• २३ चैत २०८१, शनिबार

एउटा चित्र अनेकौँ भाव

blog

चित्र एक निर्जीव रचना हो । यो आफैँभित्र नयाँ जीवन, नवीन भावना र नौलो अर्थ बोकेर उभिन्छ । त्यो शब्दका माध्यमले मात्र व्यक्त गर्न कठिन हुन्छ । चित्र अनेकौँ रङको संयोजन वा आकृतिको सङ्गम होइन । यो मानवीय संवेदनाको प्रतीक पनि हो । कुनै चित्रले प्रकृतिको भव्यता उतार्न सक्छ । कुनैले मानवीय सङ्घर्षको कथा भन्न सक्छ । कुनैले प्रेमको सौन्दर्यलाई अमर बनाइदिन्छ । एउटा चित्रले सम्प्रेषण गर्ने भाव–सौन्दर्यहरू अनेकौँ हुन्छन् । चित्र हेर्ने हरेक आँखाले यसलाई फरक दृष्टिले व्याख्या गर्छ । फरक भावनाले महसुस गर्छ । यसैले त एउटै चित्रले सौन्दर्य र अर्थका कडीहरू बुनिरहेको हुन्छ ।

प्रत्येक चित्रको सौन्दर्य फरक फरक रूपमा प्रस्फुटित हुन्छ । पहाडी तरेली, हिमाली लस्कर, हरियो वनस्पतिले ढाकेका डाँडा, तल बगिरहेको नदी । कतिपयका लागि यो चित्र प्रकृतिको असीम सौन्दर्यको काव्य हो तर अर्को दृष्टिकोणले यो चित्रमा प्रकृतिले दिने शीतलता र शान्तिलाई महसुस गर्छ । त्यही चित्र हेर्दा कुनै व्यक्तिले आफ्नो यात्राको सम्झना निकाल्छ भने कुनै कलाकारले आफ्नो भावनाको क्यानभास चित्र देख्छ । कसैले सपनाको स्वप्निल सौन्दर्यको संसार भन्ठान्छ ।

भाव–सौन्दर्यको यस्तो बहुआयामिक पक्ष चित्रकला मात्र नभएर मानव मनको गहिराइको उपज हो । चित्रलाई सतही रूपमै हेरिने वा बुझिने प्रक्रियामा यसको गाम्भीर्य छुट्न सक्छ । कुनै चित्रमा आकृतिहरू मौन भए पनि उनीहरूले बोलिरहेका हुन्छन् । एउटा एकल महिला चित्रमा उभिएकी छन्, उनको आँखा आकाशतर्फ उन्मुख छ । कसैले यसलाई एक्लोपनको कथा मान्न सक्छन् । कसैले यसलाई सपनाको प्रतीक ठान्छन् । यसैले चित्र एक ऐना जस्तै हो, जहाँ हरेक व्यक्तिले आफ्नै भावना र अनुभवको छाया देख्न सक्छन् । साहित्य र चित्रकलाबिचको सम्बन्ध पनि यस्तै छ । एक साहित्यकार चित्रको वर्णन गर्दा शब्दहरूमा जीवन थप्छ, भावनाको गहिराइ दिन्छ । चित्रले साहित्यलाई प्रेरणा दिन्छ र साहित्यले चित्रलाई व्याख्या गर्ने आधार प्रदान गर्छ । वास्तवमा एउटा चित्रले व्याख्यातीत विवरणहरूको फेहरिस्त पस्किदिन्छ । त्यसमा प्रेम प्रकम्पनका प्रणय निवेदन हुन्छ । मिलन र बिछोडका छवि हुन्छ । आस्था, आराधना, विश्वास र संवेदनाका तरङ्गहरू स्पन्दित भइरहेका हुन्छन् । चित्र हेर्नु भनेको रङहरूको क्यानभास पार गरेर त्योभन्दा अझ पर जानु हो । रङहरूको सौन्दर्यमा आँखालाई चुर्लुम्म डुबाइदिनु पनि हो । यो त्यही मूक कलाको सौन्दर्य हो, जसले मानिसको हृदयसँग संवाद गर्छ । एउटा चित्रभित्रका अनेकौँ भाव र सौन्दर्यको व्याख्या अन्तहीन हुन्छ । हरेक आँखाले यसलाई आफ्नो विशेष दृष्टिकोणले देख्छ । अनि हरेक मनले आफ्नै कथा बुनिरहन्छ । यसमा बुझ्ने क्षमताले पनि बुझाइलाई परिभाषित गर्छ ।

अतः एउटा चित्र कलाकारको सिर्जना मात्र होइन; यो संसारको असङ्ख्य दृष्टिकोण, भावना र अनुभवको ‘फ्युजन’ पनि हो । एउटै चित्रले सबैका लागि फरक फरक अर्थ राख्छ । यसैले एउटा चित्रको सौन्दर्य यसको रचना मात्र होइन । यो सौन्दर्य त्यसमा भरिने भावनाको विविधताको एकरूप पनि हो ।

चित्र एउटा दृश्य–कला हो; जहाँ रङ, रेखा र बनावटले कुनै कथा भन्छन्  तर यो कथा आँखाले देख्नेमा सीमित हुँदैन । यो हृदयले महसुस गर्ने, कल्पनाले बुनिने र चेतनाले व्याख्या गर्ने अनेकौँ तहमा फैलिन्छ । एउटा चित्र सजीव बन्छ; जब हामी त्यसमा जीवनका भावना, समयका छाया र अस्तित्वका जटिलतालाई खोज्न थाल्छौँ । खोजेपछि भेट्छौँ र रमाउँछौँ । त्यसमा हामीले आफैँलाई पाउँदा हामी अत्यन्त हर्षित हुन्छौँ ।

एउटा साधारण दृश्यलाई हेरौँ– सूर्योदयको क्षणमा प्रकृतिको चित्र । यो हिमाल, पहाड, बादल र सूर्यको संयोजन होइन । त्यहाँ पहिलो किरणले पहाडको शिखरमा चुम्दा जागृत हुने ऊर्जाका सङ्केतहरू छन् । यो प्रकृतिको विशालता र मानव चेतनाको तीव्र उडानले जन्माएको सानो तर बलियो आत्माको मिलन हो । हिमालको शुद्धताको प्रतीक हो । तर यसमा समाहित गाढा छायाहरूले जीवनको सङ्घर्ष र समर्पणको कथा सुनाउँछन् ।

चित्रभित्रको रङका बहुआयामिक पक्षहरूले प्रत्येक कलापारखीका लागि फरक अर्थ दिन्छ । रातो रङ सूर्यका किरणहरूले आकाशमा छरिएको प्रकाश हो ? कि यो सृष्टिको ऊर्जा, साहस र जीवनको तरल धाराको प्रतिनिधित्व हो ? हरियो वनस्पति पर्यावरणको चिह्न हो कि यो मानव आत्माको नवीकरण र सन्तुलनको प्रतीक ? हरेक रङमा कुनै न कुनै कथा जीवित हुन्छ । यसलाई बुझ्न हामीलाई हृदयका आँखाहरू चाहिन्छ । कलाप्रेमी मनहरूको खाँचो पर्छ । कलाकारले रङको गहिरो अध्ययन गरेर नै रङलाई क्यानभासमा सजिलैसँग नचाउँछन् । त्यही नृत्यमग्न रङको सौन्दर्यले हामी आह्लादित बन्छौँ ।

यसरी चित्रको सौन्दर्यले हाम्रो भित्री भावनालाई जगाउँछ । झरनाको चित्र हेर्दा मात्र हाम्रो मानसमा अनन्तताको अनुभूति हुन्छ । त्यो पानीको वेग समयको प्रवाहको प्रतीक हुन्छ । झरनाबाट खस्ने प्रत्येक थोपा जीवनका ती अनेकौँ अनुभवको प्रतिनिधित्व हो; जुन सँगै ताजा र स्थायी छन् ।

तथापि चित्रको सौन्दर्य रङ र आकारमै सीमित छैन, हुँदैन । यसको मौनता त्यसको गहिराइ हो । एउटा सामान्य चित्रले शब्दहरूबिना नै हजारौँ कुरा भन्न सक्छ । सन्देश प्रस्ट छ, शब्दको आवश्यकता छैन । बुझ्नु ठुलो कुरा हुन्छ । कलामा डुब्नु झन् ठुलो कुरा हुन्छ ।  यस्तो विराट् सिर्जनाका महान् सिर्जनाकर्मीहरूलाई हामीले कति सम्मान दिन सक्यौँ ? तिनका योगदानको कदर कति ग¥यौँ ? यो गम्भीर प्रश्न भए पनि यस्ता प्रश्न विगतदेखि नै गौण बनेर रहेका छन् ।

एउटा चित्रको सौन्दर्य हेराइको कुरा मात्र होइन; त्यो महसुस गर्ने र आत्मसात् गर्ने कुरा पनि हो । हामीले त्यसलाई आँखाले होइन, हृदय र मनले हेर्नु पर्छ । चित्र एउटा क्यानभास हो तर त्यसमा जीवनको सम्पूर्ण दुःख र सुखका तरङ्गहरू तैरिइरहेका हुन्छन् । कविताको नदी बगिरहेको हुन्छ । काव्य महाकाव्यका महान् अनुभूतिहरू, विचारका शृङ्खलाहरू लिपिबद्ध भएका हुन्छन् । त्यसै गरी विश्व ब्रह्माण्डकै रङमय कलात्मक व्याख्या, विवेचना एउटा चित्रमा अभिव्यक्त गरिएको हुन्छ ।

यही नै हो, एउटा चित्रका अनेकौँ सौन्दर्य विम्बहरूको कथा । हरेक व्यक्ति आफैँले यसका विम्बहरूमा आफ्नो संसार निर्माण गर्छ । यो सिर्जनाको अनन्त यात्रा हो ।

चित्रमा सौन्दर्य विम्बहरू विभिन्न दृष्टिकोण र तŒवहरूको माध्यमबाट प्रकट हुन्छन् । चित्रकलामा पाइने प्रमुख सौन्दर्य–विम्बहरूको अध्ययनले कलामा थप चासो बढाउँछ । कला हेर्ने उत्सुकता बढ्नुका साथै कलाप्रेमी मानसिकताको पनि विकास गर्छ ।

कलाकृतिमा रङको सौन्दर्य पक्ष सबैभन्दा महŒवपूर्ण कुरा हो । रङहरूको संयोजन, तीव्रता र प्रतिच्छायाले चित्रलाई जीवन्त बनाउँछ । उज्यालो र गाढा रङहरूको सन्तुलनले भावना र अर्थको अभिव्यक्तिलाई गम्भीर रूपमा व्यक्त गर्छ ।

त्यसै गरी कलामा रेखाहरूको प्रवाहको भूमिका पनि उत्तिकै सशक्त हुनु आवश्यक हुन्छ । नरम रेखाहरूले कोमलता, गतिशील रेखाहरूले गति र तिखा रेखाहरूले तीव्रता प्रकट गर्छन् । रेखाहरूको अनुपातले चित्रलाई सामञ्जस्यपूर्ण बनाउन मद्दत गर्छ ।

कलामा रूप र आकारको सन्तुलित संयोजन पनि अर्काे आवश्यक तŒव हो । वस्तुहरूको संरचना र रूपले चित्रको आकर्षण बढाउँछ । क्यानभास–चित्रमा गोलाइ, कोण, रेखा आदिका विविध तूलिकाघातहरूले लयात्मक गति, कलात्मक कोमलता, स्थिरता, शक्तिको बोध गराउँछ ।

प्रकाश र छायाको खेलले कलालाई रहस्यमय सौन्दर्यको आयाममा रूपान्तरित गर्छ; जहाँ हाम्रा आँखाहरू रमाएर अनौठा रङ र रूपका दृश्यमा लट्ठ पर्छन् । वास्तवमा प्रकाशको किरण र छायाले चित्रमा गहिराइ र रहस्य ल्याउँछ । प्रकाशले भावनाको उजागर गर्छ भने छायाले गम्भीर भाव–तरङ्गको परिचय पेस गर्छ ।

कलामा स्पष्ट क्षेत्रहरू पनि हुन्छन् । तिनले कलाको भाव पक्षलाई स्पष्ट पार्दै मुख्य विषयलाई जोड दिन्छ । त्यसै गरी अर्को पक्ष धूमिल पृष्ठभूमि हुन्छ । त्यसले कलामा निखारता र गहिराइलाई दर्साउन मद्दत गर्छ ।

कलामा वस्तुहरूको अन्तरसम्बन्ध अर्को महŒवपूर्ण कुरा हो । यसले वस्तुहरूका बिचको दूरी र सम्बन्धले चित्रको कथा भन्न मद्दत गर्छ । यी तŒवहरूको सन्तुलनले कला–क्यानभासलाई सुखद बनाउँछ । कुनै पनि कलामा भावना र प्रतीकहरूले त्यस कलाको प्रत्येक आयाममा विशिष्ट भावना र अर्थ प्रकट गरिरहेको हुन्छ । यस किसिमका प्रतीकात्मक विम्बहरूले गहिरो सन्देश प्रकट गर्छन् । कलामा अर्को प्रबल पक्ष कलात्मक मौलिकताका सन्दर्भहरू जुन अति आवश्यक हुन्छ । 

जस्तै– प्राकृतिक विम्बहरू सूर्योदय, सूर्यास्त, झरना, नदी, फूल, हिमाल, गाउँघर आदि प्राकृतिक दृश्यले चित्रलाई जीवन्त र सुन्दर बनाउँछ । प्रकृतिका यी विम्बहरूले चित्रमा शान्ति र प्रेरणाका भावहरू पनि जागृत गराइदिन्छन् ।

कलाकारले सिर्जना गरेको कला शैलीले पनि यसमा प्रभाव पार्न सक्छ । अमूर्त, यथार्थवादी वा आध्यात्मिक शैलीहरूले चित्रको सौन्दर्यबोध गराउँछ । त्यसमा प्रयोग गरिएको शैलीले चित्रलाई विशेष पहिचान दिन्छ । प्रत्येक चित्रमा यी विम्बहरूको विविधता र कुशल संयोजनले अद्वितीय सौन्दर्य उत्पन्न गर्छ । फलतः कलाकार र कलाको प्रशंसा हुन थाल्छ । यस्ता कृतिका भाव सौन्दर्यले व्यक्तिलाई नयाँ भावना र नवीनतम दृष्टिकोणका लागि प्रेरित गर्छ ।

Author

ज्ञानेन्द्र विवश