• १५ असोज २०८१, मङ्गलबार

कालीगण्डकी लोकमार्ग : जिम्मा नलिँदा मर्मतमा समस्या

blog

पर्वत समाचारदाता

पर्वत, असोज १५ गते । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गको काम सम्पन्न भएको खण्डको जिम्मा लिने निकाय नहुँदा मर्मत तथा रेखदेखमा समस्या भएको छ । राष्ट्रिय सडक सञ्जालमा सूचीकरण हुन नसक्दा सडक विभागले मर्मतलगायतको काम गर्न पाएको छैन । पर्वत खण्डको २९ किलोमिटर सडकमा कालोपत्रे भई सम्पन्न भएको एक वर्ष भइसकेको छ । कुन निकायले रेखदेख गर्ने भन्ने स्पष्ट नहुँदा सडक मर्मत तथा रेखदेखमा समस्या भएको पाल्पास्थित कालीगण्डकी कोरिडोर आयोजना कार्यालयका इन्जिनियर सुरेन्द्र गौतमले बताउनुभयो । 

उहाँका अनुसार बिचमा पर्ने दुई वटा पुल निर्माणाधीन रहेका भए पनि सेतीबेनीदेखि फलेबास ढिकसम्मको सबै खण्ड कालोपत्रे सम्पन्न भइसकेको छ । उहाँले भन्नुभयो, “कालोपत्रे भइसकेको खण्डलाई राष्ट्रिय राजमार्गमा सूचीकरण नगर्दा कुन निकायले मर्मत र रेखदेख गर्ने भन्ने समस्या भएको छ ।” सम्पन्न भइसकेका खण्डमा पहिरो खस्दा पन्छाउने काममा समेत समस्या भएको कार्यालयले जनाएको छ । 

कोरिडोरको मिर्मीदेखि अर्मादीसम्म ५३ किलोमिटर सडकको काम धमाधम भइरहेको गौतमले बताउनुभयो । यसमध्ये पर्वत खण्डमा ४३ किलोमिटर सडक पर्छ । कार्यालयका अनुसार फलेबास–अर्मादी सडकखण्डको १४ किलोमिटर भने निर्माण कम्पनीको लापर्बाहीका कारण समयसमा काम नहुँदा कालोपत्रेको काम अगाडि बढाउन सकिएको छैन । उक्त खण्डमा समयमा काम नहुँदा कालोपत्रेको कामको टेन्डर आह्वान गर्नसमेत समस्या भएको बताइएको छ । २०७३ साल असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्नेमा काम नसकिएपछि थप गरिएको समयसमेत २०८१ असोज मसान्तसम्म रहेको कार्यालयले जनाएको छ । नौ करोड १७ लाख ४९ हजार रुपियाँको लागतमा यो खण्डको सबै काम सकिने इन्जिनियर गौतमको भनाइ छ । 

निर्माण जिम्मा पाएको सूर्य कन्स्ट्रक्सनले ट्र्याक खोल्ने, ग्राभेल गर्ने र कलभर्ट तथा टेवा पर्खाललगायतको काम गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । उहाँले भन्नुभयो, “यो खण्डको सबै काम सम्पन्न भएमा मिर्मीदेखि पर्वतको अर्मादीसम्म स्तरोन्नति भई गाडी सहजै चल्न सक्ने हुन्छ । उहाँका अनुसार स्याङ्जाको मिर्मीदेखि पर्वतको सेतीबेनीसम्मको १० किलोमिटर सडक पनि कालोपत्रेको चरणमा रहेको छ ।