• ११ असोज २०८१, शुक्रबार

जग्गा भोकाधिकारको समस्याले घोडाघोडी नगरअस्पताल निर्माण कार्यमा ढिलाइ

blog

२०७७ सालमा निर्माण सुरु भएको घोडाघोडी नगर अस्पताल बेस र पिलरमा सिमित । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य
घोडाघोडी (कैलाली), असोज १० गते ।
 तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७७ सालमा शिलान्यास गरिएको घोडाघोडी नगरअस्पताल जग्गा भोकाधिकारका कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानीमा २०७७ साल मङ्सिर १५ गते तत्कालीन कैलाली क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवम् पूर्व कृषि मन्त्री गौरीशङ्कर चौधरीले अस्पतालको शिलान्यास गर्नुभएको थियो ।

७५३ वटै पालिकामा अस्पताल निर्माण गर्ने सरकारको नीति अनुसार अस्पताल निर्माण थालनी भएको थियो ।  छिमेकी पालिका बर्दगोरिया, लम्कीचुहामा  अस्पताल निर्माणले पूर्णता पाउँदै गर्दा एउटै समयमा सुरु भएको घोडाघोडी नगर अस्पतालको निर्माण कार्य जगमै सीमित देखिन्छ ।

घोडाघोडी नगरपालिका योजना शाखाका प्राविधिक किशोर भट्टले सुरुको वर्ष एक करोड बजेट आएर निर्माण कम्पनीले जगसम्मको कामगरे पनि डिपिआर र जग्गा भोकाधिकारमा समस्या देखिएपछि निर्माणका लागि रकम नआएको जनाउनुभयो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत सबै स्थानीय तहमा निर्माण हुने अस्पतालको तत्कालीन अवस्थामा डिएफआईडीको सहयोगमा नेपाल हेल्थ सेक्टर सर्पोट कार्यक्रममार्फत केही समयका लागि विशेषज्ञ भाडामा लिएर अस्पताल निर्माणको जग्गाको कागजात, भवनको डिजाइन अवधारण पास गराउने व्यवस्था गरिएको थियो ।

घोडाघोडी नगरअस्पतालको जग्गा, डिजाइन अवधारणा हेर्नु भएका विशेषज्ञ जुम गुरुङले घोडाघोडीको जग्गाको कागजात र भवन डिजाइन अवधारणा अधुरो रहेको बताउनुभयो ।

कार्य जिम्मा दिएको समयावधिका कारण कन्सल्टेन्टको रूपमा काम गरेका प्राविधिकहरूले जस्ताको त्यस्तै रिर्पोट बुझाएका थिए । घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावतले करिब चारविगाह क्षेत्रफल रहेको नगरअस्पातल निर्माण हुने जग्गा ऐलानी रहेको र भोकाधिकारका लागि सबै प्रक्रिया पुरागरी फायल सङ्घीय मन्त्रालयमा पठाएको बताउनुभयो । उहाँले भोकाधिकारका लागि आधिकारिकता प्राप्त हुनासाथ निर्माणको काम अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

कुल १८ करोड लगानीमा १५ शय्या नगर अस्पतालको दुईवटा भवन बन्ने निर्माण योजनामा पहिलो भवनका लागि नौ करोड ५३ लाखमा निर्माणको ठेक्का राजेन्द्र निर्माण सेवा ले पाएको थियो । तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का लिएपनि रकम नआएपछि निर्माण अगाडि बढ्न सकेको छैन । घोडाघोडी स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले निर्माण कम्पनीले ८० लाख पेस्की लगेको बताउँदै पेस्की बराबरको काम नगरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो “ ठेकेदारले आफूले पैसा लगाएर काम नगर्दा पनि योजना निर्माणमा ढिलाइ भएको हो । पहिलो वर्ष आएको एक करोडमध्ये ८० लाख पेस्की लगेको छ , त्यति बराबरको काम पनि भएको छैन, ठेकेदारले काम अगाडि बढाएको भए माथिबाट रकम पनि निकास हुने हो, कामनै नभए पनि केका आधारमा पैसा आउँछ र ।”

निर्माणाधीन अस्पतालसँगै रहेको पहिलाको स्वास्थ्य चौकी भवनबाट अहिले नगरअस्पतालको सेवा प्रवाह भइरहेको छ । तीन जना चिकित्सकसहितको स्वास्थ्यकर्मीले सेवा दिने उक्त नगर अस्पतालमा भौतिक संरचनाको अभावले साँगुरो ठाउँबाट सेवा दिन बाध्य भएको जनाएका छन् ।

उक्त अस्पतालमा असोज १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमसमेत लागू भएको छ । अस्पतालका प्रमुख डा. हेमनाथ आचार्यले भौतिक संरचनाको अभावमा पनि आफूहरूले बिरामीलाई गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिइरहेको बताउनुभयो ।