नेपाली समाजमा एउटा कथन छ– ‘पढेको मान्छेभन्दा परेको मान्छे जान्ने हुन्छ !’ यसको अर्थ किताबी ज्ञान मात्रै भएको तर अनुभव केही नभएको अथवा भनौँ त्यो ज्ञानलाई व्यवहारमा उतार्न नपाएको मान्छेको तुलनामा व्यावहारिक ज्ञान पाएका मानिसहरू जान्ने हुन्छन् । यसको उदाहरण हामी सबैको घरमा पनि छ ।
घरका बूढापाकाहरूमा भएको सीप, ज्ञान आजकल विद्यालय–विश्वविद्यालयमा पढेकाहरूको भन्दा बढी हुन्छ अनेक विषयमा । किताबमा खाना पकाउने कुरा सिकेकाहरूको तुलनामा दैनिक घरका खाना बनाउनेहरूमा बढी ज्ञान हुन्छ । कतिजनालाई कति पकाउनुपर्छ भन्ने अनुभव उनीहरूमा हुन्छ । के के सामग्री राखेर पकाउँदा स्वस्थकर र स्वादिष्ट हुन्छ भन्ने ज्ञान उनीहरूले पुख्र्यौली रूपमै सिकेर आएका हुन्छन् ।
तसर्थ शिक्षा कुनै लेखकले लेखेको, प्रकाशकले छापेको र विद्यालयले पढाएको मात्रै होइन कि पुस्तकमा लेखिएका विषयको व्यावहारिक ज्ञान दिनेतिर ध्यान जानु आवश्यक छ । हामीले हाम्रो शिक्षा पद्धतिलाई समयानुकूल भन्दै अस्तव्यस्त पारेका छौँ । विद्यार्थीलाई ज्ञान–सीपको साटो बोझ थोपरिरहेका छौँ ।
उनीहरूलाई कर्मठ र सीपवान् बनाउनुको साटो उनीहरूलाई किताबी ‘कीरो’ बनाउन उद्यत छौँ । यसले गर्दा आजका युवाको एउटै सोच हुन्छ– विदेश पलायन । अभिभावक पनि आफ्ना छोराछोरीलाई सकी नसकी महँगा विद्यालयमा लाखौँ खर्च गरेर पढाउने अनि लाखौँ खर्च गरेर विदेश पठाउने एकसूत्रीय योजनामा हुन्छन् ।
यो प्रवृत्ति देशका लागि घातक हो । यसले देशमा भित्रिएका अनगिन्ती समस्याहरूमध्ये जनशक्तिको अभाव हो । शिक्षित र सक्षम जनशक्ति आज देशमा छैन । हरेक वस्तुमा परनिर्भरता बढिरहेको छ । विदेश मोहले यसरी जरा गाडेको छ कि कुनै घरका छोरा–छोरी विदेश गएनन् भने त्यो घर समाजबाटै अलग गरिएको जस्तो व्यवहार हुन्छ ।
‘फलानाको छोरा–छोरी त विदेश गएनन् किन होला ? भिसा लागेन होला ! पैसा भएन होला !!’ यस्तै ताना मारेर समय कटाउनेहरूको सङ्ख्यामा आइरहेको बढोत्तरी न्यून गर्न अब सरकारी तहबाट स्पष्ट नीति र शिक्षण पद्धतिको विकास गरिनुपर्छ । विद्यालयले पनि स्वतस्फूर्त रूपमा व्यावहारिक शिक्षालाई प्रश्रय दिनुपर्छ ।
मुलुकको विकास, समृद्धि र पहिचान स्थापनाका लागि आफू अनुकूलको शिक्षा चाहिन्छ तर आजभोलि ‘जताजता पानी उताउता माछा’ भनेजस्तो शिक्षा पद्धति छ । आफ्नो धर्म, संस्कृति, परम्परा, इतिहास आजको पुस्तालाई सिकाउनै सकिएको छैन । विदेशी पाठ्यक्रम पढाएर हामीले हाम्रो मौलिकता नष्ट गरिरहेका छौँ । यसलाई सुधार गर्नु अपरिहार्य सर्त बनिसकेको छ ।
आज समाज विचलित छ, धार्मिक–सांस्कृतिक अतिक्रमणले आफ्ना मूल्य–मान्यता र संस्कार बिर्संदै गएको छ यो पुस्ताले । उनीहरूका लागि आफ्नोपनको अध्यापन गराउने दायित्व नै कसैमा देखिएन । सानालाई माया, ठूलालाई आदर गर्ने नेपाली संस्कृति नैतिक शिक्षाको एउटा पाटो हो तर आजभोलि नैतिक शिक्षा होइन ‘मोरल एजुकेसन’ पढाइन्छ ।
सामाजिक शिक्षाको साटो ‘सोसल एजुकेसन’ पढाइन्छ । नैतिकता र सामाजिक नै नबुझ्ने अहिलेको पुस्ताले भविष्यमा देशको जिम्मेवारी कसरी बहन गर्ला ? शिक्षालाई पहिलो प्राथमिकता राखेर ऋषिमुनिहरूले ग्रन्थ सिर्जना गरेको ज्ञानभूमि नेपाल आज अज्ञानीहरूको भीड बनेको छ । ज्ञानको नाममा विकारको भण्डारण गरिएको छ ।
अहिले पुराना कुरा बिर्सने र नयाँ मात्र अँगाल्ने प्रवृत्तिका कारणले समाज भाँडिएको छ, मानिस समूहबाट व्यक्तिमा परिणत भएको छ । आमाबुबाप्रति छोराछोरीको दृष्टिकोण बदलिएको छ । पूर्वीय समाजले जसरी आमाबुबालाई देवतुल्य मानेर उनीहरूको मार्गदर्शनलाई आशिर्वाद ठानेर अनुसरण गथ्र्यो आज त्यो विलुप्त भइसकेको छ ।
नैतिक र सामाजिक शिक्षा अनि हाम्रो संस्कार र अभ्यासका बारेमा उचित शिक्षा नहुँदा, यस्ता विषय समेटेर पाठ्यक्रम नबन्दा नेपाली समाज एकाङ्गी बन्दै गएको छ । आजका छोराछोरी बाबुआमाले भनेका कुराहरूलाई बोझ र कचकच गरेको ठान्छन् । उनीहरू आफू सर्वज्ञाता ठानेर बाबुआमाले दिएको सुझावलाई बोझ मान्छन् अनि आफ्नो मानोमानी गर्न पाइएन भने बाबुआमाप्रति घृणा गर्नछन् र अन्ततः सडकको पेटीमा वा वृद्धाश्रममा लगेर मिल्काइदिन्छन् । अहिलेको समस्या यही हो र यसको कारण आफ्नो माटोअनुसारको शिक्षाको अभाव हो ।
आयातित शिक्षाले नेपालीपन मासिँदैछ । आमाबाबुप्रति छोराछोरीको दायित्वलाई कानुनमा बाँध्नुपर्ने बाध्यता पश्चिमा संस्कृतिको अन्धानुकरण बढ्दो छ । यसैको परिणाम हो घरका आमाबुबा संस्कारवान् हुँदाहुँदै पनि उनीहरूका छोराछोरी संस्कारहीन भएर निस्कन्छन् । यसमा दोष छोराछोरीको मात्र होइन आमाबाबुको पनि छ । उनीहरूले आफ्नोपन भुलेर अरूले जे ग-यो त्यही गर्न खोज्दा घरघरमा यस्ता समस्या कायम रहेका छन् ।
यसमा शिक्षा र व्यावहारिक ज्ञान वा अभ्यासकै कमी छ । उतिबेला विद्यालयहरूमा कम्तीमा हप्ताको एकदिन विद्यार्थीहरूलाई नैतिक, सामाजिक र व्यावसायिक शिक्षाको अभ्यास गराइन्थ्यो । आजभोलि त्यस्तो अभ्यास गराउने विद्यालय औँलामा गन्दा पनि पूरा हुँदैनन् । आज किन त्यस्तो शिक्षाको आवश्यकता परेन ? हिजो सरकारी विद्यालयमा पढेकाहरू नै आज उच्च सरकारी ओहोदामा पुगेका छन् । उनीहरूमा शिक्षासँगै ज्ञान र अनुभव पनि छ र उनीहरू त्यो स्तरमा पुगे । आजका बालबालिकाको सोच किन सरकारी अधिकारी बन्ने हुँदैन ? किन उनीहरूमा यही देशमा केही गर्छु भन्ने भावनाको विकास हुँदैन ? किनभने हामीले त्यस्ता शिक्षा दिएकै छैनौँ । जस्तो शिक्षा दियो हुने त त्यस्तै हो ।
एउटा व्यक्तिलाई तब मात्र शिक्षित वा पढेलेखेको मानिन्छ जब उसले आफैँ गरिखाने बन्न सक्छ र उसमा राम्रो संस्कार बस्छ, आफ्नो धर्म, संस्कृति, मूल्य–मान्यतामा आस्था राख्ने हुन्छ । किनभने शिक्षाले त्यही सिकाएको हुन्छ तर यहाँ त मात्र पढाइन्छ । हाम्रो जीवनशैलीको पूर्वाधार नै संस्कार हो । शुभकर्म गर्नु, आत्मबोध गर्नु, साक्षी भावले जगत्मा विचरण गर्नु सबै संस्कारजन्य काम हुन् ।
शुभकर्म गर्न जसरी संस्कारले प्रेरित गर्छ त्यसरी नै सुसभ्य, सुसंस्कृत हुन, सुशिक्षित बन्न, सुख, शान्ति प्राप्त गर्न पनि सुसंस्कारकै बलियो जग चाहिन्छ । यस्तो शिक्षा पिता–पुर्खाबाट हस्तान्तरण हुँदैआएको थियो तर आजभोलि हराएको छ । आज आधुनिक शिक्षाका ज्ञाता र नीति निर्माण तहमा पुगेकाहरूले पनि आफ्ना बुबा–हजुरबुबाबाट त्यस्तो शिक्षा नपाएका हैनन् तर उनीहरूमा द्रव्यमोहले यति ग्रस्त पारेको छ कि केही रुपियाँका लागि आफ्नो संस्कार बन्धकी राख्न पछि हट्दैनन् ।
बालबालिकालाई पढाउने मात्र होइन कि सिकाउने काम नगर्ने हो भने नेपाल अक्षर चिन्नेहरूले त भरिनेछ तर गरिखान सक्ने कोही हुँदैनन् । सबै परतन्त्रमा आश्रित भएर जीवन गुजार्न बाध्य हुनेछन् । अहिले हरेकको मनमा गढेको ‘म यहाँ बस्ने हैन क्यारे किन सिक्नुप-यो, किन जान्नुप-यो, यहाँ सिकेको कुरा त्यहाँ के काम ?’ जस्ता प्रश्न गर्छन् । यही हो पैसामा किनिएको र लादिएको संस्कारविहीन पढाइ । अब यसको अन्त्य हुनुपर्छ । नयाँ शैक्षिकसत्र सुरु हुँदैछ । नयाँ सत्रबाट नयाँ अभ्यासको थालनी गर्ने र मुलुकको शिक्षा पद्धतिलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक र हितकारी पनि बनाउने गरी योजना बनाउनुपर्छ ।
सधैँ आधुनिक शिक्षाको नाममा लादिएको भारी मात्र बोकाएर यो देशमा कल्याणकारी भावना र उत्पादनशील सोच–जाँगर भएको जनशक्ति तयार गर्न सकिँदैन । अहिले हामी आफ्नो लागि नभएर विदेशीका लागि जनशक्ति तयार गरिरहेका छौँ जुन मुलुकको समृद्धिका लागि ठूलो अवरोध र देशको भविष्यमाथि भीषण घात हो । यसको अन्त्य गरी जबसम्म जनमुखी, समाजमुखी र उत्पादनमुखी शिक्षा र त्योसँगै व्यावहारिक अभ्यास गराइँदैन तबसम्म देशले खोजेको र चाहेको परिवर्तन सम्भव हुँदैन ।
नयाँ शैक्षिकसत्र सुरु भएको छ । नयाँ सत्रबाट नयाँ अभ्यासको थालनी गर्ने र मुलुकको शिक्षा पद्धतिलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक र हितकारी पनि बनाउने गरी योजना बनाउनुपर्छ । सधैँ आधुनिक शिक्षाको नाममा लादिएको भारी मात्र बोकाएर यो देशमा कल्याणकारी भावना र उत्पादनशील सोच–जाँगर भएको जनशक्ति तयार गर्न सकिँदैन । अहिले हामी आफ्ना लागि नभएर विदेशीका लागि जनशक्ति तयार गरिरहेका छौँ जुन मुलुकको समृद्धिका लागि ठूलो अवरोध र देशको भविष्यमाथि भीषण घात हो । यसको अन्त्य गरी जबसम्म जनमुखी, समाजमुखी र उत्पादनमुखी शिक्षा र त्योसँगै व्यावहारिक अभ्यास गराइँदैन तबसम्म देशले खोजेको र चाहेको परिवर्तन सम्भव हुँदैन ।