• ११ असोज २०८१, शुक्रबार

उच्चस्तरीय व्यवस्थापन समूहको बैठक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १० गते । सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयलाई विशेष ध्यान दिएर अर्थ मन्त्रालयका नीति तथा कार्यक्रम र गतिविधिमा समावेश गरी अघि बढाउने निर्णय अर्थ मन्त्रालयले गरेको छ ।

अर्थ मन्त्रालयमा बुधबार बसेको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले अर्थ मन्त्रालयले एक दिनमा गर्ने कार्यक्रममा पनि न्यूनतम साझा कार्यक्रममा उल्लिखित विषयलाई समावेश गरी कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

२०८१ असोज २ गते कार्यदलले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको थियो । 

सोही दिन बसेको मन्त्रीपरिषद्को बैठकले सरकारको न्यूनतम कार्यक्रम पारित गरी कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सरकारको न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्रलाई चलायमान बनाउने, युवा साझेदारी कार्यक्रमलाई अघि बढाउनेलगायतका विषय छन् । बैठकले एक सय दिनमा सम्पन्न गर्नुपर्ने कार्यक्रम, अन्तरमन्त्रालय समन्वय, राजस्व परिचालन, पुँजीगत खर्च, अर्थ मन्त्रालयको वार्षिक बजेटको कार्यान्वयनलगायतका विषयलाई विशेष प्राथमिकता दिने निर्णय गरेको छ ।