• १५ असोज २०८१, मङ्गलबार

कृषकको खातामा २० करोड भुक्तानी

blog

महोत्तरीको गौशाला नगरपालिका १० स्थित विरेन्द्र बजार खरिद केन्द्रमा उखु तौल गराउँदै कृषक । तस्बिर :रवीन्द्र उपे्रती

रवीन्द्र उप्रेती
बर्दिबास, असोज १५ गते ।
यो वर्ष किसानले चाडवाड अगावै उखुको अनुदान रकम पाउने भएका छन् । यसपटक समयमै रकम निकासा भएकाले दसैँ अगावै किसानको खातामा रकम जम्मा हुने गरी अनुदान पठाइएको कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) महोत्तरीले जनाएको छ ।

सरकारले क्रसिङ सिजन ०८०/८१ मा चिनी मिललाई उखु उपलब्ध गराएका महोत्तरीका किसानको खातामा २० करोडभन्दा बढी रकम भुक्तानी गरेको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) काअनुसार महोत्तरीमा साना ठूला गरी दुई वटा चिनी मिल भए पनि यो वर्ष रामनगरस्थित एभरेष्ट सुगर मिलले मात्र क्रसिङ गरेको थियो ।

कोलेनिका प्रमुख बालकृष्ण अधिकारीका अनुसार क्रसिङ सिजन ०८०/८१ मा रामनगरस्थित एभरेष्ट सुगर मिललाई उखु दिने १४ हजार ४४४ जना कृषकको खातामा २० करोड ३३ लाख १५ हजार ८११ रुपिया निकासा पठाइएको हो ।

अधिकारीले भुक्तानीको सम्पूर्ण लगतसहित १७ वटा बैंकमार्फत विवरण पठाइएको बताउनुभयो । बैकहरुले पनि चेक क्लियरेन्सको काम गरी रहेकाले दसैँ अगावै सबै किसानहरुको खातामा अनुदान जम्मा गरिसक्ने जनाएका छन् । 

क्रसिङ सिजन ०८०/८१ मा एभरेष्टले २९ लाख चार हजार ५११ क्विन्टल उखु क्रसिङ गरी दुई लाख ६४ हजार ५११  क्विन्टल चिनी उत्पादन गरेको थियो ।

यो चिनी उत्पादन गत वर्षको तुलनामा बाइस हजार ५०८ क्विन्टलले बढी हो । त्यस्तै ०७८/७९ देखि सञ्चालनमा आएको सिद्धिविनायक चिनी मिलले भने यो वर्ष प्राविधिक कारण देखाउँदै उखु क्रसिङ गर्न सकेन । गत वर्ष (०७९/८०) मिल सञ्चालन भए पनि सिद्धिविनाएकले नौ हजार २४५ क्विन्टल मात्र उखु क्रसिङ गर्न सकेको थियो ।

सरकारले तीन वर्षदेखि उखुको अनुदान रकम ६५ रुपियाँबाट बढाएर प्रति क्विन्टल ७० रुपियाँ गरेपछि किसानले केही राहत महसुस गरेका थिए । विगतका वर्षमा ढिलो गरी अनुदान रकम पाउदा ‘न हर्ष न बिस्मात्’ को स्थिति भएको बताउँदै उखु कृषकले कमसे कम चाडवाड अगावै अनुदान रकम निकासको माग गर्दै आएका थिए । 

सरकारले किसानको माग सम्बोधन गर्दै यो वर्ष छिट्टै अनुदान पठाएपछि किसानले खुसी र राहतको अनुभूति गरेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश कुशवाहाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘दसैँअघि नै अनुदान पाउने भएपछि उखु किसानले राहत र खुसीको अनुभूति गरेका छन् । समयमै भुक्तानीले उखु खेतीप्रति किसानको भरोसा र उत्साहलाई बढाएको छ ।’

कोलेनिका प्रमुख अधिकारीले सरकारले बजेटमै व्यवस्था गरेअनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको भुक्तानी समितिको निर्णयअनुसार उखु किसानलाई अनुदान उपलब्ध गराएको बताउनुभयो ।

अहिले उखुको मूल्य उद्योगले ५४० र सरकारले अनुदान बापत ७० गरी प्रति क्विन्टल ६१० रुपियाँ कायम गरिएको छ । उखु कृषकले भने चिनिको मूल्य आकासिँदै गएको र खेतीको लागत बढ्दै गएकाले प्रति क्विन्टल उखुको न्यूनतम समर्थन मूल्य ७५० रुपियाँ कायम गर्नुपर्ने माग राख्दै आएका छन् ।