• १५ असोज २०८१, मङ्गलबार

बेमौसमी खेतीले रैथाने बालीको स्वाद फेरियो

blog

यदुप्रसाद भट्ट

मनाङ, असोज १५ गते । मनाङका चार वटै पालिकामा एक दशकयता टनेलखेतीको अभ्यास हुँदै आएको छ । समुद्री सतहदेखि २ हजार ७ सय मिटर उचाइमा अवस्थित सदरमुकाम चामेमा मात्र नभई ३ हजार ५ सय ४० मिटर उचाइमा पर्ने मनाङ ङिस्याङ गाउँपालिकामा बन्दाकोपी, गाँजर, मुला, गोलभेँडा, रायोलगायत बेमौसमी तरकारी उत्पादन हुन थालेको छ । 

तरकारी उत्पादन हुन थालेपछि आन्तरिक खपतसँगै निकासी गर्न थालिएको र आयात प्रतिस्थापन सम्भव हुन थालेको कृषि ज्ञान केन्द्र मनाङले जनाएको छ । खेतीपाती तथा कृषिका लागि दुर्गम मानिने हिमाली जिल्ला मनाङ भए पनि बेमौसमी तरकारी खेतीले किसान र स्थानीय बासिन्दालाई उत्साहित बनाएको छ । चामेका युवा उद्यमी कृषक शेराप विष्टले आफ्नै जमिनमा बैमौसमी तरकारी खेती गरेको बताउनुभयो । 

मनाङमा कृषि पकेट क्षेत्र तोकिएका अन्य स्थानमा जस्तै व्यावसायिक रूपमा विभिन्न प्रजातिका अन्न र कृषिउपज उत्पादन हुन थालेका छन् । यसले किसानलाई उत्साहित बनाएको विष्टले बताउनुभयो । उहाँले आफूले होटलका लागि पनि आफ्नै उत्पादन प्रयोग गर्ने गरेको तथा बढी भएको तरकारी, फलफूल बेच्ने गरेको बताउनुभयो ।

बेमौसमी तरकारीतर्फ उत्साहित भएका किसान विश्वव्यापी तापक्रम वृद्धिले हिमपात कम भएर रैथाने बालीनाली लोप हुने अवस्थामा पुग्दा भने बेखुसी हुन पुगेका छन् । रैथाने बालीनालीको स्वाद र गुणस्तर खस्किँदै गएकोमा उनीहरूको चिन्ता छ । 

पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले बाहिरबाट तरकारी आयात गर्नुभन्दा यहीँ थोरै भए पनि उत्पादन गरेको बताउनुभयो । उहाँले माथिल्लो मनाङमा हिजोआज टनेलबिनै बन्दाकोपी, काउली, गोलभेँडा, गाँजर, मुला, धनियाँ लगायत बेमौसमी तरकारी उत्पादन हुन थालेको बताउनुभयो ।

त्यसैगरी नासो गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङले पहिला जस्तो हिउँ नपर्ने र गर्मी अलि बढ्न थालेको बताउनुभयो । गर्मी बढ्न थालेपछि फलफूललगायत अन्य बालीको स्वाद फेरिँदै गएको उहाँको भनाइ छ । गुरुङको अनुभवमा आलुको स्वाद पहिलेको जस्तो छैन ।

स्याउ लगायत मकै, भटमास, आलु, जौ, उवा, करु, फापर, गहुँ, कोदो, राजमा जस्ता कृषिउपज मनाङका रैथाने बालीनाली हुन् । समयअगावै फलफूल र अन्नबाली पाक्न थालेको अनुभव स्थानीयले गर्न थालेका छन् । रैथाने बाली हराउँदै जाने र गुणस्तर खस्किने चिन्ता बढ्न थालेसँगै कृषि ज्ञान केन्द्रले अनुदानसहितका सचेतना कार्यक्रम प्राथमिकतामा राखेको केन्द्र प्रमुख मदन रेग्मीले बताउनुभयो । जलवायु परिवर्तनको प्रभावले बालीनालीको उत्पादन र गुणस्तरमा प्रभाव पारिरहेको बताउँदै उहाँले भन्नुभयो, "रैथाने बालीको बीउ जोगाउन, परम्परागत खेतीलाई प्रोत्साहन गर्न हामी स्थानीय तहसँग सहकार्यमा जुटेका छौँ ।"