• १२ असोज २०८१, शनिबार

नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ : कार्यवाहक प्रधानमन्त्री सिंह

blog

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह।

काठमाडौँ, असोज १२ गते । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटनाबाट जनधनको क्षति हुन नदिन तीन तहकै सरकारले समन्वय गरेर काम गरिरहेको बताउनुभएको छ । बिहीबारबाट अविरल जारी वर्षापछि देशभरका विभिन्न स्थानमा ठुलो क्षति पुगिसकेको भन्दै सरकारले आवश्यक पहलकदमी गरिरहेको बताउनुभएको हो ।

कार्यवाहक प्रधानमन्त्री सिंहले अविरल वर्षाका कारण देशका विभिन्न भागमा धेरै ठुलो क्षतिहरू भएको र ठाउँठाउँमा पहिरो, बाढी आइरहेको भन्दै सतर्क रहन आग्रह गर्नुभयो । उहाँले सरकारले मोबाइलमा उच्च जोखिम रहेका क्षेत्रका बासिन्दाहरूका लागि सूचना सम्प्रेषण गर्नुका साथै सञ्चारमाध्यमबाट पनि सूचना जारी गरेको उल्लेख गर्नुभयो ।

कार्यवाहक प्रधानमन्त्री सिंहले सडक सञ्जाल, पुलहरू बाढीले बगाएको र पहिरोका कारण सडक भासिएको हुनसक्ने भन्दै लामो यात्रा नगर्न र धैर्य धारण गरी सुरक्षित स्थानमा रहन आम नागरिकहरूसँग आग्रह गर्नुभयो । सरकारको तर्फबाट सबै निकायहरूलाई परिचालित गरेर नागरिकको सुरक्षाका लागि काम गरिरहेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोन संवाद जारी रहेको र देशको विपदबारे जानकारी गराएको बताउनुभयो । प्रधानमन्त्री ओलीले सुरक्षा निकायलाई जनताको सुरक्षाका लागि खटाउन र आवश्यक व्यवस्थापन गर्न निर्देशन दिनुभएको जानकारी गराउन भयो ।

कार्यवाहक प्रधानमन्त्री सिंहले जनतालाई सुरक्षित राख्न र थप क्षति हुन नदिने गरी सरकारले आवश्यक काम गरिरहेको बताउनुभयो । बिहीबारदेखि भएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ ।

उपत्यकाका नदीहरूमा आएको बाढीले जनधनको ठुलो क्षति गरेको छ भने उपत्यकाका सडकहरू जलमग्न छन् । नदी किनारका बस्तीहरूमा बाढी पसेको छ । उपत्यकाभन्दा बाहिर पनि सडकहरू बाढीले बगाएको छ । जनधनको क्षति भइरहेको छ ।