• १२ असोज २०८१, शनिबार

बाढीपहिरोले छजनाकाे मृत्यु, दुई बेपत्ता, लार्चा पुल बगायो

blog

बाढीले बगाएको लार्चा बेलिबिज्र । तस्बिर : गोरखापत्र

चित्र मिजार

सिन्धुपाल्चोक, असोज १२ गते । निरन्तर परेको अविरल बर्षाका कारण बाढीपहिरोले सिन्धुपाल्चोक छजनाकाे मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । 

गएराती १ बजे घरमाथिबाट आएको पहिरोले लिसंखुपाखर गाउँपालिका–३ का दम्पतीको निधन भएको छ । सो गापाका अध्यक्ष राजु लामाकानुसार पहिरोले घरमा सुतिरहेका पूर्व वडा अध्यक्ष समेत रहनु भएका ७३ बर्षीया काजी लामा र उहाँकी धर्मपत्नी ७० बर्षीया सुन्तली तामाङको निधन भएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी संतोष खड्काले जानकारी दिनुभएको छ । उनीहरु घरमा सुतिरहेका बेला घरमाथिबाट आएको पहिरोले पुरेको थियो । 

त्यस्तै सोही ठेगानाका आलोङ ग्रुङम्राङमा पहिरोले घर बगाउदाँ तिर्सना मोक्तान र उहाँकी दुई छोराछोरी गरी तिनै जनाको निधन भएको अध्यक्ष लामाले बताउनुभयो ।  इलाका प्रहरी कार्यालय जलविरेले दिएको जानकारीनुसार पहिरोले जुगल गाउँपालिका–१ कुनेगाउँका एकै परिवारका दुई जनाको निधन भएको छ । पहिरोले ४५ बर्षीय चित्रबहादुर मिजार र उहाँको ज्वाँई अविनाष नेपालीको मृत्यु भएको छ ।

मिजारको धर्मपत्नी बर्ष ४५ की ठूलीकान्छी मिजार र अविनाषको ५ बर्षीय छोरा बेपत्ता छिन् । नेपाली र उहाँको छोरा मिजारको घरमा पाहुना आएका थिए । उक्त स्थानका १० घर पहिरो उच्च जोखिममा रहेका छन् । यस्तै सुनकोशी गापा–४ बिमरेनी स्थित सिन्धुवीच रिसोर्ट माथिबाट आएको पहिरोले दुई कोरियन नागरिक र एक नेपाली गाइड बेपत्ता भएका छन् । उक्त स्थानमा रिसोर्टमाथिबाट आएको पहिरोले १५ जना पाहुनालाई प्रहरीले सकुसल उद्धार गरेको एसपी खड्काले बताउनुभयो । 

यस्तै भोटेकोशी बाढी उर्लेपछि चीनको सीमा जोड्ने लार्चा बेलिबिज्र बगाएको एसपी खड्काले बताउनुभएको छ । सो पुल बगाएपछि उत्तरी सीमा चीन नाकाको आवगमन बन्द भएको छ । पुल बगाएपछि भोटेकोशी गापा–२ र ३ का बस्तीहरु आउजाउ बन्द भएको छ ।

सो पुलले उक्त दुई बस्ती जोडने गर्छ । पुल बगाएपछि तातोपानी नाकाबाट राजधानी जाने मालबाहक कन्टेनर पूर्ण रुपमा बन्द भएका छन् । पैदल यात्रा गर्न समेत जंगलको बाटो प्रयोग गर्नु पर्ने भएको छ ।

२०७४ साल साउनमा पनि बाढीले उक्त ठाउँमा रहेको पक्की पुल बाढीले बगाएको थियो । यस्तै लिपिङ पुल पनि बाढीले ६० प्रतिशत भाग खसालेको छ । यस्तै भोटेकोशी बाढीले भोटेकोशी गापा–२ स्थित नौ किलो पुरानो भ्यान पार्किङदेखि भोटेकोशी ४ गोलेपा, पाङशेर्पु गाउँ जोड्ने फलामे पुल बगाएको छ ।