• ११ असोज २०८१, शुक्रबार

दसैँ अगाडि सबै सडक खाल्टाखुल्टी रहित बनाइसक्छौँ : भौतिकमन्त्री

blog

पत्रकार सम्मेलनमा उपस्थित भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल । तस्बिर : विजयकुमार साह

वियकुमार साह
ढल्केबर, असोज १० गते ।
 भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दसैँ अगावै देशभरका सबै सडकलाई खाल्टाखुल्टी रहित बनाइ सक्ने बताउनुभएको छ । सङ्घीय सरकार मातहत रहेका पूर्वपश्चिम लोकमार्ग लगायतका सबै सडकलाई एक साताभित्र खाल्टाखुल्टी रहित बनाइसक्ने दाबी उहाँले गर्नुभयो ।

बिहीबार धनुषाको लालगढमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले अहिले देशभरि करिब पाँच हजार किलोमिटर सडक मर्मतको क्रममा रहेको जानकारी गराउनुभयो । चाडपर्वमा सडक दुर्घटनाका कारण मानवीय क्षति नहोस् भनेर दसैँ अगावै सडकका सबै खाल्टाखुल्टी पुर्ने लक्ष्य रहेको मन्त्री दाहालले बताउनुभयो ।

‘‘दसैँ, तिहार र छठ जस्ता चाडपर्व नजिकिएको छ । चाडपर्वमा सवारी आवागमन चाप बढ्ने भएकाले सडकलाई खाल्टाखुल्टी रहित बनाउन लक्षित गरी काम गरिरहेका छौँ । त्यसमा हाम्रो जिम्मामा रहेका जति पनि सडकहरू छन् त्यसको मर्मत सम्भार पहिलो प्राथमिकता राखेका छौँ ।,’’ उहाँले भन्नुभयो,  ‘‘निर्माणाधीन सडकहरूको सन्दर्भमा ठेक्का पाएका निर्माण कम्पनीलाई बाटो सहज बनाउन निर्देशनसमेत गरिएको छ । त्यसमा सञ्चारकर्मीले पनि सकारात्मक कोणबाट सडकको अवस्थाबारे औँल्याएदिए सहयोग पुग्ने छ ।’’

आयोजित पत्रकार सम्मेलनमा मधेशको प्रसङ्ग जोड्दै मन्त्री दाहालले मधेश समृद्ध नहुञ्जेसम्म मुलुक समृद्ध हुन नसक्ने बताउनुभयो । देशको समृद्धि मधेशसँग जोडिएका बताउनुहुँदै उहाँले भन्नुभयो, “मधेशमा ठुलो सङ्ख्यामा जनताको बसोबास छ । यहाँको जनताको समृद्धि नै नेपालको समृद्धि जोडिएको विषय हो । त्यस कारण मधेशलाई व्यवस्थित बनाउनका लागि थुप्रै योजनाका कामहरू भइरहेको छ ।’’ हुलाकी राजमार्ग र रेल सेवा बिस्तारको काम भइरहेको उहाँको भनाइ छ ।

रेलमार्ग विस्तार र हुलाकी राजमार्गमा केही अवरोध र समस्यादेखि देखिएको उल्लेख गर्नुहुँदै उहाँले धनुषाको कमला नदीको पुलको अवलोकन गरी समस्या समाधानका उपाय खोजिने उहाँले बताउनुभयो । यहाँ भौतिक पूर्वाधारका क्षेत्रमा भएका तथा हुन लागेका कामहरूको सन्दर्भमा के कस्तो भइरहेको छ भनेर त्यसको अध्ययनका लागि मधेश भ्रमणको सुरु यहीँबाट सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।