• ११ असोज २०८१, शुक्रबार

दुई ठुला प्रतिस्पर्धी दलको सरकारले निजी क्षेत्रको लागि अवसर हो : मन्त्री भण्डारी

blog

सङ्घीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत कार्यक्रममा । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, असोज ९ गते । सङ्घीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले झण्डै राष्ट्रिय सहमतिको दुई ठुला र मुख्य प्रतिस्पर्धी दलको सरकार हुनु निजी क्षेत्रको लागि सुनौलो अवसर भएको बताउनुभएको छ ।

मंगलबार कैलाली उद्योग वाणिज्य सङ्घले उहाँको स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, यस्तो अवस्था फेरि नआउन सक्छ अहिले सबै खालका जटिलता फुकाउन सजिलो छ त्यसैले उद्योगी व्यवसायीले यस्तो अवस्थामा केही गरेर देखाउनुपर्छ । 

मौद्रिक नीतिको निजी क्षेत्रले स्वागत गरेको छ सरकारका प्राथमिकता उद्योग, पर्यटन, कृषि, विद्युतीयकरण र टेक्नोलोजी हो भन्ने पनि स्पष्ट छ  उहाँले भन्नुभयो अहिलेको बलियो सरकार भएको बेला लगानी बढाउनुपर्छ उद्योग, व्यवसाय फस्टाए सरकार पनि बलियो भएर स्वाधीन अर्थतन्त्र हुन्छ भन्ने हामीले बुझेका छौ ।

कोरोनाले निजी क्षेत्र सबैभन्दा बढी प्रभावित भयो, उद्योग र उद्योगीलाई प्रोत्साहन हुने गरेर सरकार अघि बढेको छ बढ्छ मन्त्री भण्डारीले भन्नुभयो,  सरकारले आफै उद्योग चलाउँदैन नियम, कानुन सहज बनाई दिने हो, केही कठिनाइ भए निजी क्षेत्रले भन्नुपर्छ । 

उहाँले आपूर्तिलाई सहज बनाउन सरकार लागेको बताउँदै आउँदै गरेका चाड, पर्वमा चिनीको मूल्य दुई अङ्क भन्दामाथि नजाने दाबी गर्नुभयो । उहाँले सरकारले आउन थालेका चाड, पर्वका लागि चिनी लगायतका उपभोग्य सामाग्रीको  अभाव हुन नदिने बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले दैजी/छेला औद्योगिक क्षेत्रको कार्य अगाडि बढाइने छ, दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको छिट्टै उद्घाटन हुने बताउँदै त्यसले सुदूरपश्चिम क्षेत्रको विकासमा ठुलो फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री भण्डारीले गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने काम पनि सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै उहाँले सो सम्बन्धी विधेयक संसद्को समितिमा छलफलमा रहेको पनि उल्लेख गर्नुभयो । 

स्वागत कार्यक्रम कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा व्यवसायी विनोदकुमार साह, केशव पाण्डेय, शिवकुमार फुलारा,  धनबहादुर कोली , सिद्धराज पनेरु, ओम विष्ट लगायतले उद्योग व्यवसाय सञ्चालनका लागि विभिन्न सुविधा दिनु पर्ने माग तथा सुझाव व्यक्त गर्नुभएको थियो ।