• ११ असोज २०८१, शुक्रबार

सुरक्षण मुद्रण छापाखानाका लागि बजेट व्यवस्थापन हुन्छ :सञ्चारमन्त्री गुरुङ

blog

सुरक्षण मुद्रण छापाखानाको अवलोकन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ। तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना 

बनेपा, असोज ९ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–५ मा निर्माणाधीन सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रिन्टिङ प्रेस) को अवलोकन गर्नुभएको छ। बुधबार निर्माणाधीन छापाखानाको अवलोकन गर्नुहुँदै मन्त्री गुरुङले बजेट नभएका कारण रोकिएको छापाखाना निर्माणको लागि अर्थ मन्त्रालयसँग बजेट माग गर्ने बताउनुभयो।  

“सुरक्षण मुद्रण केन्द्रका लागि चाहिने भनेर ल्याइएका उपकरण र भवन प्रयोगबिहीन, भद्रगोल र राज्य नभएको स्थितीमा रहेको पाइयो, बजेट नभएका कारण भवन निर्माणलगायतको काम पुरा हुन सकेको छैन, त्यसका लागि अर्थ मन्त्रालयसँग बजेट माग गर्दछौँ”, मन्त्री गुरुङले भन्नुभयो।  

उहाँले जीर्ण अवस्थामा र निर्माणको अन्तिम चरणमा रहेका भवनको काम पुरा गर्नका लागि बजेट माग गर्ने, केन्द्रमा आएका उपकरणलाई पूर्ण रुपमा सञ्चालनको परिस्थिति निर्माण गर्ने र ती उपकरण चलाउनका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको व्यवस्थापन गरिने बताउनुभयो।  उहाँले आगामी दुई वर्षभित्र सुरक्षण मुद्रण छापाखानालाई पूर्ण रुपमा सञ्चालन गरिने बताउनुभयो।  

“सुरक्षण मुद्रण केन्द्र अब चल्नुपर्छ, यो चल्नका लागि यसमा आइपरेका समस्या र बाधा हटाएर काम अघि बढाउने छौँ”, मन्त्री गुरुङले थप्नुभयो।  उहाँले छापाखाना सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार तथा उपकरण खरिदका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने प्रतिबद्धता जनाउनुभयो।  उहाँले पहिलो चरणमा हुला, अन्तःशुल्क, राहदानीलगायतका प्रमाणपत्र छापिने र दोस्रो चरणमा बैंक नोट छाप्नको लागि राष्ट्र बैंकसँग छलफल गरिने बताउनुभयो। 



 अनुगमनमा मन्त्रालयका सचिव राधिका अर्यालले अर्थ मन्त्रालयबाट बजेट विनियोजन नभएका कारण छापाखानाको काम रोकिएको र स्रोत सुनिश्चित नहुँदा अघिल्लो आर्थिक वर्षमा भएका कामको समेत भुक्तानी दिन बाँकी रहेको बताउनुभयो।  अनुगमनमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारी, मन्त्रीका सूचना प्रविधि विज्ञ डा. शालिकराम पराजुलीलगायतको उपस्थिति रहेको थियो।  

सरकारले राहदानी, बैँक नोट, अन्तःशुल्क स्टिकरलगायतका वस्तु छपाइ वापत विदेशी मुलुकमा जाने रकमलाई स्वदेशमा नै रोक्ने र सुरक्षण मुद्रण सम्बन्धी सेवा र वस्तु विदेशी बजारमा उपलब्ध गराएवापत देशमा आम्दानी गर्ने उद्देश्यल आर्थिक वर्ष २०७४÷०७५ देखि सुरक्षण मुद्रण छापाखाना स्थापनाको काम अघि बढाएको हो।