• १२ असोज २०८१, शनिबार

कर्मचारी तन्त्र आलोचित छ : मुख्य सचिव अर्याल

blog

मुख्य सचिव एक नारायण अर्याललाई पालिकाले सम्मान गर्दै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, असोज १२ गते । 
नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्यालले कर्मचारीतन्त्र आलोचित रहेको बताउनुभएको छ ।

मुख्य सचिव अर्यालले पढ्नुभएको मावली गाउँ आँधीखोला गाउँपालिकाले आयोजना गरेको सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा शनिबार मुख्य सचिव अर्यालले आफू निजामती कर्मचारीको उच्च पदमा रहेको र आलोचनालाई कम गर्न सक्दो प्रयास गर्ने बताउनुभयो ।

विगतको जस्तो पुरानो कार्यशैलीले कार्य सम्पादन हुन नसक्ने बताउनुहुँदै अर्यालले सेवाग्राही कुरेर नबस्ने र प्रविधि मार्फत मनमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

मावली गाउँबाट पाएको आर्सीवादलाई खेर जान नदिने बताउनुहुँदै अर्यालले ७७ जिल्ला नै हेर्नुपर्ने र आफू खेलको माटो आँधीखोला तथा अध्ययन गरेका दुई विद्यालयलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो ।

जीर्ण स्कुल र धुलोमा बसेर अध्ययन गरेको स्मरण गर्नुहुँदै सो स्कुल पढ्दा यो स्थानमा पुग्ने नसोचे पनि गुरुहरूले यहाँ ल्याएको अर्यालले बताउनुभयो । असम्भव केही नरहेको बताउनुहुँदै अर्यालले मेहनत र लगनशीलता नै मुख्य कुरो भएको बताउनुभयो ।

मुख्य सचिव अर्यालले कृष्ण बन्दु जस्ता गुरुले आफूलाई यो ठाउँमा पुर्‍याएको जिकिर गर्नुभयो । विगतमा दुर्गम आधीखोला अहिले राम्रो र विकसित भएको बताउनुहुँदै अर्यालले पालिका र जिल्लाको विकासमा सधैँ सहयोग गरेको र अझ धेरै गर्ने बताउनुभयो ।

गण्डकी प्रदेश सार्वजनिक लेखा समिति सभापति सुधीरकुमार पौडेलले यहीको धुलो माटोमा खेलेर मुख्य सचिव बन्नुभएका अर्याललाई आफ्नो कार्यकालमा सुशासन अग्रिम देश बनाउन आग्रह गर्नु भयो ।

जिल्लावासीका केही अपेक्षा रहेको बताउनुहुँदै पौडेलले सिद्धार्थ राजमार्गलाई चार लाइन र पालिकाका केही सडक तथा पर्यटनको विकासमा सहयोगको आग्रह गर्नुभयो ।

मुख्य सचिव अर्यालका शिक्षक कृष्ण बन्दु पौडेलले उहाँ सानैबाट मिजासिलो र बहुप्रतिभाशाली रहेको बताउनुभयो । आफ्नो विद्यार्थी ठुलो बनोस् भन्ने चाहना हुने बताउँदै पौडेलले सबैले सोचेको ठाउँ पुगेको र मुख्य सचिव बन्नुभएको बताउनुभयो । पौडेललेले कर्तव्यनिष्ठ भएर काम गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष विश्वराज पौडेल, उपाध्यक्ष  सीता थापा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, शिक्षक एक नारायण पौडेल, मुख्य सचिवको श्रीमती मायादेवी अर्याल लगायतले मन्तव्य राख्नु भएको थियो ।

मुख्य सचिव भए पश्चात् पहिलो पटक जन्म जिल्ला र मावली पालिका आउनुभएका अर्याललाई पालिकाले सम्मान गरेको हो । पालिकाले मुख्य सचिव अर्याललाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको हो ।