म्याग्दी, असोज १० गते । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङ्ग्रा छन् । घुम्ती गोठमा पालेको च्याङ्ग्रा बेचेर उहाँले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउँदै आउनुभएको छ ।
“वर्षमा ४० जति च्याङ्ग्रा बिक्री हुन्छ,” उहाँले भन्नुभयो “घरव्यवहार चलाउने र छोराछोरी पढाउने खर्च च्याङ्ग्रा पालनबाटै जुटाउने गरेको छु ।” ३५ वर्षीय डिण्डुपले विदेश नगई पुर्खाले गर्दै आएको च्याङ्ग्रापालनलाई निरन्तरता दिनुभएको हो ।
याराका डिण्डुपले जस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको प्रायजसो घरमा च्याङ्ग्रा पालेका छन् । दशै तिहारमा पोखरा, काठमाडौलगायत देशका विभिन्न जिल्लामा मासुका लागि मुस्ताङका किसानले पालेका च्याङ्ग्राको उच्च माग हुन्छ ।
सडक यातायात र बजारको सुविधासँगै च्याङग्रा पाल्ने पेशा व्यवसायिक बन्न थालेको लोघेकर दामोदरकुण्ड –४ घाराका पेमा छिरिङ गुरुङले बताउनुभयो । “पहिले दशैं तिहारका लागि एक महिना पहिलेनै च्याङग्रा हिडाएर म्याग्दी, पर्वत, बागलुङ, कास्कीका गाउँबस्ती र पोखरामा लैजाने गरिन्थ्यो,” उहाँले भन्नुभयो “अहिले गाउँबाटै प्रतिगोटा रु. ३३ देखि ३५ हजारमा च्याङ्ग्रा बिक्री भइरहेको छ ।”
तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुने गर्छ । जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोसिलो, तागतिलो र स्वस्थर मानिन्छ । दशैँ तिहारमा हिमाली च्याङ्ग्राको मासुुको खपत बढी हुुने गर्छ । बर्खामा समुद्री सतहदेखि छ हजार मिटर उचाइको हिमालको फेदमा पुग्ने च्याङ्ग्रा गोठहरु असोज लागेपछि बेंसीतर्फ झार्ने गर्छन् ।
तीन/चार वटा घरले वार्षिक रुपमा रु. एक लाख पचास हजार ज्याला दिएर च्याङ्ग्रा हेर्न गोठाला राखेका छन् । स्थानीयका साथै म्याग्दी, बागलुङ, रुकुम, रोल्पा, धादिङबाट कामको खोजीमा मुस्ताङ पुग्नेहरु च्याङग्रा गोठाला बस्ने गर्छन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मुस्ताङमा १२ वटा मिश्रित ठूला च्याङ्ग्रा फार्म छन् । २० देखि ५० वटाको सङ्ख्यामा च्याङ्ग्रा पाल्ने कृषकहरुको सङ्ख्या धेरै रहेको केन्द्रका प्रमुख पशु चिकित्सक डा. लालमणि अर्यालले बताउनुभयो ।
उहाँका अनुसार मुस्ताङमा हाल ५० हजार च्याङ्ग्रा पालिएको छ । थासाङ बाहेक, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा व्यावसायिक च्याङ्ग्रापालन भएको छ । यसवर्षको दशै तिहारका लागि मुस्ताङबाट च्याङ्ग्रा निकासी हुन थालेको छ ।
बुधबारसम्म तीन सय ९७ च्याङग्रा निकासी गर्न स्वास्थ्य परीक्षण गरि सिफारिस दिएको केन्द्रका प्रमुख अर्यालले बताउनुभयो । स्वास्थ्य परिक्षण गरेर निरोगी पशुु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ ।
स्थानीय व्यापारीले गाउँका किसानहरुबाट खरिद गरेर जोमसोममा च्याङग्रा ल्याउन थालेका छन् । देशका विभिन्न ठाउँका ब्यापारीहरुले जोमसोममा खरिद गरेका च्याङग्रा हिडाएर म्याग्दीको बेनीसम्म ल्याउँछन् ।
बेनी देखि ट्रकमा राखेर देशका विभिन्न बजारमा च्याङग्रा लैजाने गर्छन् । मुस्ताङबाट गत वर्ष रु। २० करोड भन्दा बढी मूल्य बराबरको सात हजार च्याङग्रा निकासी भएको थियो । यसपालीको दशै तिहारका लागि १० देखि ११ हजार च्याङग्रा निकासी हुने अनुमान गरिएको केन्द्रका प्रमुख अर्यालले बताउनुभयो । मुगु र डोल्पाको च्याङग्रा पनि मुस्ताङ हुदै बजार पठाउने गर्छन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङग्रा जोन र स्थानीय तहका पशु सेवा शाखाहरुले मुस्ताङमा च्याङग्रापालन विस्तार र प्रर्वद्धन सम्बन्धी कार्यक्रममा जोड दिएका छन् ।
पिपिआर रोग विरुद्धको निःशुल्क खोप लगाउने ब्यवस्था मिलाएको भेटेरीनरी अस्पतालले च्याङग्राको नश्ल सुधार गर्न स्रोत केन्द्र स्थापना गर्ने, घुम्ती गोठ सुधार र घुम्ति पशु स्वास्थ्य शिविर सञ्चालन गरेको प्रमुख अर्यालले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङग्रा जोन कार्यक्रमले परम्परागत रुपमा हुदै आएको च्याङग्रापालनलाई व्यवस्थित र व्यवसायिक बनाई गुणस्तरीय मासु, ऊन र पश्मिना उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ चार वर्षअघिदेखि लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा विभिन्न गतिबिधी गर्दै आएको छ ।
च्याङग्राको पाठापाठी उत्पादनका लागि स्रोत केन्द्र स्थापना गर्नुका साथै च्याङग्रालाई बन्यजन्तुको आक्रमण र हिउँद याममा चिसोबाट बचाउन खोर सुधार गर्न जोड दिइएको परियोजनाका प्रमुख नेत्र भट्टले बताउनुभयो । हिमचितुवाको आक्रमणबाट च्याङग्रा मर्ने समस्या र हिउँदको समयमा आहराको ब्यवस्थापन मुस्ताङको च्याङग्रापालनमा चुनौतिका रुपमा देखिएको किसान तथा कृषि प्राविधिकहरुले बताएका छन् । रासस