दा पनि फोबियाबाट प्रभावित व्यक्ति निकै डर मानिरहेको हुन्छ ।
यस्तोमा सामान्य रोग लाग्दा पनि क्यान्सर भयो कि भनेर तनावले व्यक्ति डिप्रेसनको शिकार हुन बेर लाग्दैन । यसरी कार्सिनोफोबियाले व्यक्ति विशेषको दैनिकीलाई नै नकारात्मक असर पुग्ने गरी डराइरहेको हुन्छ । समग्रमा क्यान्सर अस्पताल धाउने करिब २० प्रतिशत मानिस फोबियाकै हुन्छन् । क्यान्सर निको नै नहुने रोग हो जस्तो समाजमा व्याप्त नकारात्मक सोचाइ हामीले त्याग्नु पर्छ । कतिपय अवस्थामा क्यान्सर पूर्णतः निको हुन्छ । कतिपय क्यान्सर सुरुको अवस्थामा पत्ता लागेमा शल्यक्रियाबाट निको पार्न सकिन्छ ।
धूमपान गर्नेमा निरन्तर खोकी, खकारमा रगत देखापर्ने, वाकवाकी लाग्ने, बिनाकारण रिङ्गटा लाग्ने, महिनावारी सुकिसकेकी महिलामा फेरि रगत देखा परेमा, रगत मिश्रित गनाउने योनिश्राव बगेमा, पिसाबमा रगत देखा परेमा, दिसामा रगत देखा परेमा, घाँटी वा काखीमा नदुख्ने खालको गिर्खा उत्पन्न हुने, स्तनबाट रक्त मिश्रित श्राव बग्ने क्यान्सरको लक्षण हुन सक्छ ।
तर आफ्नो कुनै नराम्रो बानी नभए पनि आफूले गल्ती गरेको महसुस गरेमा पनि फोबिया बढ्ने हुन्छ । जस्तै असुरक्षित यौनसम्पर्क राखेपछि आफूमा एचआइभी लाग्यो कि भनेर घरीघरी रगत जाँच गराइराख्नु पनि फोबिया नै हो । शङ्काको स्थितिमा एक पटक जाँच गराउनु ठिकै हो तर हुँदै नभएको कुरा वा समस्यालाई लिएर चिन्ता पालिराख्नुचाहिँ राम्रो होइन । यही कुरा क्यान्सरको हकमा पनि लागू हुन्छ ।
क्यान्सर विकसित हुनु, नहुनुमा उमेरको पनि उत्तिकै महत्व हुन्छ । नेपालमै पनि प्रायः २० देखि ४० वर्ष उमेरका मानिसलाई कुनै पनि क्यान्सर त्यति सारो हुँदैन तर क्यान्सर फोबिया भएकाहरू जुनससुकै उमेरका भए पनि अस्पताल धाइरहेकै हुन्छन् । एक खालको क्यान्सर छैन भन्ने निक्र्योल भएपछि अर्कै क्यान्सर भयो कि भनेर जाँच गराउन उनीहरू आउँछन् ।
जोखिम समूह
क्यान्सरबाट बाँचेकामा पनि फेरि क्यान्सर दोहोरिएला कि भनेर तिनीहरूमा फोबिया विकसित हुन सक्छ । त्यसैगरी पहिले क्यान्सरको उपचार र निदान प्रक्रियाको समग्रमा अनुभव भएका कारण पनि यस्तो फोबिया देखिने गरेको छ । क्यान्सर निको भएका आधाजसो मानिसमा मध्यमदेखि उच्च डर (फोयिबा) पाइएको छ ।
त्यसैगरी आघात वा भयानक घटनाको निकटतम साक्षी बनेकामा पिटिएसडी (पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर) पछि गएर त्यही घटना सम्झना गरी छटपटाउने, त्रसित हुने हुन्छ । यदि पहिले आफ्नै नजिकका, प्रेमी वा आफन्तजन क्यान्सरबाट प्रभावित हुँदा उपचारमा संलग्न भएका वा क्यान्सर कै कारण आफन्तजन गुमाएकामा पनि फोबिया विकसित हुने गरेको छ । अन्य कसैको मृत्यु पनि क्यान्सरकै कारण भएको समाचारले तिनीहरूमा क्यान्सरप्रति डर ह्वात्तै बढ्छ ।
उपचार
उपचारको हकमा ‘कग्निटिभ बिहेवियरल थेरापी’ (प्रभावित व्यक्तिको सोचाइ वा विचारमै परिवर्तन ल्याउने विधि) भनेर प्रभावितलाई मनोसामाजिक उपचार गरिन्छ । अन्य खालको डर वा फोबियामा पनि यस्तै मनोसामाजिक उपचार गरिन्छ ।
यसमा तिनीहरूको डर, चिन्ताका विविध पक्षबारे सूचना लिएर तिनीहरूमा परिस्थितिसँग जुझ्न सक्ने भावना विकसित गरिन्छ । त्यसैगरी ‘माइन्ड बडी टेक्निक’ ले पनि डर हटाउन र डर फोबियाको व्यवस्थापन गर्न सहयोग गर्दछ ।
‘रिल्याक्सथेरापी’ ले डरबाट राहत, मांसपेशी एवं शारीरिक तनावबाट आराम दिलाउन मद्दत पु¥याउँछ । छिटो छिटो सास फेर्ने सिप, योग, ध्यान, कतिपय नृत्य वा नवीनतम क्रियाकलापबाट पनि फोबियाबाट राहत मिल्छ । विभिन्न अनुसन्धानबाट यी ‘रिल्याक्सथेरापी’ एवं ध्यानयोग विधिले सानोदेखि तात्त्विक परिणाममुखी नतिजा पाइएको छ ।
तिनीहरूमध्ये धेरैजसोलाई कुराकानी वा अन्तर्वार्तापछि कतिपय प्रयोगशाला जाँचको सहायताले निको पार्ने उपचार प्रक्रियामा पनि मद्दत पुग्छ । व्यक्ति विशेष अनुसार उपचारको तौरतरिका फरक फरक हुन सक्छ ।
सारांश
विडम्बना नै भन्नुपर्छ नसर्ने रोगमध्ये क्यान्सर रोगीको ग्राफ बढ्दो छ । दिगो विकास लक्ष्य, २०३० अनुसार इच्छा भएर पनि वा उच्च प्रविधि र मानव संसाधन सम्पन्न सफल एवं विकसित देशमै पनि क्यान्सरको जोखिम घटाउन सकिएको छैन । त्यसो त पछिल्लो समय चिकित्सा विज्ञानमा भएको प्रगतिका कारण क्यान्सर पत्ता लगाउने वा निदान क्षमता राम्रो भएकाले पनि क्यान्सरका मामिला बढेको गलत बुझाइ विकसित छ ।
कतिपय अवस्थामा यसलाई २१ औँ शताब्दीमा मानव मृत्युको मुख्य कारकका रूपमा चित्रण गरिएको छ, जुन बिल्कुलै गलत छ । कतिपय अवस्थामा नामी वा प्रख्यात व्यक्तिको अल्पायुमै मृत्यु वा तिनीहरूमा क्यान्सरको आशङ्का मात्र गरिँदा पनि सञ्चारमाध्यम एवं सामाजिक सञ्जाल तात्ने गरेको छ । यसरी हेर्दा क्यान्सर फोबिया विकसित हुनुमा चिकित्सकको पनि उत्तिकै हात छ । त्यसो भएर चिकित्सकले क्यान्सरबारे प्रभावित व्यक्ति एवं नजिकका आफन्तलाई पहिलोपटक जानकारी कसरी दिने भनेर चिकित्सा क्षेत्रमा ब्रेकिङ ब्याड न्युजको छुट्टै तालिम दिन थालिएको छ ।
लक्षण
कार्सिनोफोयिबा भएकामा दिक्दारी, चिन्ता, डर, छटपटी, ‘प्यानिक एट्याक’, बेचैनी हुने हुन्छ । अधिक डरका कारण सास फेर्न गाह्रो हुने, पसिना आउने, मुटुको चाल बढ्ने, चक्कर लाग्ने, वाकवाकी लाग्ने, गर्मी (जिउ तातेको) महसुस हुने, मासंपेशी अररिने, जिउ अररो हुने पनि देखिन्छ ।
कतिपय अवस्थामा यी लक्षण यति विघ्न र विषम अवस्थामा पुग्छ कि सामान्य जीवनयापनमा समेत दखल पुग्न थाल्छ । तिनीहरू अवसाद (डिप्रेसन) बाट ग्रसित हुन्छन् । प्रभावित व्यक्ति आफ्नो स्वास्थ्यप्रति एकलकाटे हुन थाल्छ । पटकपटक जँचाइरहन मात्र लागिपरेको हुन्छ । यसबाट आफ्नो नियमित जिम्मेवारी निर्वाह गर्न पनि उसलाई गाह्रो हुन थाल्छ । तिनीहरूले आफ्नो भविष्य अन्योल र अनिश्चय हुन थालेको अनुभूति गर्छन् र आफ्नो भावी योजना बनाउन सक्दैनन् ।
समग्रमा उनीहरूको जीवनको गुणस्तरमा नै ह्रास आउँछ । तिनीहरूमा यसैकारण मृत्यु होला कि भन्ने भयानक डर विकसित हुन्छ ।
विस्तारै तिनीहरूलाई एक्लोपनाले गाँज्ने, सामाजिक सम्बन्धबाट टाढा बस्न रुचाउने, गम्भीर डर र तनावका कारण निद्रामा समस्या आउने, ध्यान केन्द्रित गर्न तथा चिन्तन मनन गर्न कठिनाइ हुने हुन्छ तर क्यान्सर फोबिया हाइपोकोन्ड्रिएक डिसअर्डर एवं डिल्युजनल सिन्ड्रोमसँग झुक्किन सक्छ । उपचारकै लागि भए पनि यसलाई छुट्याउन आवश्यक छ ।