• १२ असोज २०८१, शनिबार

पहिरोले घर बगायो

blog

इलाम नगरपालिकामा आपूर्ति गरिएको खानेपानीको पाइप बाढीले बगाउँदा ।

कोकिला ढकाल

इलाम, असोज १२ गते । इलामको माङसेबुङ गाउँपालिका–५ मा वर्षासँगै आएको पहिरोले एक घर बगाएको छ । माङसेबुङ–५ का सुवास खेसाङ राईको घर पहिरोले बगाएको इलामका प्रहरी प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । 

पहिरोमा परी घरमा पूर्ण क्षति भए पनि मानवीय क्षति हुनबाट जोगिएको छ । अविरल वर्षापछि आएको बाढीले गर्दा इलाम नगरपालिकामा आपूर्ति गरिएको खानेपानी अवरुद्ध भएको छ । राते खोला र मेवा खोलामा आएको बाढीले खानेपानीको पाइपलाइन बगाएपछि खानेपानी अवरुद्ध भएको इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले जानकारी दिनुभयो । 

यता पुवाखोलामा आएको बाढीका कारण इलाम नगरपालिका –४ स्थित पिपुल्स पावर लिमिटेडको पावर हाउसमा फसेका दुई जना कर्मचारीको उद्धार गरिएको प्रवक्ता दुलालले बताउनुभयो । उहाँका अनुसार मेची राजमार्गको पुवाखोला–साँखेजुङ सडक खण्ड अन्तर्गत बन्चरे गोलाइमा १५ मिटर जति राजमार्ग पहिरोको जोखिममा परेको छ । 

उक्त स्थानमा माथिबाट आएको भेल र लेदोले राजमार्गमा क्षति गरेको र ठुला सवारी साधन सञ्चालनमा बाधा पुगेको दुलाले जानकारी दिनुभयो । यता मेची राजमार्ग अन्तर्गत माइखोला राजदुवालीमाथिको सडक खण्डमा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध सडकलाई एकतर्फी खुलाइएको छ । 

माइखोला माथिपट्टिको ग्याबिन जालीको ढुङ्गासहित पहिरो खसेको हो । हिजो बेलुका १० बजेदेखि यहाँ सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । अविरल वर्षाका कारण मेची राजमार्गका अन्य विभिन्न स्थानमा पनि पहिरो खसेको जनाइएको छ । इलाम नगरपालिका –४ स्थित पुवाखोलानजिक पनि राजमार्गमा खसेको पहिरो हटाइएको छ ।