• ७ मंसिर २०८१, शुक्रबार

विशिष्ट धार्मिक सहिष्णुता

blog

नेपाल अपूर्व धार्मिक सहिष्णुता भएको मुलुक हो । यहाँ धर्म र जातका नाममा विश्वका अन्य मुलुकमा जस्तो द्वन्द्व भएन । धार्मिक स्वतन्त्रतासँगै सहिष्णुताले भरिएको यो मुलुकमा स्वतन्त्रता र अधिकारका नाममा जात जातबिच, धार्मिक सम्प्रदायबिच द्वन्द्व गराउने खालका गतिविधि भने बेला बेलामा हुँदै आएका छन् । केही सीमित व्यक्ति वा समूहले यस्तो प्रयास गरे पनि त्यो समय अन्तरालमा सेलाउँदै जाने गरेको छ । यसको एउटै कारण वैदिक कालदेखि स्थापित, नाम जे दिइए पनि नेपाली समाजले अङ्गीकार गरेको परम्परा, अभ्यास र सामाजिक संस्कार हो । जात अनेक छन्, धर्म अनेक छन्, सम्प्रदाय अनेक छन्, भाषा, संस्कृति कला अनेक छन् तर ती सबैबिच सहिष्णुता छ, भाइचारा छ, सद्भाव छ, सहकार्य र सहयात्रा छ । 

विश्वका विभिन्न मुलुकमा धर्मका नाममा भयङ्कर द्वन्द्व छ । हाम्रै छिमेकी मुलुक भारतमा हिन्दु–मुस्लिम–सिखबिच सहिष्णुता छैन । यसको कारण के हो ? कारण एउटै छ, धर्मका नाममा राजनीतिको रोटी सेक्न पल्केकाहरूले सोझा जनताको मन मस्तिकमा थोपरिदिएको विद्वेषको राग । यसैको परिणाम एउटै मुलुकमा बस्ने जनता धर्मका नाममा, जातका नाममा हिंसा मच्चाउँछन् । यसको विपरीत नेपालमा कुनै एक पर्व विशेषलाई हरेक धर्म, जातका मानिसले आआफ्नै किसिमले मनाउँछन् । नेपाल शान्त छ, सहिष्णु छ । नेपाली जनतामा कायम रहेको धार्मिक तथा सामाजिक सद्भाव विश्वकै लागि उदाहरणीय हो । 

वेदले ‘वसुधैव कुटुम्बकम्’ को मन्त्र दिएको छ र हामी नेपाली यही मन्त्रमा अभ्यस्त छौँ । चाहे हिन्दु हुन्, चाहे बौद्ध, किराँत, जैन वा मुस्लिम नै । नेपालमा हरेक धर्मावलम्बीले अर्को धर्मावलम्बीको सम्मान गर्दछन् । सांस्कृतिक पर्वहरूमा सामेल हुन्छन् र आपसमा खुसी साटासाट गर्दछन् । यही विशिष्ठ अभ्यास नै नेपालको शक्ति हो । हतियार र डलरले पनि यो शक्ति कमजोर बनाउन सक्दैन । नेपालको प्रमुख धर्मावलम्बी हिन्दु, बौद्ध र किराँतहरू एउटै धार्मिक थलोमा आआफ्नै किसिमले आस्था प्रकट गर्दछन् । हिन्दु धर्मावलम्बीले किराँतेश्वर महादेवको पूजा गर्दछन् किराँतहरूले महादेवलाई आफ्नो पुर्खा ठान्छन् । यस्तै हिन्दु धर्मले बुद्धलाई विष्णुको दसौँ अवतार मानेको छ ।

यसैले त नेपालका बहुचर्चित धार्मिक स्थलमा हिन्दु, बौद्ध किराँतहरूको समान सहभागिता हुन्छ । आआफ्नै विशेषता र मान्यता अनुसार पूजा आराधना हुने गर्दछ । यस्ता धार्मिक थलोका उदाहरण दिनुपर्दा खोटाङको हलेसीधाम, मुस्ताङको मुक्तिनाथधाम प्रमुख हुन् । खोटाङ जिल्लामा अवस्थित हलेसी धार्मिकस्थलका रूपमा मात्र हैन गुफाको प्राकृतिक भूबनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दु धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी अथवा मरातिक गुफा र किराँत धर्मावलम्बीले आदिम भूमि मान्छन् । हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ । किराँत, हिन्दु र बौद्ध धर्मावलम्बीको सङ्गमस्थल हलेसीधामका विषयमा तीनै धार्मिक सम्प्रदायको आआफ्नै कथन छ । हिन्दु धार्मिक किंवदन्ती अनुसार सत्य युगमा महादेव भाङ, धतुरोले मातेर अर्धचेत भएको अवस्थामा भस्मासुर नाम गरेको राक्षसले ‘मैले जसको टाउकोमा हात राख्छु, त्यो जलेर भस्म होस’ भन्ने वरदान मागे । भाङमा लट्ठ महादेवले पनि विचारै नगरी ‘तथास्तु’ भने तर वरदान पाएपछि भस्मासुरले महादेवकै टाउकोमा हात राख्न खोज्यो । भस्म हुने डरले महादेव भाग्दै जाँदा हलेसीको यसै डाँडालाई फोडेर चट्टानभित्र प्रवेश गरे र त्यहीँ अलप भए । त्यसैले यहाँ महादेवको बास रहेको विश्वास गरिन्छ ।

त्यस्तै बौद्ध धर्म अनुसार यस भूमिमा सयौँ वर्षअघि महान् बौद्ध गुरु पद्मसम्भवले बर्सौं तपस्या गरी बुद्धत्व प्राप्त गरेको पवित्र भूमि हो, बौद्व धर्मावलम्बीहरू यस गुफालाई मरातिक गुफाका नाममा एक पवित्र स्थान मान्छन् । किराँतका अनुसार ऐतिहासिक कालमा किराँतका पूर्वज खोक्चिलिप्पा, रैछाकुले, हेच्छाकुप्पा हलेसी गुफामा बसेको किंवदन्ती छ । यहाँ बर्सेनि किराँतको चाड उँभौली उँधौलीको अवसरमा खोटाङ, भोजपुर, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बुलगायतका किराँती भेला भई आफ्ना पितृलाई पुज्ने गर्छन् । त्यसैले पनि यहाँ बर्सेनि किराँत, बौद्ध तथा हिन्दु धर्मावलम्बी हजारौँको सङ्ख्यामा भित्रिन्छन् ।

हलेसीधाम गुफैगुफाको सङ्गम हो । बाक्लो जङ्गलले ढाकिएको थुम्कोको टाकुरामा आकाशतिर फर्केको एउटा ठुलो चट्टानको गुफा छ । त्यही गुफालाई हलेसी महादेव गुफा भनिन्छ । गुफाभित्र प्रवेश गरी करिब तीन सय फिट तल ओर्लिएपछि केही समथर ठाउँमा पुगिन्छ, जहाँ हजारभन्दा बढी मानिस अटाउन सक्छन् । गुफाभित्रको मन्द उज्यालो र समथर ठाउँमा महादेव र गणेशको प्राकृतिक मूर्ति एकैठाउँ अवस्थित छ ।

त्यहाँबाट दक्षिणतर्फको भित्तामा पार्वतीको स्थान छ । सो स्थानमा पार्वतीले गणेशजीका लागि दुध ल्याइरहेको जस्तो आकृति छ, जहाँ निःसन्तानले सन्तान माग्ने चलन छ । गुफाभित्रको उत्तरी कुनामा धर्मद्वार र पापद्वार छ । त्यस द्वारबाट धर्मात्माहरू छिर्न सक्ने र अधर्मी छिर्न नसक्ने किंवदन्ती छ । यसबाहेक जन्मद्वार, स्वर्गद्वार, कर्मद्वार, तेत्तिसकोटी देवताका प्रतिमूर्तिलगायतका विशेष महìवका ढुङ्गाका प्राकृतिक मूर्तिसमेत गुफाभित्र छन् । यहाँ एउटा चट्टानैचट्टानको थुम्को परेको डाँडामा अवस्थित छ । यस थुम्कोलाई कैलाश पर्वत भन्ने गरिन्छ । यो थुम्कोको परिधि झन्डै एक किलोमिटर जति छ र उचाइ दुई सय फिट जति छ । यो थुम्कोमा अर्को एउटा ठुलो गुफा छ । यसलाई बसाहाथान भनेर चिनिन्छ । जुन गुफाको मुखमा बसाहलाई राखी महादेव आकाशमा निस्के भनिएको छ, त्यो वारपार छिचोलिएको गुफालाई बसाहा थान भनिन्छ । यो गुफाको मुखमा आज पनि एउटा अजङ्गको चट्टान छ र यसैलाई बसाहा भनी पुज्ने गरिन्छ । 

यस्तै मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ हिन्दु तथा बौद्धमार्गी दुवैका लागि एक महत्वपूर्ण तीर्थस्थल हो । समुद्री सतहदेखि तीन हजार ७१० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ मन्दिरलाई हिन्दुले मुक्ति क्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा ‘छुमिङ ग्यात्सा’ (जसको अर्थ हुन्छ ‘सय पानी’) भन्छन् । तिब्बती बौद्धमार्गीका २४ तान्त्रिक स्थानमध्ये ‘छुमिङ ग्यात्सा’ पनि एक हो । मुक्तिनाथ बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण स्थान किन पनि हो भने हलेसीमा तपस्या गरेका महान् बौद्ध भिक्षु पद्मसम्भव यसै ठाउँको बाटो भएर उत्तरी–पश्चिमी क्षेत्र हुँदै बौद्ध धर्मको प्रचारप्रसारका लागि तिब्बत जानुभएको थियो । मुक्तिनाथ वैष्णव सम्प्रदायको पनि प्रमुख मन्दिरहरूमध्ये एक हो । मुक्तिनाथ शालिग्रामका लागि प्रसिद्ध रहेको छ । मुक्तिनाथ हुँदै बहने कालीगण्डकी नदीमा पाइने शालिग्राम एउटा पवित्र शिला हो जसलाई हिन्दु धर्ममा पुजनीय मानिन्छ । हिन्दु धार्मिक मान्यताका आधारमा यो यस्तो क्षेत्र हो, जहाँ मानिसलाई मुक्ति अथवा मोक्ष प्राप्त हुन्छ । हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले समान आस्था राख्ने, आआफ्नै विधि, विधान र परम्परा अनुसार पूजा अनुष्ठान गर्ने मुक्तिनाथमा आजका दिनसम्म कुनै विवाद भएको छैन । यसको कारण नेपाली माटोमा कायम रहेका धर्म, संस्कृति, परम्परा र अभ्यासहरू आपसी सद्भाव, सहिष्णुता, भाइचारा कायम गर्दै हातेमालो गर्दै समाज विकासका लागि एकजुट हुन प्रेरित गर्ने, मानव मानवबिच कुनै विभेद छैन भन्ने नै हो ।

यति सुन्दर सामाजिक बनोट भएको, विविधतामा एकता कायम रहेको, एउटै थलोलाई स्थानीयवासीले आआफ्नो मान्यता, सभ्यता, संस्कार, संस्कृति अनुसार उपयोग गर्दै विश्वलाई नै उदाहरणीय सहिष्णुता देखाउन सफल रहेको नेपालमा राजनीतिक क्रान्तिपछिको अहिलेको समय कष्टकर छ । चेतना र विकासका नाममा धर्म परिवर्तन गराएर नेपालको मौलिक सभ्यता, संस्कार र संस्कृति नै मास्ने दुष्प्रयास अहिले जुन कायम छ, यसलाई चिर्न सबै नेपाली एक हुनुको विकल्प छैन । हामी अरूले घोकाइदिएको नाराको पछि लागेर होइन कि आफ्नो वास्तविकता बुझेर अघि बढ्नु पर्दछ । 

हरेक मन्दिरमा भगवान् बुद्धको मूर्ति किन राखिन्छ र हरेक गुम्बामा देवताका मूर्ति किन स्थापित भएका छन् ? बुझ्नुपर्ने कुरा यही हो । सहिष्णुता हिन्दु र बौद्धमा मात्र कुरा होइन, नेपालमा हिन्दु–बौद्ध–मुसलमानबिच पनि कुनै विवाद र वैमनस्यता छैन । सडकको वारि मन्दिर हुन्छ भने पारिपट्टि मस्जिद । न मन्दिरमा घन्किने भजनले मस्जिदलाई असर गरेको हुन्छ, न मस्जिदमा पढिने नमाजले मन्दिरलाई असर गरेको छ । दुवै आआफ्नै धार्मिक विधानलाई टेकेर आफ्नो दैनिकी गरिरहेका हुन्छन् । भारत, बङ्गलादेश वा म्यानमारमै हेर्ने हो भने हिन्दु–मुस्लिम वा मुस्लिम–बौद्धबिच ठुलो द्वन्द्व छ तर नेपालमा त्यस्तो छैन । कुनै कुनैबेला तराईका केही स्थानमा हिन्दु–मुस्लिम द्वन्द्व गराउने कुचेष्टा हुने गरिए पनि सबै धार्मिक समुदाय एक ठाउँमा भेला भएर त्यस्तो कुचेष्टा चिर्न सफल हुँदै आएका छन् । 

नेपालको सहिष्णुता मानव समाजको हित, सुरक्षा, उन्नति, समृद्धि र विकासका लागि उदाहरणीय छ । आफ्नो अस्तित्व तब रक्षा हुन्छ जब अरूको अस्तित्वको रक्षा र सम्मान गरिन्छ भन्ने मान्यता नेपालको सहिष्णु समाजले दिएको छ । यस्तो सद्भाव र सहिष्णुता अहिलेको विश्वले नेपालबाटै सिक्नु पर्दछ । पहिला मानव, अनि मात्र धर्म, जात भन्ने हामी नेपालीले बुझेका छौँ र त हामी सहिष्णु छौँ, शान्त छौँ, गरिब मुलुकवासी भए पनि खुसी छौँ ।   

Author

यादव देवकोटा