• १५ असोज २०८१, मङ्गलबार

प्रहरी र जनप्रतिनिधिको उपस्थिति नभएको ठाउँबाट उद्धार गर्न चुनौती भयो: रक्षामन्त्री

blog

रक्षामन्त्री मानवीर राई प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै ।

काठमाडौँ, असोज १५ गते । रक्षामन्त्री मानवीर राईले विपद् परेको स्थानको समयमै पहिचान गर्न नसक्दा मानवीय क्षति भएको बताउनुभएको छ ।

मङ्गलबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै मन्त्री राईले विपद्को बेलामा नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको बताउनुभएको हो । उहाँले कतिपय अवस्थामा विपद्मा परेकाहरूले आफू कुन स्थानमा छु भन्नेसम्म जानकारी राख्न नसक्दा र हेलिकोप्टरलाई सही सूचना दिन नसक्दा समयमै उद्धार हुन नसकेको जानकारी दिनुभयो ।

मन्त्री राईले नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधि भएको ठाउँमा उद्धार गर्न सहज भएको तर प्रहरी र जनप्रतिनिधिको उपस्थिति नभएको ठाउँबाट समन्वयको अभाव हुँदा उद्धारमा चुनौती थपिएको बताउनुभयो ।

‘‘सुनकोशी र रोशी खोला जहाँ गहिरो छ । बादल छ । त्योभित्र हेलिकोप्टर तुरुन्तै जान नसक्ने । फेरि विपत्तिमा परेका मानिसहरूले पनि प्रहरी नपुगेका र त्यहाँका स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय हुन नसक्दाखेरी कुन ठाउँमा म छु, त्यहाँ हेलिकोप्टर बस्न सक्छ कि सक्दैन ? सानो हेलिकोप्टर कि ठुलो हेलिकोप्टर भन्ने कुरा पहिचान हुन नसक्दाखेरी कहाँ उद्धार गर्ने ? हेलिकोप्टर ठाउँ खोज्दै जाँदा पनि कतिपय समय व्यतीत भएको ।,’’ रक्षामन्त्री राईले भन्नुभयो, ‘‘त्यसकारण जनप्रतिनिधि र प्रहरी पुगेका ठाउँमा एकदम सजिलो भएको छ । हेलिकोप्टर कहाँ आउने ? कतिजना मान्छे छ ? कुन खालको वृद्धवृद्धा, घाइते छन् ? सजिलो भयो । स्थानीय तहको ठुलो भूमिका हुने रहेछ । कुन गाउँपालिकाको कुन वडामा छु ? कुन टोलमा छु भन्नेसम्म विपदमा परेका मान्छेहरूले पहिचान गर्न नसक्दा पनि कतिपयको ज्यान गएका छन् ।’’

उहाँले नेपाली सेनाले विभिन्न स्थानमा अलपत्र परेका यात्रुहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरेको जानकारी दिनुभयो ।