• १२ असोज २०८१, शनिबार

राप्ती राजमार्ग एकतर्फी सञ्चालन

blog

सडक भासिएपछि अवरुद्ध राप्तीराजमार्ग एक तर्फी सञ्चालनमा आएको छ । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, असोज १२ गते ।
 सडक भासिएपछि  अवरुद्ध भएको राप्तीराजमार्ग एक तर्फी सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण सल्यान कपुरकोट र दाङको सीमामा पर्ने राम्री नजिकै सडक भासिएपछि अवरुद्ध भएको थियो । जेसिभीको सहायतामा भित्ता काटेर काम चलाऊ सडक निर्माण गरेपछि राप्ती राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो । 

‘‘सडक सञ्चालनमा आएसँगै गाडीहरू अहिले चल्न थालेका छन् । भासिएको स्थानको माथिल्लो भागबाट सडक काटेर अहिले एकतर्फी गाडी सञ्चालन भइरहेको छ ।,’’ जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले भन्नुभयो, ‘‘लगातार वर्षाका कारण सडक भासिदा शुक्रबार राति १२ बजेदेखि राप्ती राजमार्ग अवरुद्ध भएको थियो ।’’

भासिएको स्थान नजिकै तथा आसपासका क्षेत्रमा अहिले पनि उच्च जोखिम भएकाले सतर्कता अपनाउँदै गाडी चलाउन स्थानीय सरकारले गाडी व्यवसायीलाई आग्रह गरेका छन् ।

कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले तत्काल भासिएको सडक छेउबाट पर्खाल उठाउन सक्ने सम्भावना कम देखिएकै कारण यात्रुहरूको सुविधाका लागि भित्ताबाट सडक काटेर यातायात सुचारु गरिएको बताउनुभयो । उहाँका अनुसार दुई तर्फी रूपमा गाडी सुचारु गर्नका लागि काम भइरहेको छ ।

यसगरी, राप्ती राजमार्गको कपुरकोट–राम्री सडक खण्डमा ३ दिनका लागि ठुला सवारी साधन सञ्चालन रोक लगाइएको छ । वर्षाका कारण राप्ती राजमार्गको कपुरकोटदेखि राम्रीसम्मको सडक पहिरोले क्षतिग्रस्तभएपछि सडक डिभिजन कार्यालय दाङले मर्मतका लागि उक्त सडक खण्डमा तीन दिनका लागि ठुला सवारी साधन सञ्चालनमा रोक लगाएको छ । बिहीबार सूचना प्रकाशन गरेर कार्यालयले ठुला सवारी साधन (टिपर, ट्रक) सञ्चालनमा रोक लगाएको हो ।

कपुरकोटदेखि राम्रीकोबिचमा पहिरो जाने मात्र नभई सडक समेत भासिएकाले रोक लगाइएको सडक डिभिजन कार्यालय दाङ सूचना अधिकारी इन्जिनियर उज्वलकुमार झाले बताउनुभयो । उहाँका अनुसार भारवहन गाडीलाई रोक लगाएपनि अन्य गाडीहरू भने सुचारु रहेका र यात्रुहरू आउजाउ गरिरहेका छन् ।

ठुला सवारी साधनका कारण भासिएको सडक अझ बढी क्षति हुनसक्छ । चाडपर्व नजिकिँदै गरेको बेला लामो समयसम्म सवारी साधन चल्न नसक्ने हुनसक्छ । त्यही भएर समयमै सजगता अपनाउँदै टिपर, ट्रक जस्ता भारवहन गाडीलाई रोक लगाउनु परेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।