• १२ असोज २०८१, शनिबार

मनाङमा सिजनको पहिलो हिमपात

blog

मनाङमा यो सिजनको पहिलो पल्ट हिउँ पर्दा ।

यदुप्रसाद भट्ट

मनाङ, असोज १२ गते । देशभर वर्षा भइरहँदा मनाङमा भने यस सिजनको पहिलो हिमपात भएको छ । एकातिर हिमपातका कारण नार्पाभूमि गाउँपालिकाका बासिन्दा प्रभावित बनेका छन् भने अर्कोतिर पर्यटकलाई होल्ड गरेर राखिएको छ । 

शुक्रबार १ सय ८ र शनिबार ६७ पर्यटक मनाङका विभिन्न स्थानमा पुगेका छन् । प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले पर्यटकलाई आवश्यक सूचना लिएर मात्र गन्तव्य तय गर्न सुझाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै सुरक्षा निकायलाई स्थिति आङ्कलन गर्न र सूचना सङ्कलन गर्न निर्देशन गरेका छौँ ।’ 

प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार नार्पाभूमिका ग्रामीण बस्ती साथै मनाङ ङिस्याङ गाउँपालिका केन्द्र हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको छ । चक्रीय अन्नपूर्ण पदमार्गको थोलाङला क्षेत्र र तिलिचोताल क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

प्रजिअ आचार्यले शुक्रबार १ सय ८ र शनिबार ६७ जना विदेशी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा गर्न मनाङ प्रवेश गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक्यापलाई पर्यटनको क्षेत्रमा विशेष सूचना सङ्कलन गर्न र आवश्यक समन्वय गर्न भनेका छौँ ।’ उहाँले हिमपातको समयमा सतर्क रहन पर्यटक र नागरिकलाई आग्रह गरिएको बताउनुभयो ।

मनाङमा केन्द्रीय विद्युत अवरुद्ध हुँदा ८–१० घण्टा अलमल भए पनि हाल सुचारु भएको छ । मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डेदेखि माथिल्लो क्षेत्र र नार्पाभूमि गाउँपालिकामा हिमपात भएको छ । विशेषगरी शुक्रबार रातिदेखि परेको हिमपातले नार र फूगाउँ ढकमक्कै ढाकेको नार्पाभूमि गाउँपालिका वडा १ नारका वडाध्यक्ष फुर्वाठेले लामाले बताउनुभयो । 

उहाँका अनुसार डेढ फुटसम्म हिउँले ढाकेको छ । मेता र गाउँपालिका केन्द्र च्याखुमा पनि हिमपात भइरहेको छ । वडाध्यक्ष लामाले चिसो बढेको तथा भित्र्याउन राखेको बालीनाली सबै खेतमै हिउँले पुरेको बताउनुभयो । घरमा ल्याएको बालीनाली पनि अलपत्र परेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी वडा ५ फूगाउँका वडाध्यक्ष सोनमतेजे लामाले पनि हिउँले स्थानीय प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार हिउँ धेरै पर्दा बाटामा ढुङ्गा झरेर दुर्घटना हुन सक्ने तथा हिउँ पहिरो पनि जान सक्ने भएकाले बाटोमा आवत–जावत बन्द भएको छ । 

त्यसैगरी नार्पाभूमिका चौँरीहरू हिउँका कारण दुई दिनदेखि भोकै रहेको लामाले बताउनुभयो । यतिखेर फूगाउँका चौँरीहरू जिम्मुखर्कमा रहेका छन् । काङ्ला पास गर्ने पर्यटक नारमै रोकिएका तथा हिमलुङ हिमाल चढ्न जाने पर्यटक भने हिँडेको नार्पाभूमि गाउँपालिका अध्यक्ष कोन्जोतेन्जिङ लामाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘यो हिउँ पर्ने समय त होइन । हिमपात भएर चिसो बढेको छ । पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले हिउँले पर्यटक आवागमनलाई खासै फरक नपरे पनि बालीनाली भने समस्यामा पारेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बेला न कुबेला हिउँ पर्नाले गहुँ र फापर थन्क्याउन समस्या भयो, हिउँ जम्यो, बरबाद बनायो ।’ 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मनाङले पर्यटकलाई सतर्क रहेर यात्रा तय गर्न आग्रह गरेको छ ।