• ११ असोज २०८१, शुक्रबार

आज क्यान्सर सतर्कता दिवस

अर्बुद उपचारमा अग्रणी बन्दै सरकारी अस्पताल

blog

वसन्त पराजुली 

नारायणगढ, असोज १० गते । अर्बुद रोग अर्थात् क्यान्सरको उपचार सेवा नेपालमा संस्थागत रूपमा सुरु भएको २५ वर्ष पुग्दै गर्दा यसको उपचार पद्धतिमा नवीन रूपान्तरण आरम्भ भएको छ । केही वर्षअघिसम्म चितवनको भरतपुरमा मात्रै सीमित क्यान्सर उपचार सेवा अचेल देशैभर विस्तार भएको छ । 

देशमै पहिलो पटक २०५६ असोज १० गतेदेखि उपचार सेवा सुरु गरेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मात्रै केही वर्षअघिसम्म क्यान्सर रोगको पहिचान र निदान हुन्थ्यो । नेपाल चिकित्सक सङ्घका अध्यक्ष अनिलविक्रम कार्कीले अहिले देशैभरका अस्पतालले विशिष्ट सेवासहित क्यान्सरको उपचार सेवा दिन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले बिपी मेमोरियल क्यान्सर अस्पतालले आफ्नै सञ्जाल विस्तार गरेर क्यान्सरको उपचार सेवा प्रदेश स्तरमा पुर्‍याएको छ । अन्य सरकारी तथा निजी क्षेत्रका अस्पतालले पनि क्यान्सर उपचारलाई विशेष प्राथमिकतामा राखेका छन् । 

क्यान्सर अस्पतालका नाक, कान र घाँटीको क्यान्सर विशेषज्ञ डा. कार्कीले देशैभरका अस्पतालले क्यान्सरको उपचार सुरु गरेपछि अहिले उपचार तथा शल्यक्रिया सहज हुन थालेको बताउनुभयो । क्यान्सर अस्पतालले सुर्खेतको प्रादेशिक अस्पताल, पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीको सेती प्रादेशिक अस्पतालबाट पनि यसै वर्षदेखि सेवा विस्तार गरेको हो । त्यहाँ क्यान्सर अस्पतालकै दक्ष चिकित्सक पुगेर क्यान्सर पहिचान र उपचार गर्ने गरेका छन् । सरकारी तहमै भक्तपुर क्यान्सर अस्पताल, नेपालगन्जमा खजुरा क्यान्सर अस्पतालले सेवा दिइरहेका छन् । 

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगन्जले पनि क्यान्सर युनिट सञ्चालन गरेर सेवा दिन थालेका छन् । भरतपुरको क्यान्सर अस्पतालले जस्तै भक्तपुर क्यान्सर अस्पतालले पनि सेवा विस्तार गरी कोशी अस्पताल विराटनगर र नारायणी अस्पताल वीरगन्जमा पुर्‍याएको छ । 

चितवन मेडिकल कलेज क्यान्सर इन्स्टिच्युट, विराट क्यान्सर सेन्टर, पूर्वाञ्चल क्यान्सर सेन्टर, काठमाडौँ क्यान्सर सेन्टर, नेपाल क्यान्सर अस्पताल र नेसनल क्यान्सर अस्पतालले पनि अहिले निजी क्षेत्रबाट क्यान्सर रोगको अध्ययन अनुसन्धान, निदान र उपचारमा भरथेग सहयोग गरिरहेका छन् । 

राज्यको सहयोगपछि फर्किंदै छन् बिरामी

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक शिवजी पौडेलले नेपालमै क्यान्सरको प्रभावकारी उपचार सेवा रहेकाले क्यान्सरका बिरामी उपचारका लागि नेपालबाहिर जान नपर्नेे बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नेपालभित्रै क्यान्सर रोगको पहिचान र उपचार सेवा गुणस्तरीय र प्रभावकारी छ । यसैले भारत नै पुगेका बिरामी पनि धमाधम नेपाल फर्किएर उपचार गराउने अवस्था सिर्जना गराएका छौँ ।”

पूर्वी नवलपरासी कावासोतीका शिव पराजुलीले घाँटीको क्यान्सर भएपछि जेठ ३० गते भारत दिल्लीस्थित राजीव गान्धी मेमोरियल क्यान्सर अस्पतालमा शल्यक्रिया गराउनुभयो । त्यो शल्यक्रिया असफल भएपछि उहाँले पुनः भरतपुरकै क्यान्सर अस्पतालमा भदौ १७ गते शल्यक्रिया दोहोर्‍याउनु पर्‍यो । उहाँले भन्नुभयो, “दिल्लीमा पहिला खर्च बढी भयो, भाषाको पनि समस्या । उपचार विधि पनि दिल्लीभन्दा यहीँ सहज लाग्यो । नेपालमै शल्यक्रिया गराउँदा यहाँ भएका आफन्त भेट्न आउँदा पनि ठुलो भरोसा हुँदोरहेछ ।”

उहाँले दिल्लीमा पहिलो पटक घाँटीको शल्यक्रिया गराउँदा अस्पतालमा मात्रै पाँच लाख ५० हजार रुपियाँभन्दा बढी खर्च गरेको र नेपालमा उपचार गर्दा एक लाख रुपियाँ पनि खर्च नभएको बताउनुभयो । 

यसै गरी नेपालमा क्यान्सर उपचारका लागि नेपाल सरकार र प्रदेश सरकारले आर्थिक सहयोग गर्छन् । क्यान्सर जस्ता असाध्य रोगको उपचारमा सङ्घीय सरकारले एक लाख र प्रदेश सरकारले ५० हजार रुपियाँ बिरामीको उपचारमा सहयोग गर्छन् । 

रुपन्देहीको सियारी–९ का ८४ वर्षीय लेखनाथ उपाध्यायलाई १९ वर्षअघि भारतको गोरखपुरस्थित सर्वाङ्गीण अस्पतालले ‘प्रोस्टेट क्यान्सर’ भएकै कारण उपचार सम्भव नभएको दाबी गर्दै सबै रहर पूरा गरिदिन परिवारलाई भन्यो । परिवारलाई चित्त नबुझेपछि २०६२ सालमा भरतपुर क्यान्सर अस्पतालमा उपचारका लागि ल्याए, शल्यक्रिया पनि भयो । उहाँका छोरा कृष्ण खनालले शल्यक्रियापछि बुवाको स्वास्थ्यमा सुधार आएको बताउनुभयो । 

क्यान्सर रोगीको तथ्याङ्क छैन

नेपालबाट कति क्यान्सरका बिरामी भारत उपचारका लागि जान्छन् र कति फर्कन्छन् भन्ने यकिन तथ्याङ्क भेटिँदैन । अध्यक्ष डा. कार्कीले १० प्रतिशत रोगी उपचारका लागि भारत जाने गरेको बताउनुभयो । उहाँका अनुसार भारत जानेमध्ये पनि ७० देखि ७५ प्रतिशत बिरामी पुनः नेपालमै फर्किएर उपचार सुरु गरेका छन् । 

दक्षिण एसियाकै नमुना वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मात्रै विगत एक वर्षमा छ हजार २९४ क्यान्सरका नयाँ बिरामी भेटिएका छन् । अस्पतालको बहिरङ्ग विभागमा उपचार लिन आएका एक लाख ७२ हजार ५६ बिरामीमध्ये उल्लिखित सङ्ख्यामा क्यान्सर बिरामी भेटिएका हुन् । 

यसरी भेटिएकामध्ये छातीको क्यान्सर भएका ७१४, स्तन क्यान्सरका ७१२, पाठेघरको क्यान्सरका ६४८, ब्लड र बोनम्यारो क्यान्सर भएका ४३३ र पेटको क्यान्सर भएका ३२८ जना रहेको अस्पतालको तथ्याङ्कमा छ । पुरुषका हकमा छाती र महिलामा अझै पनि स्तन क्यान्सर नै पहिलो स्थानमा रहेको पाइन्छ ।

आज सतर्कता दिवस 

राष्ट्रिय क्यान्सर सतर्कता दिवस बिहीबार विभिन्न कार्यक्रम गरी देशैभरि मनाइँदै छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना भएको दिनलाई आधार मानी विगत २० वर्षदेखि यो दिवस मनाइँदै आएको छ ।

दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्पतालमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । यही अवसरमा क्यान्सर अस्पतालले आफ्नो रजत महोत्सव समारोह आयोजना गर्दै छ । चीन सरकारको सहयोगमा स्थापित यो अस्पतालले २०५६ असोज १० गतदेखि सेवा सुरु गरेको हो । यसको औपचारिक उद्घाटन २०५७ असोज १० गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हो ।