• ११ असोज २०८१, शुक्रबार

दुग्ध क्षेत्रको समस्या समाधान गर्न सबैको पहल आवश्यक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १० गते । ‘नियमित दुध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन’ भनी मूल नाराका साथ नेपाल डेरी एसोसिएसनले विभिन्न कार्यक्रम गरी १० औँ ‘विश्व स्कुल दुध दिवस’ सम्पन्न गरेको छ । 

विश्व स्कुल दिवसको अवसरमा नेपाल डेरी एसोसिएसन र नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गत कृषि उद्यम केन्द्रको सहकार्यमा ‘दुग्ध क्षेत्रको भविष्य, वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या, समाधान र चुनौती’ विषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्रले विश्व स्कुल दुध दिवसको अवसरमा सरोवावालाबिच दुग्ध क्षेत्रमा रहेका समस्याको पहिचान गरी समाधानको विषयमा सान्दर्भिक कुरा आएको बताउनुभयो । सबैले आआफ्नो काम सही तरिकाले गरेमा कहिले कसैलाई असहज नहुने कुरा बताउँदै उहाँले मन्त्रालयमा आएका हरेक समस्याको समाधान गर्नु आफ्नो कर्तव्य भएको बताउनुभयो । उहाँले दुधका निजी क्षेत्र डेरी उद्योगले बजारीकरणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उपभोक्तासम्म पहुँच पु¥याएर बजारमा ध्यान नदिएसम्म अहिले देखिएको दुध क्षेत्रको समस्या त्यति चाँडो समाधान नहुने बताउनुभयो ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले व्यवसायीले आफ्ना समस्या खुलस्त राख्दा त्यसलाई हल गर्न सजिलो हुने बताउनुभयो । समस्या मात्र देखाउने, उपायतिर नजाने भएपछि दुधको समस्या कहिले समाधान नहुने बताउँदै उहाँले दुध क्षेत्रमा देखिएको समस्या सबैले मिलेर समाधान गर्नु पर्छ, एउटा कुनै निकायले मात्र गरेर नहुने बताउनुभयो । 

उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले नेपाल डेरी एसोसिएसन वस्तुगत सदस्यमा चलायमान संस्था भएको र सधैँ आफ्नो व्यवसायको हकहितमा काम गरेको बताउनुभयो । निजी क्षेत्रका तर्फबाट एसोसिएसनलाई गर्नुपर्ने सबै किसिमका सहयोग महासङ्घका तर्फबाट निरन्तर रहिरहने उहाँले प्रतिबद्धता जनाउनुभयो । कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्कीले दुधको महìव र आवश्यकताबारे आफ्नो धारणा राख्नुभएको थियो । 

कार्यक्रमका सभापति एवं एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले कार्यक्रम गर्नुको उद्देश्य प्रस्ट पार्दै दुग्ध क्षेत्रको समस्या पहिचान गरी त्यसको समाधानमा एसोसिएसन सधैँ लाग्ने प्रतिबद्धता जनाउनुभयो ।