• १९ असोज २०८१, शनिबार

खानेतेलको आपूर्ति व्यवस्था सहज गर्न मन्त्रीको आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १९ गते । चाडपर्वको मौकामा बजारमा खाद्यान्न, खानेतेललगायतको चर्को मूल्यवृद्धि भइरहेकोमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चासो लिनुभएको छ । उहाँले उद्योगीलाई मूल्यवृद्धि नगर्न आग्रह गर्नुभएको छ । शुक्रबार नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घका पदाधिकारीसँग मन्त्रालयमा भेटघाट गर्नुहुँदै मन्त्री भण्डारीले उपभोक्तालाई मर्का नपर्ने गरी बजारमा खानेतेलको आपूर्तिको व्यवस्था सहज गर्न आग्रह गर्नुभयो । मन्त्री भण्डारीले विपत् र चाडपर्वका बेला मूल्यवृद्धि गर्न नहुने भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलसहित बैठक बसेर उपभोक्तालाई मर्का नपर्ने गरेर समाधान निकाल्न निर्देशन पनि दिनुभयो । 

सङ्घका अध्यक्ष विकास दुगडसहितको टोलीले मन्त्री भण्डारीलाई मन्त्रालयमा खानेतेलको मूल्य र आपूर्ति अवस्थाबारे जानकारी गराएको छ । अध्यक्ष दुगडले अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तन र जलवायु परिवर्तनका कारण मूल्यवृद्धिको अवस्था आएको जानकारी गराउनुभएको थियो । 

सङ्घका अध्यक्ष दुगड, पूर्वअध्यक्ष सन्दीप अग्रवाललगायत खानेतेल उत्पादक उद्योगीले वाणिज्य मन्त्रालय अन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिधै खरिद गरेर बिक्री गर्दा उपभोक्ताले बजार मूल्यभन्दा सस्तोमा खानेतेल खरिद गर्न पाउने उपाय पनि सुझाउनुभयो ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अध्यक्ष रमेश आचार्यले उद्योगबाट सिधै तेल खरिद गरेर उपभोक्ताले सस्तोमा पाउने भएकाले खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी गराउनुभयो ।

यसैबिच सोही क्रममा नेपाल चामल तेल उत्पादक सङ्घका प्रतिनिधि विभोर अग्रवालले विगतको तुलनामा चामलको मूल्य कम रहेको र चाडपर्वका बेला चामल तथा दालको मूल्यवृद्धि नहुने जानकारी दिनुभयो । तिहारपछि भारतले निर्यात शुल्क १० प्रतिशत वृद्धि गर्न लागेकाले वाणिज्य मन्त्रालयले पहल गरे त्यो हट्ने र मूल्यवृद्धि नहुने बताउनुभयो । 

विपतपीडितलाई राहत

नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घ र नेपाल चामल तेल उत्पादक सङ्घले बाढीपीडितलाई खाद्यान्न उपलब्ध गराएको छ । उद्योगमन्त्री भण्डारीको आग्रहमा दुवै सङ्घले ललितपुरका विभिन्न ठाउँका सर्वसाधारणका लागि राहतका लागि खाद्यान्न उपलब्ध गराएको हो ।  

नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घले चामल ३६० बोरा, चिउरा एक सय बोरा, मसुर दाल ४० बोरा र तोरी तेल २० पेटी अर्थात् दुई लिटर उपलब्ध गराएको छ । यस्तै नेपाल चामल तेल उत्पादक सङ्घले चामल १४० बोरा र मसुर दाल ४० बोरा उपलब्ध गराएको छ ।