• ८ मंसिर २०८१, शनिबार

हवाई यात्रामा नागरिकलाई सास्ती नहोस् : गण्डकीका मुख्यमन्त्री

blog

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चाडवाड र विपदका बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एअरलाइन्स कम्पनीहरुलाई निर्देशन दिनुहुँदै । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
कास्की, असोज १५ गते ।
 गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडबाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एयरलाइन्स कम्पनीहरूलाई निर्देशन दिनुभएको छ । पोखराबाट काठमाडौँको भाडा बढाएको, हवाई यात्रामा सास्ती भोग्नुपरेको नागरिकका गुनासोपछि मुख्यमन्त्री पाण्डेले पोखराबाट सेवा सञ्चालन गर्ने एयरलाइन्स र नागरिक उड्डयन प्राधिकरणको प्रतिनिधिलाई सहज सेवा दिन आग्रह गर्नुभएको हो ।

‘‘चाडपर्वको समय छ, अहिले विपद्का कारण राजमार्ग अवरुद्ध छन् यस्तो समयमा सेवा सरल, सहज र सहुलियत बनाउनुपर्छ । यो संवेदनशील हुने बेला हो, मौका छोप्ने बेला होइन,’’ उहाँले भन्नुभयो । 

पोखरासहित गण्डकी प्रदेशको विभिन्न जिल्लाका मुख्य सडक वर्षापछिको बाढी पहिरोले क्षति पुर्‍याउँदा यातायात आउजाउ सहज छैन । पृथ्वीराजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा काठमाडौँ–पोखरा हवाई यात्रामा चाप बढेको छ ।

यात्रुहरूको गुनासो बढेको बताउनुहुँदै मुख्यमन्त्री पाण्डेले एयरलाइन्स कम्पनीहरूलाई माथिल्लो तहमा सहजीकरण गरेर तत्काल गुनासो सुनुवाइ गर्न सुझाव दिनुभयो ।

‘‘एयरलाइन्स कम्पनी, नागरिक उड्डयन प्राधिकरण, सङ्घीय सरकार मातहतका निकायमा सहजीकरण पनि गरुँला । तपाईँहरूले यहाँबाट आफूले सक्ने सहजीकरण गर्नुहोस्,’’ उहाँले भन्नुभयो ।

अहिले पोखरा–काठमाडौँ भाडा पाँच हजार नौ सयसम्म छ । यस अघि चार हजार चार सय थियो । सेवा सहज बनाउनेबारे मुख्यमन्त्री कार्यालयमा आयोजित छलफलमा मुख्यमन्त्री पाण्डेले नागरिक उड्डयन प्राधिकरणलाई पनि सेवा सहज बनाउन सहजीकरण गर्न सुझाव दिनुभयो ।

आइतबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज लामो समय होल्ड गरी राति ११ः३० बजे पुन काठमाडौँ फर्किएको थियो । यस्तो अवस्था आउँदा समयमै यात्रुलाई जानकारी दिन एयरलाइन्सहरूलाई सचेत गराउन आवश्यक रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

एयरलाइन्स कम्पनीहरूले ‘सिस्टम कन्ट्रोल’ यहाँबाट नहुने हुँदा यसबारे केन्द्रीय कार्यालयसँग समन्वय गरेर सेवालाई सक्दो सहज बनाउने बताएका छन् । पोखरामा यति, बुद्ध, श्री एयरलाइन्सले सेवा दिँदै आएका छन् ।