• १२ असोज २०८१, शनिबार

पहिरोले सडक अवरुद्ध, ठाउँ–ठाउँमा डुबान

blog

कावासोती –१५ स्थित अमलटारीको डुवानमा परेको क्षेत्र ।

मीना कंडेल

कावासोती, असोज १२ गते । नवलपुरको समथर भू–भागमा डुबान र सडक कटानले यातायात क्षेत्र प्रभावित भएको छ । लगातारको वर्षाले विभिन्न ग्रामीण सडक अवरुद्ध भएका छन् भने सयौँ घर डुबानमा परेका छन् । 

कालीगण्डकी कोरिडोर अन्तर्गत नवलपुर खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो र सडकमा रुख ढलेकाले यस सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको हो । बौदीकाली गाउँपालिकाको मचेडी देउसी खोल्सी र ठुलो खोलामा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ । 

कालिगण्डकी कोरिडोरको विभिन्न ठाउँमा गएको पहिरोले तरखोलामा राखिएको होमपाइप बगाएको छ  । जसले गैँडाकोट रामपुरको बाटो अवरुद्ध भएको छ । हुप्सेकोट गाउँपालिका–५ पाङ्ग्रेस्थित दलदले–डेढगाउ भित्री सडक खण्डमा अविरल वर्षाका कारण माथिबाट पहिरो आइ बाटो पूर्ण रुपमा अवरोध भएको छ । 

त्यसैगरी गैँडाकोट नगरपालिका –३ च्यान डाँडामा सालको रुख ढलेकाले सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक शुकबहादुर गुरुङले बताउनुभयो । पहाडी क्षेत्रमा पहिरोका कारण अहिले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्लाको बुलिङ्टार–३ भाङबारिमा खहरेखोलामा आएको बाढीले तीन घर पूर्णरुपमा क्षति भएको र अन्य घरहरू पनि जोखिममा रहेका छन् । अविरल वर्षासँगै नारायणी नदीको जल सतह बढ्दा गैँडाकोट –२, ७ ,९ र १० मा समेत डुबान भएको छ । गैँडाकोट –२, स्थित सुकुम्वासी बस्तीमा बाढी पसेसँगै सो क्षेत्रका करिब सय घरपरिवार विस्थापित भएका छन् ।

विस्थापित भएका घर–परिवारलाई नजिक रहेको महेन्द्र स्मारक विद्यालयमा राखिएको प्रहरीले जनाएको छ । चारवटा वडाका विभिन्न क्षेत्र बाढीले प्रभावित भएको छ । बाढीका कारण प्रभावित हुनेको सङ्ख्या अझै यकिन नभएको नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । 

यसैगरी कावासोती नगरपालिका–१५ र १७ अमलटारी क्षेत्रमा नारायणीको बाढी पसर ४० घर डुबानमा परेको छ । उद्धार कार्य जारी रहेको छ ।