• १९ असोज २०८१, शनिबार

कालिकोटको सडक कालोपत्रे: चार वर्षमा ३५ प्रतिशत मात्र काम

blog

रास्कोट सडक कालोपत्रेका लागि चौडा पारिदै । तस्बिर: प्रेमराज सिम्खडा

ठेकेदारको हेलचेक्र्याइँ स्थानीयबासीलाई सास्ती  

कालीकोट असोज १७ गते । कालीकोटको रास्कोट नगरपालिकाको मूल सडक कालोपत्रे चार वर्ष बित्दा समेत आधा पनि काम हुन सकेको छैन । निर्माण सम्झौताको चार वर्ष बित्नै लाग्दा समेत ३५ प्रतिशत मात्र काम भएको छ । 

नगरपालिका भित्रको मूल सडक मध्ये ११ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गर्ने भनेर २०७८ साल असार ३ गते ठेक्का सम्झौता भएको थियो । कर्णाली सरकारको लगानीमा रास्कोट नगरपालिकाको मूल सडक कालोपत्रे गर्न ठेक्का भए पनि निर्माण जिम्मा लिएको केएस शनिदेव जेभि कञ्चनपुरले सडक कालोपत्रेको काममा ढिलासुस्ती गर्दा स्थानीयवासीले सास्ती खेप्नु बाध्य भएका छन् । 

उक्त आयोजना सम्पन्न गर्नका लागि ३८ करोड ४९ लाख ५७ हजारमा लागत अनुमान गरिएको थियो । तर निमार्ण कम्पनीले २५ करोड ५५ लाखमा सम्झौता गरेको छ । हेरिरहेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले सुरुमा पेस्की बापत ४ करोड ४० लाख लिएर काम सुरु गरेको बताउनुभयो । हाल ३५ प्रतिशत काम भएको देखिन्छ । त्यसका लागि सम्झौता लागत मध्यबाट १२ करोडको आसपासमा भुक्तानी भइसकेको छ । इन्जिनियर पाण्डेले सुरुको चार करोड ४० लाख बाट बिस्तारै घट्दै आउने र यता जति प्रतिशत काम भयो त्यसैको अनुपातमा भुक्तानी हुने भएकाले अहिले १२ करोड बढी भुक्तानी भएको जानकारी दिनुभयो । 

सडक कालोपत्रे सक्न अझै ६५ प्रतिशत काम बाँकी छ । असार मसान्त आउन नौ महिना मात्र छ । यो नौ महिनामा ६५ प्रतिशत काम सक्छ भन्ने आधार छैन । २०७८ साल असार तीन गते भएको सम्झौता अनुसार २०८२ असारमै काम सक्नु पर्ने छ । तर काम कछुवागतीमा भएकाले तोकिएको मितिमा काम सक्ने सम्भावना छैन । रास्कोट ६ का महेश फर्सालले नगरपालिका र निमार्ण कम्पनी बिचको कुनै आपसी सम्बन्ध भएकाले काम ढिलो भइरहेको बताउनुभयो । 

कम्तीमा पनि नगरपालिकाले काम छिटो गर्नका लागि ताकेता लगाउनु पर्ने हो । त्यो नभएको देख्दा सङका गर्ने ठाउँ भएको फर्सालको भनाई छ । २०७८ साल पुस १४ गते तत्कालीन नगर उपप्रमुख मिम्सरा बम शाहीले सडक कालोपत्रेका लागि शिलान्यास गर्नु भएको थियो । निमार्ण कम्पनीका तत्कालीन प्रतिनिधि अभिषेक श्रेष्ठले नगरप्रमुखले शिलान्यास गरेको मान्य नहुने तर्क गर्नु भएको थियो ।

Author

प्रेमराज सिम्खडा