• १५ असोज २०८१, मङ्गलबार

सङ्कटको घडीमा राष्ट्रिय एकता कायम गरी अघि बढ्न अध्यक्ष प्रचण्डको आग्रह

blog

पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ललितपुरको नक्खु क्षेत्रका बाढीपीडितको अवस्था बुझ्नुहुँदै । तस्बिर : अध्यक्ष प्रचण्डको सचिवालय

ललितपुर, असोज १५ गते । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सङ्कटको घडीमा राष्ट्रिय एकता कायम गरेर अघि बढ्न सबैलाई आग्रह गर्नुभएको छ । मङ्गलबार ललितपुरको नक्खु क्षेत्रका बाढीपीडितको अवस्था बुझ्न पुग्नुभएका अध्यक्ष प्रचण्डले सो आग्रह गर्नुभएको हो ।

सो क्रममा अध्यक्ष प्रचण्डले पार्टीले सक्ने जति पार्टीका नेता कार्यकर्ताबाट र बाँकी सरकारलाई आग्रह गरेर पीडितहरूलाई पुरानै अवस्थामा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उद्धार र राहतमा ढिलाइ  भए पनि अहिले सरकारको विरोध गर्नुभन्दा सबै मिलेर उद्धार, राहत र पुनर्स्थापना गर्नुपर्ने बताउनुभयो ।


जनजीवन सहज बनाएर सबै पीडितलाई दसैँ मनाउनसक्ने वातावरण बनाउन सरकारले पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाउनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले आफूहरू पूर्णरुपमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।

यसैगरी, पीडितहरूले जतिसक्दो चाँडो पीडाबाट मुक्त गर्न अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् । पीडितहरूले अझै उद्धारको काम नसकिएको, धेरै मानिसहरू घरबारविहीन भएको, विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै जतिसक्दो चाँडो आफूहरूको जनजीवन सहज बनाइदिन आग्रह गरेका छन् ।