• १३ असोज २०८१, आइतबार

गोरखाबाट छुटेको बसभित्र ५ जनाको शव भेटियो

blog

बाढीले बस बगाएको झ्याप्लेखोलामा उद्धारमा जुटेका सुरक्षाकर्मी ।

गुणबहादुर रोका

सुलीकोट, असोज १३ गते। उत्तरी गोरखाको लापुबेशीबाट काठमाडौँका लागि छुटेको बस नौबिसे–नागढुङ्गा सडक अन्तर्गत झ्याप्लेखोलामा पहिरोमा पुरिएको अवस्थामा बसभित्र ५ जनाको शव फेला परेको छ। चालकसहित तीनजना र दुई यात्रुको शव भेटिएको गोरखा दरौदी यातायात कम्पनी सेवा प्रालिका अध्यक्ष नारायण खत्रीले जानकारी दिनुभयो। 

शुक्रबार बिहान  गोरखाको लापुबेशीबाट काठमाडौँको लागि छुटेको ना ४ ख २२७० नम्बरको बस भित्र बस चालक तथा साहु मदन परियारको शव पहिचान भएको हो। चालक तथा साहु भीमसेन थापा गाउँपालिका–४ धावाका स्थायी बासिन्दा हुन्। साथै सहचालक विनय भट्टराई र गण्डकी गाउँपालिका – ४ फुजेलका नवराज तिवारीको शव फेला परेको अध्यक्ष खत्रीले बताउनुभयो। 

बसमा सबार दुई जना यात्रु मध्ये एक जना धार्चे गाउँपालिका–७ खानीगाउँका २७ वर्षीय सुकबहादुर गुरुङ रहेको ७ का वडा अध्यक्ष राकेश गुरुङले पुष्टि गर्नुभयो। अर्का यात्रु सुकबहादुर गुरुङको सम्पर्कमा मुग्लिङबाट बसमा चढेकाले उहाँको पहिचान भने नखुलेको वडा अध्यक्ष गुरुङको भनाइ छ। 

गत शुक्रबार बिहान ७ बजे गोरखाबाट काठमाडौँका लागि चार जना यात्रु लिएर छुटेको बस आइतबारसम्म सम्पर्क विहीन थियो। झ्याप्लेखोलामा नेपाली सेना, नेपाली प्रहरी र स्थानीय जनप्रतिनिधि सहितको टोलीले खोजी कार्यलाई तीव्रता दिएका छन्।