• ११ असोज २०८१, शुक्रबार

एक महिनामा भित्रियो करिब एक खर्ब सैँतिस अर्ब रेमिट्यान्स

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ११ गते । एक महिनाकै अवधिमा करिब एक खर्ब ३७ अर्ब रुपियाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।  

नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १८ प्रतिशतले वृद्धि भई एक खर्ब ३६ अर्ब ९३ करोड रुपियाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह एक अर्ब दुई करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रुपियाँ रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २२ हजार ६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४८ अर्ब ४९ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १२८ अर्ब २१ करोड रुपियाँ रहेको थियो ।

चालु खाता बचतमा

समीक्षा अवधिमा चालु खाता ३० अर्ब ८९ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोड रुपियाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १० करोड १३ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड चार लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रुपियाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर २७ करोड २६ लाख रुपियाँ कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) दुई अर्ब ६५ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३० करोड ५१ लाखले बचतमा रहेको छ ।

आयात र निर्यात घट्यो

आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा कुल वस्तु निर्यात ९.६ प्रतिशतले घटेर १२ अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ८.७ प्रतिशतले कमी आएको थियो । यस्तै समीक्षा अवधिमा कुल वस्तु आयातमा ०.६ प्रतिशतले कमी आई एक खर्ब २८ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १.६ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ४.४ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.० प्रतिशत र ०.४ प्रतिशतले वृद्धि भएको छ ।

सञ्चिति बढ्यो

चालु आर्थिक वर्षको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०८१ साउन मसान्तमा २० खर्ब ९२ अर्ब २२ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ साउन मसान्तमा २.० प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ साउन मसान्तमा १.९ प्रतिशतले वृद्धि भई १८ खर्ब ८३ अर्ब ४२ करोड पुगेको छ ।

बैङ्क तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ साउन मसान्तमा ८.४ प्रतिशतले वृद्धि भई दुई खर्ब आठ अर्ब ७९ करोड कायम भएको छ । २०८१ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।