• १५ असोज २०८१, मङ्गलबार

रामेछापकाे मुख्य सडक अवरुद्ध, चरिकोट-तामाकोशी-फुलासी-मन्थली सडक विकल्पमा

blog

रामेछापबाट काठमाडौँ जोड्ने बैकल्पीक रुपमा हेरिको सडक खण्ड अन्तरगत मन्थली नगरपालिका–८ स्थित तामाकोशीले बटान गरेको सडक ।

नवराज श्रेष्ठ

रामेछाप, असोज १५ गते । गत बिहीबार, शुक्रबार र शनिबार परेको अविरल वर्षासँग आएको बाढीका कारण रामेछापको राजधानी काठमाडौँसँग सम्बन्ध टुटेको छ । राजधानी काठमाडौँबाट रामेछाप आवतजावत हुने महत्त्वपूर्ण दुई वटा पक्की पुल सुनकोशीमा आएको बाढीले बगाएको छ । 

सदरमुकाम मन्थलीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने खुर्काेटमा रहेको पक्की पुल सुनकोशीले बगाएको छ । त्यस्तै पश्चिम रामेछापलाई राष्ट्रिय राजमार्गसँग जोड्ने खाँडादेवी गाउँपालिका–१ राकाथुमको खैरेनीघाट र सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा स्थित पक्की पुल पनि सुनकोशीको बाढीले बगाएको छ । रामेछापलाई राजधानी काठमाडौँ र तराईसँग जोड्ने खाँडादेवी गाउँपालिका–३ सित्खा र सिन्धुली जोड्ने एउटा पुल मात्रै बाँकी छ । 

सोही पुल मार्फत अहिले रामेछापबाट सिन्धुली हुँदै तराई क्षेत्र जाने सडक भने आइतबार रातिबाटै सञ्चालन भइरहेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “रामेछापलाई खाद्यान्नका सामग्री तथा पेट्रोलियम पदार्थहरूको अभाव हुन नदिन सबैको ध्यान यही बाटो सञ्चालनमा गयो । जिल्ला प्रशासन, स्थानीय सरकार लगायत सरोकारवाला निकायको लामो प्रयासपछि सित्खाबाट तराईका क्षेत्र जाने आउने सडक सञ्चालन भइरहेको छ । यसले रामेछापेली जनतालाई ठुलो राहत भएको छ ।”

यसैगरी, राजधानी काठमाडौँसँगको रामेछापको सम्बन्धनै विच्छेद भएपछि जिल्ला स्थित सबै सरोकारवाला निकाय वैकल्पिक बाटो सञ्चालन गर्न तिर लागेका छन् । अहिले काठमाडौँबाट काभ्रेको बनेपा–सिन्धुपाल्चोकको खाडिचौर–मुडे हुँदै दोलखाको चरिकोट–तामाकोशी मिल्ती हुँदै रामेछापको मन्थली नगरपालिकाको फुलासी जिरो किलोबाट मन्थली नगरपालिका वडा नं ११ र १२ गेलु हुँदै सदरमुकाम मन्थलीसम्मको बाटो सञ्चालनलाई जोड दिइएको छ । सोही अनुसार अहिले मन्थली नगरपालिका वडा नं ८ चिसापानीमा तामाकोशीले कटान गरेको सडक निर्माणका काम सुरु गरिएको छ ।

सदरमुकाम मन्थली नजिकै मन्थली नगरपालिका वडा नं ८ चिसापनीस्थित करमबोट पारी तामाकोशीले कटान गरेको सडक निर्माणको काम थालिएको मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले बताउनुभयो । राजधानी काठमाडौँबाट रामेछाप आवतजावत गर्ने सवारी साधन सञ्चालन हुने वैकल्पिक सडकका रूपमा यो सडक मर्मतको काम थालिएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अहिले मन्थली नगरपालिका, पूर्वाधार विकास कार्यालय लगायतले क्षति भएका ठाउँ ठाउँका सडक मर्मत तथा पुनर्निर्माण काम गरिरहेको छ । यो सडकमार्फत् केही दिनमा काठमाडौँसम्म यातायात सेवा सञ्चालन हुन्छ भन्ने हाम्रो निष्कर्ष हो । सोही अनुसार काम भइरहेको छ ।” उहाँका अनुसार यो सडक मार्फत सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका वडा नं ८, ९,१०, ११, १२, १३ र १४ वडासम्म भने भोलीसम्ममा यातायातको साधन सञ्चालन गर्ने गरी काम भइरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।