• ११ असोज २०८१, शुक्रबार

आपत्कालीन गोदामघरको गृहमन्त्री लेखकद्वारा उद्घाटन

blog

आपतकालीन गोदामघर। तस्बिरः रमेश पौडेल

रमेश पौडेल

पोखरा, असोज ९ गते। गृहमन्त्री रमेश लेखकले पोखरामा रहेको पुरानो विमानस्थल क्षेत्र भित्र निर्माण गरिएको आपत्कालीन गोदाम घरको भर्चुअल माध्यमबाट बुधबार उद्घाटन गर्नुभएको छ।  मौसमको खराबीका कारण पोखरा आउन नसकेपछि उहाँले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो। 

सो अवसरमा बोल्दै गृहमन्त्री लेखकले जलवायु परिवर्तनका कारण मानव समुदायमा आउने विपद् र जनधनको क्षति, सामाजिक र आर्थिक पक्षलाई प्रतिकार्य राहत उपलब्ध गराउन यस्ता आपत्कालीन गोदामघर प्रभावकारी बन्ने बताउनुभयो।  उहाँले बाढी, पहिरोदेखि लिएर विनाशकारी भूकम्प एवं महामारीको अवस्थामा आवश्यक रहने गोदामघरको उचित व्यवस्थापन गर्न सरकारले विकास साझेदार संस्थासँग मिलेर काम गरिरहेको बताउनुभयो। 

मन्त्री लेखकले आपत्कालीन बन्दोबस्ती सामग्रीको क्षमता अभिवृद्धि गर्दै खोज र उद्धारका उपकरणको भण्डारण, प्याकेजिङलगायतका सामग्रीको पूर्व तयारीका लागि जरुरी रहेको बताउनुभयो।  उहाँले गोदामघरलाई सङ्घ, प्रदेश र स्थानीय तहमा मात्रै नभई सामाजिक संघसंस्थाहरुको पहुँचमा पुर्‍याई सम्भावित क्षतिको न्यूनीकरणका लागि प्रभावकारी ढङ्गबाट प्रयोगमा लैजानुपर्नेमा जोड दिनुभयो। 

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा यस वर्ष मात्र बाढी, पहिरोका कारण सबैभन्दा धेरै जनधनको क्षति भएको बताउनुभयो।  यस वर्ष मात्रै प्रदेशमा ७३ जनाको ज्यान गएको, ३ जना बेपत्ता, ८२ जना घाइते र १७ करोड बराबरको क्षति भएको जानकारी उहाँले दिनुभयो।  मुख्यमन्त्री पाण्डेले विकास साझेदार, सङ्घ, प्रदेश र स्थानीयको समन्वयबाट सञ्चालन गर्नका लागि कार्यविधि बनाई अगाडि बढ्नुपर्ने बताउँदै एकद्धार प्रणाली लागु गरिएमा सम्बन्धित क्षेत्रका बासिन्दाले प्रत्यक्ष लाभ लिन सक्ने बताउनुभयो। 

त्यसैगरी युरोपियन युनियन नेपालका लागि राजदूत भेरुनिक लोरेन्जोले गण्डकी प्रदेशमा स्थापना भएको यस आपत्कालीन गोदामबाट विपद्को समयमा द्रुत तथा प्रतिकार्यलाई सहज बनाउने विश्वास व्यक्त गर्नुभयो। 

डब्लुएफपिका कन्ट्री डाइरेक्टर रोबट कास्काले यस्ता आपत्कालीन गोदामहरूलाई प्रभावकारी बनाउने र सहायता सामग्रीलाई व्यवस्थित बनाउन सहयोग पुर्‍याउने बताउनुभयो।  त्यसैगरी डब्लुएफपिका प्रतिनिधि रितेन्द्र क्षेत्रीले नेपालमा गण्डकी प्रदेशको पोखरालगायतका १२ स्थानमा यस्ता आपत्कालीन गोदामको निर्माण गरिएको जानकारी दिनुभयो। 

युरोपेली सङ्घको एक लाख एकसट्ठी हजार डलरको लगानीमा सो गोदाम घरमा हाल ५ सय मेट्रिकटन खाद्यान्न, ३ सय वटा कम्मल, ६ सय थान त्रिपाल, फ्युल, प्रि-फ्याक्सलागयतका उद्धार सामग्री भण्डारण गरिएको छ। 

कार्यक्रममा गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्म प्रसाद भुसाल, विपद् जोखिम व्यवस्थापन तथा पुनर्लाभ शाखा प्रमुख विश्वराज न्यौपानेलगायतका वक्ताहरूले सो गोदामघरको आवश्यकताका बारेमा बोल्नुभएको थियो।