• १५ असोज २०८१, मङ्गलबार

बाढीले विद्युतमा ठुलो क्षति

blog

बोमलाल गिरी

नवलपुर, असोज १५ गते । नेपाल विद्युत प्राधिकरण नवलपुर शाखाले असोज ११ र १२ गतेको बाढी पहिरोले विद्युतमा ठुलो क्षति पुगेको जनाएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा प्राधिकरणका कावासोती वितरण केन्द्रका प्रमुख सूर्य मण्डलले होङ्सी सिमेन्टमा जाने एक सय ३२ केभी प्रसारण लाइनको टावर भत्केर सबैभन्दा ठुलो क्षति भएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा विद्युत महसुलबाट उठ्ने रकमको आधा होङ्सी सिमेन्टले मात्र तिर्ने गरेको छ । प्राधिकरणले नवलपुरमा मासिक १८ करोड रुपियाँ विद्युत महसुलबाट उठ्ने गरेको जनाएको छ । त्यसैले एउटा टावर ढल्दा मर्मत खर्चबाहेक मासिक ९ करोड रुपियाँ घाटा लाग्ने मण्डलको भनाइ छ । 

बाढीले क्षति पुराउँदा देशभर ११ सय मेगावाट विद्युत कम भएको र यसले ३ अर्ब रुपियाँ नोक्सान भएकाले भन्दै प्राधिकरणले त्यो मर्मत नहुँदासम्म भोल्टेज कम हुने स्पष्ट पारेको छ । "विद्युतको लाइन भनेको ग्रेडिङ सिस्टमको हुन्छ, सबै जालो जस्तो बेरिएको छ, एउटा जालो टुट्यो भने सिस्टम नै जान्छ", मण्डलले भन्नुभयो ।  

उहाँका अनुसार दुई दिनको वर्षाले ४० वटा पोल ढलेका छन् । त्यस्तै ६ वटा पोल बाढीले बगाएको छ भने ८ वटा भाँचिएका छन् । २०० केभीको एउटा ट्रान्सफर्मर जलेको छ । यसबाट भएको क्षतिको आङ्कलन आइनकेको मण्डलले बताउनुभयो । नारायणी नदीको बहावले आँपटारी सबस्टेसनमा हानेर तार बनाइदिएपछि गैँडाकोट क्षेत्रमा समस्या भएको र तत्कालै मर्मत गर्न नसकिए पनि बैकल्पिक व्यवस्था गरेर लाइन भने वितरण गरिएको उहाँको भनाइ छ । 

यसैबिच विपद् व्यवस्थापन समितिले आगामी दिनमा हुन सक्ने बाढी र डुबानलाई मध्यनजर गर्दै गैँडाकोट, देवचुली, कावासोती तथा मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकालाई एक एकवटा रबर बोर्ट खरिद गरेर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । 

नारायणीको बाढी बस्तीमा पस्दा उद्धारका साधनमा कमी देखिएको भन्दै समितिले यस्तो निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिनुभयो। दुई दिनको बाढीले जिल्लामा मानवीय क्षति नभए पनि भौतिक क्षेत्री भने धेरै नै भएको र अझै पनि त्यसको तथ्याङ्क सङ्कलनको काम भइरहेको पालिका र सरकारी कार्यालयहरूले जनाएका छन् ।