• २० असोज २०८१, आइतबार

नेयोङ्हाङ स्मृति फुटबल कात्तिक ४ गतेदेखि

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा स्वर्गीय चन्द्रबहादुर नेयोङ्हाङ स्मृति पुरुष नकआउट फुटबल प्रतियोगिता आउँदो कात्तिक ४ गतेदेखि हुनेभएको छ । आयोजक कर्णसिंह सोनाम फुटबल क्लबको आयोजनामा प्रतियोगिता हुने भएको हो ।

कर्णसिंह सोनाम फुटबल क्लबअन्तर्गत प्रतियोगिता सञ्चालन समितिले सदरमुकाम फुङ्लिङमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । स्व. चन्द्रबहादुर नेयोङ्हाङ स्मृति पुरुष फुटबल प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्न लागिएको समितिका सचिव दिपेश सुनामले जानकारी दिनुभयो ।

वडादसैँ तथा दीपावली (तिहार) को अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगिता क्लबस्तरीय हुने पनि समितिका सचिव सुनामले बताउनुभयो । उहाँकाअनुसार प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका आधिकारिक दर्ता भएका क्लबले सहभागिता जनाउन पाउने छन् । 

प्रतियोगितामा समावेस हुनलाई प्रवेश शुल्क तीन हजार ५०० रुपियाँ बुझाउनुपर्ने छ । अधिकतम् १६ वटासम्म टोलीलाई सहभागी गराइने पनि सुनामले जानकारी दिनुभयो । यता प्रतियोगिताको बिजेताले ८१ हजार १११ रुपियाँ र उपविजेताले ४१ हजार १११ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छन् । 

यस वर्षदेखि प्रतियोगितालाई थप स्तरीय बनाउँदै लैजाने उद्देश्यले पुरस्कार राशि वृद्धि गरिएको पनि समितिका अध्यक्ष हाङ्गो लिम्बूले बताउनुभयो । पाथीभरा बहुमुखी क्याम्पसको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता कात्तिक ९ गते सम्पन्न हुनेछ ।