• १३ माघ २०८१, आइतबार

चिया बेचेरै मासिक सत्तरी हजार

blog

खजुरा समाचारदाता

खजुरा, असोज १० गते । राजापुर नगरपालिका–२, नयाँगाउँ बर्दिया स्थायी घर भई हाल नेपालगन्जको कारकाँदोमा डेरा गरी बस्ने ३० वर्षीय रीता चौधरीले चिया बेचेरै मासिक ७० हजार रुपियाँ कमाउनुहुन्छ ।

देशमा केही रोजगार छैन, काम पाइँदैन भन्दै दैनिक हजारौँ युवायुवती रोजगारीका लागि विदेश जाँदै गर्दा ३० वर्षीय युवती रीता भने हातमा चियाको थर्मस लिएर नेपालगन्जको सडक सडकमा चिया बेच्दै मासिक ७० हजार रुपियाँसम्म कमाइ गर्नुहुन्छ ।

बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म नेपालगन्ज बजारमा डुलेर चिया बेच्ने रीताले दैनिक १२५ कपदेखि १५० कपसम्म चिया बेच्नुहुन्छ । एक कपको २० रुपियाँमा चिया बेच्ने गरेको बताउनुहुन्छ रीता । 

“बिहान ५ बजे डेराबाट चिया लिएर निस्किन्छु, ५:१५ बजे पुष्पलाल चोकस्थित बस छुट्ने ठाउँमा पुग्छु, एक डेढ घण्टा त्यहाँ चिया बिक्री गर्छु, त्यसपछि बसपार्क पुग्छु र बसपार्कमा पुगेर पसल पसलमा चिया बिक्री गर्दै ९ बजे कोठामा पुग्छु,” रीताले भन्नुभयो ।

श्रीमान् र साढे नौ वर्षकी छोरीका साथ बस्दै आएकी रीताले चिया बेचेर आएको आम्दानीबाट घरखर्च गर्न र छोरीको पढाइ खर्च गर्न सजिलो भएको बताउनुभयो । “श्रीमान्को पनि सानोतिनो जागिर छ, म किन श्रीमान्को मुख ताक्ने भनेर श्रीमान्कै सल्लाहमा यो काममा लागेँ, छोरीलाई सरकारी स्कुलमा भर्ना गरेका छौँ, ६ कक्षामा पढ्ने छोरीको खर्च, आफ्नो खर्च र घरखर्च गर्नसमेत मेरो कमाइले मद्दत पुगेको छ,” रीताले भन्नुभयो ।

बर्दियाको राजापुरमै १० कक्षासम्म मात्र पढेकी रीताले विवाहपछि पढाइलाई अगाडि बढाउन नसकेको बताउनुभयो । गत जेठ महिनाबाट बजार डुलेर चिया बेच्न थालेको र थोरै लगानीमा चिया बेचेरै मासिक हजारौँ रुपियाँ आम्दानी हुने भएपछि दीर्घकालीन रूपमै यो पेसा गरिरहने उहाँको भनाइ छ ।

थोरै लगानीमा अलिकति मेहनत गरेर चिया बेचेरै मासिक हजारौँ रुपियाँ आफूले कमाइ गर्दै आएको भन्दै रीताले अरू युवालाई पनि देशमै सानातिना पेसा व्यवसाय गरे यहीँ कमाउन सकिने भएकाले लाज नमानेर काम गर्न आग्रह गर्नुभयो ।