• ११ असोज २०८१, शुक्रबार

गाजाको विद्यालयमा भएको इजरायली आक्रमणमा सातको मृत्यु

blog

फाइल तस्बिर

गाजा पट्टी (प्यालेस्टिनी अधीनस्थ क्षेत्र), असोज १० गते । इजरायलले एउटा विद्यालय-आश्रयस्थमा बिहीबार गरेको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको गाजाका नागरिक सुरक्षा उद्धारकर्ताहरु बताएका छन् । यद्यपि इजरायली सेनाले हमास कमान्ड केन्द्रलाई लक्षित गरेको बताएको छ । 

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणबाट युद्ध सुरु भएपछि घेराबन्दीमा परेको गाजा पट्टीका २४ लाख जनसङ्ख्याको ठूलो हिस्सा कम्तीमा एक पटक विस्थापित भएको छ र तीमध्ये धेरैले विद्यालय भवनहरुमा आश्रय लिएका छन् । “उत्तरी गाजाको जबालिया शिविरमा रहेको अल-फलुजा विद्यालयलाई लक्षित गरी भएको इजरायली मिसाइल आक्रमणमा बालबालिकासहित सात जना सहिद भए भने धेरै घाइते भएका छन्”, नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सलले भन्नुभयो ।

इजरायली सेनाले अल-फलुजा विद्यालयमा रहेको कमान्ड-एन्ड कन्ट्रोल केन्द्रभित्र सक्रिय हमास लडाकूहरूलाई लक्षित गरी ‘सटिक आक्रमण’ गरेको बतायो । सैन्य विज्ञप्तिमा हताहतीका बारेमा कुनै जानकारी दिइएको थिएन । बिहीबार भएको आक्रमण गाजामा करिब एक वर्षदेखि जारी युद्धमा विस्थापितहरूलाई आश्रय दिइरहेका विद्यालय भवनहरूमा भएका इजरायली आक्रमणहरुको शृङ्खलामा यो पछिल्लो थियो ।

प्यालेस्टिनी शरणार्थीहरूका लागि राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएले सेप्टेम्बर ११ मा मध्य गाजाको संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित अल-जौनी विद्यालयमा भएको इजरायली आक्रमणमा मारिएका १८ मध्ये आफ्ना छ जना कर्मचारी रहेको बताएपछि अन्तर्राष्ट्रिय आक्रोश बढेको थियो । इजरायली सेनाले हमासमाथि हजारौँ गाजाबासीहरुले आश्रय लिइरहेका विद्यालय भवनहरुमा लुकेको आरोप लगाउँदै आएको छ भने ती आरोपलाई हमासले अस्वीकार गरेको छ । रासस/एएफपी