• १२ असोज २०८१, शनिबार

ओडारमा ओत लागेका दुई चेपाङसहित तीनजना बेपत्ता

blog

अविरल वर्षाको क्रममा खसेको पहिरो

मुरारी अधिकारी 

धादिङ, असोज ११ गते । अविरल वर्षाको क्रममा खसेको पहिरोले पुरिएर शुक्रबार धादिङमा दुईजना चेपाङ र खोलाले बगाएर एकजना बालिका बेपत्ता भएका छन् ।

भल आएको नदीमा माछा मार्न हिँडेका बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ पहिरोमा परेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिनुभएको छ । नदीमा माछा मार्न जान लागेका उनीहरु निरन्तरको वर्षाका कारण गजुरी गाउँपालिका वडा नम्बर २ गुम्बाडाडाँमा रहेको ओडारमा ओत लागेर बस्दा एक्कासि पहिरो आउँदा उनीहरु पहिरोमा पुरिएका हुन् । पहिरोले पुरिएपछि बेपत्ता दुई जनाको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा पर्ने घट्टेखोलाले  बगाएपछि एक बालिका बेपत्ता भएकी छिन् । खोलाले बगाएका  दुईजना भने पौडिन सफल भएका छन । खोलाले बगाएकी बालिकाको स्थानिय द्वारा खोजि गरिरहेका छन् । खोलाले उनीहरु सवार मोटरसाइकल पनि बगाएको छ ।