प्रविधि हस्तान्तरण एक देश वा संस्थाबाट अर्कोमा ज्ञान र सिप आदानप्रदान गरिने कार्य हो, जसमा नयाँ अनुप्रयोगमा पहिले नै विकसित प्रविधि कार्यान्वयन गर्न मद्दत गर्छ । यसको इतिहास मानव सभ्यताको सुरुवातसँगै जोडिएको छ । प्राचीन समयमा सुमेरियनहरूले कृषि प्रविधिको प्रारम्भ गरे, जसको प्रभाव अन्य सभ्यतामा पनि फैलियो ।
आधुनिक प्रविधि हस्तान्तरणको सुरुवात १८ औँ शताब्दीको औद्योगिक क्रान्तिबाट भएको मानिन्छ । त्यसताका बेलायतले कपडा उद्योगका मेसिन, धातु उत्पादनका प्रविधि र स्टिम इन्जिन जस्ता आफ्ना औद्योगिक प्रविधिलाई युरोप र अमेरिकामा हस्तान्तरण गर्यो । यसले औद्योगिक, यातायात र सञ्चार प्रविधिलाई विश्वव्यापी रूपमा फैलाउन मद्दत गर्यो ।
संयुक्त राज्य अमेरिकाले सन् १७९० मा बेलायतबाट औद्योगिक प्रविधि हस्तान्तरण सुरुवात गरी आफ्नो औद्योगिकीकरण प्रक्रिया प्रारम्भ गरेको थियो । प्रविधि हस्तान्तरणले अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रगाढ बनाउनुका साथै विश्वव्यापी आर्थिक विकासमा ठुलो योगदान पुर्याएको छ ।
नेपालमा प्रविधि हस्तान्तरणको सुरुवात
नेपालमा प्रविधि हस्तान्तरणको सुरुवात विशेष गरी १९५० को दशकदेखि भएको मानिन्छ । यो समयदेखि देशले खुला ढङ्गले विदेशी सहयोग तथा प्रविधि प्राप्त गर्न थालेको थियो । १९५० पछि नेपालमा शिक्षा, स्वास्थ्य सेवा, निर्माण प्रविधि र सञ्चारका क्षेत्रमा आधुनिक प्रविधि व्यापक रूपमा भित्र्याइएको देखिन्छ ।
प्रविधि हस्तान्तरणलाई प्रभावकारी बनाई अधिकतम फाइदा लिन सरकारले विज्ञान र प्रविधिको विकासका लागि विभिन्न कार्यक्रम अघि बढाएको छ । कृषि, जलविद्युत्, स्वास्थ्य, सूचना प्रविधिलगायतका क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय सहयोग र प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिएको छ । नेपालमा प्रविधि हस्तान्तरणको सुरुवात मुख्यतया पश्चिमी देश र छिमेकी राष्ट्र भारतबाट भएको थियो ।
नेपालमा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनी व्यवस्था
नेपालमा प्रविधि हस्तान्तरणलाई प्रोत्साहन र व्यवस्थापन गर्न विभिन्न कानुनी प्रावधान रहेका छन् । नेपालको संविधानमा बौद्धिक सम्पत्तिलाई सम्पत्तिको मौलिक हकका रूपमा अङ्गीकार गर्नु र प्रविधि हस्तान्तरणलाई राज्यका नीतिमा उल्लेख हुनुबाट नै यसको महत्व कति छ भनी आकलन गर्न सकिन्छ ।
राष्ट्रिय बौद्धिक सम्पत्ति नीति, २०७३ ले कानुनको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत स्पष्टता गरेको छ । प्रतिलिपि अधिकार ऐन, २०५९, पेटेन्ट, डिजायन र ट्रेडमाक ऐन, २०२२ र प्रतिलिपि अधिकार ऐन, २०५९ मार्फत बौद्धिक सम्पत्ति अधिकारको संरक्षणको व्यवस्था गरिएको छ । यसका साथै, उद्योगसम्बन्धी ऐन, २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले पनि नेपालमा प्रविधि हस्तान्तरणको प्रव्रिmयालाई व्यवस्थित र प्रोत्साहित गर्न पहल गरेका छन् । अनुसन्धान तथा विकाससम्बन्धी नीति, २०७५ ले नेपालमा प्रविधि नवीकरण र अनुसन्धानलाई अझ अगाडि बढाउन सहयोग गरेको छ ।
प्रविधि हस्तान्तरणको उद्देश्य
प्रविधि हस्तान्तरणको मुख्य उद्देश्य भनेको एक क्षेत्र वा राष्ट्रबाट अर्को क्षेत्रमा प्रविधि, ज्ञान, सिप र प्रयोगशालाको अनुभव पुर्याएर आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान गर्नु हो । यसले देशको औद्योगिकीकरणलाई टेवा दिन्छ, नयाँ अनुसन्धान र विकासको सम्भावना खोल्छ र दक्ष जनशक्ति निर्माणमा सहयोग पुर्याउँछ । साथै, विदेशी प्रविधिको उपयोगबाट देशलाई आत्मनिर्भर बनाउन मद्दत गर्छ ।
प्रविधि हस्तान्तरणको महत्व
प्रविधि हस्तान्तरणले विकासशील देशहरूलाई तीव्र आर्थिक विकासमा सहयोग पु¥याउँछ । प्रविधि हस्तान्तरणमा प्रविधिका साथसाथै नयाँ ज्ञान, सिप, बजार व्यवस्थापन पद्धति, अनुसन्धान प्रविधि पनि हस्तान्तरण हुन्छन्, जसले दिगो विकासका लागि आवश्यक प्राविधिक आधार तयार गर्छ । उदाहरणका लागि, कृषिमा आधुनिक प्रविधिको हस्तान्तरणले उत्पादन बढाउन मद्दत गरेको छ । स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधिको उपयोगले जनस्वास्थ्यमा सुधार ल्याएको छ । त्यसै गरी शिक्षा क्षेत्रमा ल्याइएको प्रविधिले शैक्षिक गुणस्तरमा वृद्धि गरेको छ र जलविद्युत् क्षेत्रमा ऊर्जा उत्पादनलाई बढावा दिएको छ ।
प्रविधि हस्तान्तरणको फाइदा
१. आर्थिक विकास : प्रविधि हस्तान्तरणबाट प्राविधिकको दक्षता अभिवृद्धि हुन गई मेसिनरी औजारको अधिकतम प्रयोग र प्रक्रिया सरलीकृत हुन जान्छ । जसले मानवीय त्रुटिमा कमी आउन गई उत्पादनमा वृद्धि हुन जानुका साथै देशको आर्थिक विकासलाई गति दिन्छ ।
२. रोजगारीका अवसर : प्रविधि हस्तान्तरणले उत्पादनमा वृद्धि हुन गई विभिन्न क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना गर्छ, जसले बेरोजगारी घटाउन मद्दत पुर्याउँछ ।
३. विदेशी सहयोग : प्रविधि हस्तान्तरणबाट विदेशी लगानीकर्ता आकर्षित हुन्छन्, जसले विदेशी लगानी तथा सहयोग बढ्न गई देशको समग्र विकासमा योगदान पुर्याउँछ ।
४. लागत घटाउने : आधुनिक उपकरण र तिनको प्रयोग विधिहरूले स्रोतहरूको समुचित प्रयोगबाट उद्योगको श्रम, समय र लागत घटाउन र थप दिगो अभ्यासलाई प्रोत्साहित गर्न सहयोग पुर्याउँछ ।
५. उत्पादन गुणस्तरमा सुधार : प्रविधि हस्तान्तरणले उन्नत गुणस्तरको परीक्षण प्रक्रिया र गुणस्तर नियन्त्रण प्रणालीका कारण उत्पादनको गुणस्तरलाई निरन्तर रूपमा निगरानी गर्ने र सुधार गर्न सहज हुने भएकाले उत्पादनको गुणस्तरमा सुधार, एकरूपता तथा सोको निरन्तरता कायम गर्न सहयोग पुर्याउँछ ।
६. नियम पालना : प्रविधि हस्तान्तरणपश्चात् प्राविधिक, प्रशासनिकलगायत समग्र औद्योगिक कार्यमा संलग्न कामदार तथा प्रक्रियालाई प्रविधिमार्फत नियामक व्यवस्था परिपालना गराई उत्पादन प्रव्रिmयामा आइपर्ने समस्या सही तरिकाले समाधान गर्न सहज बनाउँछ ।
७. ज्ञान र सिप विकास : प्रविधि हस्तान्तरणबाट उपलब्ध स्रोतसाधनको अधिकतम उपयोगका साथै नयाँ प्रविधि तथा प्रक्रियासम्बन्धी तालिम प्रदान गर्छ । जसले कर्मचारीको ज्ञान र सिप अभिवृद्धि हुन गई उत्पादनमा सघाउन पुग्नुका साथै उच्च गुणस्तरका उत्पादन, उत्पादन गरी प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्न सहयोग पुर्याउँछ ।
८. सुरक्षा सुधार : उन्नत प्रविधिका मेसिनरी औजारमा कार्य गर्नु आफैँमा सुरक्षाका दृष्टिले जोखिमपूर्ण हुने हुन्छ । प्रविधि हस्तान्तरणबाट कर्मचारीलाई उपकरण प्रव्रिmया उपयोग गर्न प्रशिक्षण दिइने भएकाले कर्मचारीको सुरक्षाको स्तर बढ्नुका साथै आउन सक्ने जोखिम र सुरक्षा मापदण्डका बारेमा निगरानी र नियन्त्रण सुनिश्चित गरेर कार्यस्थल सुरक्षा सुधार गर्न मद्दत गर्छ ।
९. विस्तार योग्यता : प्रविधि हस्तान्तरणले उत्पादन प्रक्रियालाई अधिक लचिलो र अनुकूलनशील बनाउँछ । जसले उत्पादनको आकार, मात्रा र विविधतालाई छिटो परिवर्तन गर्न सक्षम बनाउने भएकाले गुणस्तरलाई कायम राख्दै उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी माग बढी भएको अवस्थामा उत्पादन विस्तार गर्न सक्ने क्षमता अभिवृद्धि गर्छ ।
१०. अनुसन्धान र विकास अवसर : प्रविधि हस्तान्तरणले कर्मचारीलाई अनुसन्धान र विकासका अवसरको ज्ञान, सिप र व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने भएकाले नयाँ बजारको खोजी र विस्तार गर्न र बजारको मागलाई मध्यनजर गरी सो अनुरूपको उत्पादन गर्ने दक्षता अभिवृद्धि हुन जान्छ ।
प्रविधि हस्तान्तरणको आवश्यकता
नेपाल जस्ता विकासशील देशको आफ्नै प्रविधि विकास गर्ने क्षमता कमजोर हुने भएकाले विकास प्रयासमा प्रविधि हस्तान्तरण एक उपयुक्त माध्यम हुन सक्छ । आधुनिक प्रविधिको प्रयोग नगर्दा समग्र विकास प्रक्रियामा पछाडि परिने मात्र नभई औद्योगिकीकरण, कृषि आधुनिकीकरण, शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य सेवा सुधार, सहरी विकास तथा दिगो विकासमा पनि पछाडि परिन्छ । तसर्थ नयाँ प्रविधिको हस्तान्तरणले यी क्षेत्रमा प्रगति हासिल गर्न महत्वपूर्ण भूमिका खेल्छ ।
प्रविधि हस्तान्तरणको औचित्य
विकासशील देशमा अध्ययन अनुसन्धानमा दक्ष जनशक्तिको अभाव, वित्तीय स्रोतको कमीका कारण राष्ट्रको सर्वाङ्गिण विकास गर्न कठिनाइ हुन्छ । दक्ष जनशक्तिको अभावले वैज्ञानिक अनुसन्धान र विकासमा पछि परिनुका साथै बाह्य निर्भरता बढ्छ । यस कारण प्रविधि हस्तान्तरणलाई विकास प्रयासमा एक उपयुक्त औजारको रूपमा लिन सकिन्छ । प्रविधि हस्तान्तरणले सिप र दक्ष जनशक्ति विकासमा पनि योगदान पु¥याउने हुँदा यसले दिगो आर्थिक विकासका लागि नयाँ ढोका खोल्न मद्दत गर्नुका साथै देशलाई आत्मनिर्भरता तर्फ अग्रसर गराउँछ ।
प्रविधि हस्तान्तरणका विषय
प्रविधि हस्तान्तरणमा समावेश हुने विभिन्न पक्षमा व्यवस्थापकीय कार्य, उत्पादन प्रक्रिया, मेसिनरी औजारको चयन तथा सञ्चालन प्रक्रिया, अनुसन्धान र विकास प्रविधि र दक्षता अभिवृद्धि पर्छन् ।
प्रविधि हस्तान्तरण प्रक्रिया
प्रत्यक्ष र अप्रत्यक्ष गरी विशेषतः दुई प्रकारले प्रविधि हस्तान्तरण प्रक्रिया हुने गर्छन् । प्रत्यक्ष प्रक्रियामा संस्थाले सिधै नयाँ प्रविधि अपनाउने गर्छ । अप्रत्यक्ष हस्तान्तरण जसमा ज्ञान र सिपको आदानप्रदानका लागि प्रशिक्षण, गोष्ठी र अनुसन्धान जस्ता कार्यक्रमार्फत गरिन्छ । यसका लागि सम्बन्धित देश वा संस्थाबिच सम्झौता वा समझदारी गरी गर्ने गरिन्छ ।
प्रविधि हस्तान्तरणका लागि चाहिने वातावरण
प्रविधि हस्तान्तरणलाई उद्देश्य अनुरूप सफलतापूर्वक कार्यान्वयन गर्न कानुनी, नीतिगत र आर्थिक वातावरण तयार पार्नु पर्छ । कानुनी रूपमा बौद्धिक सम्पत्ति अधिकारको सुरक्षा, प्रतिलिपि अधिकारको संरक्षण र प्रविधिको दर्ता प्रक्रिया सहज र सरल बनाइनु आवश्यक हुन्छ । नीतिगत रूपमा लगानी मैत्री वातावरण निर्माण गरिनु पर्छ । अनुसन्धान तथा विकासमा सरकारी सहयोगको सुनिश्चितता हुनु पर्छ । यसले प्रविधि हस्तान्तरणलाई गति दिनुका साथै दीर्घकालीन विकासका लागि मार्ग प्रसस्त गर्छ ।
प्रविधि हस्तान्तरणबाट उद्योगलाई हुने फाइदा
प्रविधि हस्तान्तरणले उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गर्छ । यसले उत्पादन प्रक्रियामा सुधार ल्याउनुका साथै दक्ष जनशक्ति तयार पार्न मद्दत गर्छ र उत्पादनमा श्रम, समय र लागत घटाउन सहयोग पु¥याउँछ । बाह्य प्रविधिको प्रयोगले अन्तर्राष्ट्रिय बजारमा उद्योगको प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुन्छ ।
प्रविधि हस्तान्तरणबाट देशलाई हुने फाइदा
विदेशी मुलुक वा संस्थाले लामो समयको अध्ययन र अनुसन्धान पछि प्रयोगमा ल्याई सफलता हासिल गरेको प्रविधि भित्र्याएर छोटो समयमा नै आफ्नो औद्योगिक क्षमता विकास गर्न सकिन्छ । जसबाट राष्ट्रिय उत्पादनमा वृद्धि, रोजगारीका अवसर सिर्जना र आर्थिक विकासमा मद्दत पु¥याउँछ । साथै, देशलाई आत्मनिर्भर बनाउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्धनमा योगदान पु¥याउँछ ।
प्रविधि हस्तान्तरणबाट हुन सक्ने बेफाइदा
१. सांस्कृतिक तथा सामाजिक प्रभाव : नयाँ प्रविधिको हस्तान्तरणबाट स्थानीय परम्परागत सांस्कृतिक मान्यता र प्रथाहरूमा असर पर्न सक्छ ।
२. अनुकूलता चुनौती : स्थानीय वातावरण र पूर्वाधारसँग प्रविधिको अनुकूलन चुनौतीपूर्ण हुन सक्छ । नयाँ प्रविधि लागु गर्दा स्थानीय सन्दर्भमा काम नगर्न सक्छ ।
३. आत्मनिर्भरता बढ्नु : विकासशील राष्ट्रहरू प्रविधि हस्तान्तरणमा पूर्ण निर्भर हुँदा स्वतन्त्र रूपमा नवप्रवर्तन गर्न सक्दैनन् । जसले दीर्घकालीन रूपमा आत्मनिर्भरता बढ्ने सम्भावना रहन्छ ।
४. रोजगारीमा असर : आधुनिक प्रविधिको प्रयोगले परम्परागत कामदारको रोजगारीमा असर पर्न सक्छ । स्वचालन र नयाँ प्रविधिले मानिसको स्थानमा मेसिन र रोबोट प्रयोग गर्न सक्ने सम्भावना रहन्छ ।
५. आर्थिक असमानता : प्रविधि हस्तान्तरणबाट धनी देशहरूले बढी फाइदा उठाउन सक्छन् । गरिब देशहरूले आर्थिक स्रोतको कमीले नयाँ प्रविधि भित्र्याउन नसकेर आर्थिक असमानता बढ्न सक्छ ।
६ बौद्धिक सम्पत्ति अधिकारको मुद्दा : प्रविधि हस्तान्तरण गर्दा बौद्धिक सम्पत्तिको अधिकारमा विवाद हुन सक्छ । विदेशी कम्पनीहरूले आफ्नो प्रविधिको प्रयोगका लागि उच्च शुल्क लिन सक्छन् ।
७. साइबर सुरक्षा जोखिम : प्रविधि हस्तान्तरणमा डिजिटल प्राविधिक उपकरणहरूको समावेश हुँदा साइबर सुरक्षासम्बन्धी चुनौती उत्पन्न हुन सक्छन् । संवेदनशील डाटा चोरीको जोखिम रहन्छ ।
८. नक्कली उत्पादन : प्रविधि हस्तान्तरणले स्वदेशी उत्पादनमा नक्कल गर्ने प्रविधिको प्रयोगको जोखिम बढ्ने सम्भावना प्रबल रहन्छ । प्रविधि हस्तान्तरणका केही बेफाइदाहरू भए पनि यसले नवप्रवर्तनलाई गति दिन र विकास प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
प्रविधि हस्तान्तरणका समस्या तथा चुनौती
१. पूर्वाधारको अभाव : विकासशील देशहरूमा आवश्यक पूर्वाधारको कमी प्रविधि हस्तान्तरणका लागि बाधक हुन सक्छ । विद्युत्, यातायात, इन्टरनेट र सञ्चार जस्ता आधारभूत पूर्वाधारको कमीले प्रविधि सफलतापूर्वक कार्यान्वयन गर्न कठिनाइ उत्पन्न हुन सक्छ ।
२. स्थानीय जनशक्तिको कमी : विकासशील देशमा प्रविधि हस्तान्तरण ग्रहण गर्न सक्ने दक्ष जनशक्तिको अभाव हुन सक्छ । जसले प्रविधि व्यवस्थापन र सञ्चालनमा चुनौती आउन सक्छ ।
३. वित्तीय चुनौती : प्रविधि हस्तान्तरण प्रायः महँगो हुने भएकाले विकासशील देशले लगानी गर्न नसक्ने हुन सक्छ । साथै कानुनले नै एउटा निश्चित प्रतिशत रकमभन्दा बढी प्रविधि हस्तान्तरणमा खर्च गर्न नपाउने बन्देज पनि चुनौतीको रूपमा रहेको छ ।
४. बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी समस्या : आफ्नो प्रविधिको सुरक्षार्थ प्रविधि हस्तान्तरण गर्ने देश तथा संस्थाले अधिक मूल्य र विभिन्न सर्त राख्न सक्छन् । यसले गर्दा विकासशील देशले नयाँ प्रविधि उपयोग गर्न सक्दैनन् ।
५. सांस्कृतिक र भाषागत अन्तर : स्थानीय सांस्कृतिक र भाषालाई नयाँ प्रविधिले सम्बोधन गर्न नसकेमा स्थानीय मानिसले नयाँ प्रविधि अस्वीकार गर्न सक्छन् ।
७. पारदर्शिता र कानुनी संरचना : प्रविधि हस्तान्तरणमा पारदर्शिता, झन्झटिलो प्रक्रिया र कानुनी अस्पष्टता पनि चुनौतीको रूपमा रहेको छ ।
८. साइबर सुरक्षा : नयाँ प्रविधि सूचना प्रविधिमा आधारित हुने हुँदा विशेष गरी तथ्याङ्क चोरी, ह्याकिङ वा साइबर आक्रमण जस्ता जोखिम आउन सक्छन् ।
बौद्धिक सम्पत्ति अधिकार
प्रविधि हस्तान्तरणमा बौद्धिक सम्पत्ति अधिकारको पनि महत्वपूर्ण भूमिका रहन्छ । बौद्धिक सम्पत्ति अधिकारले आविष्कार, नवप्रवर्तन, कलात्मक कार्य, साहित्यिक कृति र औद्योगिक डिजाइनमा व्यक्तिको अधिकार सुरक्षित गर्छ । प्रविधि हस्तान्तरणका क्रममा एक देश वा संस्थाबाट अर्को देशमा प्रविधि हस्तान्तरण गर्दा बौद्धिक सम्पत्तिको संरक्षण प्रमुख सर्त मानिन्छ ।
नेपालमा बौद्धिक सम्पत्ति अधिकारको संरक्षणका लागि विभिन्न ऐन नियममार्फत कानुनी व्यवस्था गरिएको छ तर कार्यान्वयनको पक्ष त्यति प्रभावकारी भएको महसुस हुन सकेको छैन । यस क्षेत्रमा सुधार गर्न कानुनी संरचनाको सुदृढीकरण, प्रविधिको सही प्रयोग र बौद्धिक सम्पत्तिको दुरुपयोग रोक्ने प्रविधिको प्रयोगतर्फ ध्यान जानु आवश्यक देखिन्छ ।
अन्त्यमा
प्रविधि हस्तान्तरण कुनै पनि देशको दिगो आर्थिक विकास र औद्योगिकीकरणका लागि महत्वपूर्ण औजार हो । यथेष्ट स्रोतसाधनको अभावले विकासशील देशले आफैँ प्रविधि विकास गर्न कठिनाइ हुने हुँदा अन्य देशबाट प्रविधि प्राप्त गरी विकास गर्नु उपयुक्त हुन जान्छ । नेपाल जस्ता मुलुकले कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा र उद्योग जस्ता क्षेत्रमा प्रविधि हस्तान्तरणमार्फत विकास गर्न सक्ने प्रबल सम्भावना देखिन्छ ।
प्रविधि हस्तान्तरणबाट विकासको सम्भावनालाई मध्यनजर गरी प्रविधि हस्तान्तरणलाई प्रभावकारी बनाउन कानुनी, आर्थिक र संस्थागत पूर्वाधारमा ध्यान जानु अत्यावश्यक छ । नेपालमा प्रविधि हस्तान्तरणका लागि नीतिगत अस्पष्टता, कुशल जनशक्ति अभाव र सीमित आर्थिक स्रोतहरू चुनौतीका रूपमा रहेका छन् । यी समस्या र चुनौती समाधान गर्न प्रविधिको हस्तान्तरण गर्दा सहकार्य, योजना, र दीर्घकालीन सोच आवश्यक हुन्छ ।
साथै, प्रविधि हस्तान्तरण सफलतापूर्वक कार्यान्वयनको सुनिश्चित गर्न बौद्धिक सम्पत्ति अधिकारको प्रभावकारी कार्यान्वयनमा ध्यान पुग्नु जरुरी छ । उल्लिखित विषयवस्तुमा ध्यान दिएर कार्यान्वयन गर्न सकेमा नेपाल जस्ता विकासशील देशहरूले प्रविधि हस्तान्तरणलाई आफ्नो दीर्घकालीन विकासको आधारस्तम्भ बनाउन सक्छन्, जसले राष्ट्रको समग्र विकास र आत्मनिर्भरतामा सहयोग पुग्नेमा विश्वास गर्न सकिन्छ ।