• ७ मंसिर २०८१, शुक्रबार

लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक योगदान

blog

गणेशमान सिंहले जीवनभरि देश र जनताको हितको निमित्त सङ्घर्ष गर्नुभयो । अनेक कष्ट र यातना बेहोर्नुभयो । अनेक पटक मृत्युदण्डको अगाडि उभिनुभयो । उहाँले वि.सं. १९९७ को साउनमा धर्मभक्त माथेमाबाट प्रजापरिषद्को सदस्यता लिनुभयो । प्रजापरिषद्ले आफ्नो सक्रियतालाई बढाउँदै लग्यो । १९९७ को भदौमा यसले आफ्नो चौथो पर्चा पनि वितरण ग-यो ।

व्यापक रूपमा वितरण गरिएको यो पर्चामा एकतन्त्रीय राणा शासनको कडा विरोध गरिएको थियो । यी पर्चा कसरी, कसबाट वितरण भए, प्रजापरिषद्मा को–को छन् ? यी कुरा राणालाई थाहा थिएन । यी सबैको यथार्थ जानकारी गराउनेलाई उचित पुरस्कार दिने राणाले घोषणा गरे । पुरस्कार पाउने लोभमा वाक्पतिराज शास्त्री (शुक्रराज शास्त्रीका भाइ)ले यसबारेको उनलाई थाहा भएसम्मका सबै कुरा राणालाई बताइदिए । 

अन्ततः १९९७ को कात्तिक २ गते बिहानै धर्मभक्त माथेमाको घरको व्यापक रूपले खानतलासी लिइयो । त्यहाँबाट धेरै गोप्य र महìवपूर्ण कागजात बरामद भए । प्रजापरिषद्का बारेमा धेरै कुरा राणालाई थाहा भयो । गणेशमान सिंहलगायत प्रजापरिषद्सित सम्बद्ध धेरैलाई कात्तिक २ गते नै पक्राउ गरियो । सोधिएका कतिपय प्रश्नमा जवाफ दिन इन्कार गरेकाले धर्मभक्त, गङ्गालाल र गणेशमान सिंहलाई अत्यन्त बर्बर तवरले यातना दिइयो । अनेकौँ दिनको यो कठोर यातनाले गणेशमानले लगाएका सबै लुगा उहाँको शरीरभरि घाउ र रगतमा टाँसिएका थिए । ती छुट्याउँदा सम्पूर्ण शरीर रगताम्य भएको थियो । 

प्रजापरिषद्सम्बन्धी सबै कुरा हेर्न गठन गरिएको विशेष अदालतले १९९७ माघ ६ गते फैसला सुनायो । त्यसमा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल र पूर्णनारायण प्रधानलाई अंश सर्वस्वसहित ज्यानको सजाय दिइएको थियो (प्रधानको ज्यानको सजायलाई पछि आजीवन कैदमा परिणत गरियो) । टङ्कप्रसाद आचार्य, रामहरि शर्मा तथा गणेशमानसमेत केहीलाई अंश सर्वस्वसहित आजीवन कैद गरियो । अरू १८ वर्ष, १२ वर्ष, छ वर्ष र तीन वर्षको कैद सजाय पाउनेहरू थिए ।

उहाँहरू सबैलाई भद्रगोल जेलभित्रको सानो जेलमा कडा निगरानीमा राखिएको थियो । गणेशमान आजीवन कैदको सजायलाई पर्खेर, राणाहरूको कठोर निरङ्कुशतालाई हेरेर मात्र बस्न तयार हुनुहुन्नथ्यो । उहाँ जसरी पनि जेलबाट उम्केर राणाहरूको विरोधको सङ्घर्षमा लाग्ने योजनामा हुनुहुन्थ्यो । निकै लामो र अनवरत प्रयत्नपछि २००१ को असार ७ गतेको मध्यरातमा जेलको दुवै अग्ला पर्खाल नाघेर गणेशमान उम्कनुभयो । 

त्यसपछिका दिन उहाँका लागि अरू कठोर र अझ कष्टकर थिए । उहाँको नेपालमा मात्र होइन, राणाहरूको अनुरोधमा ब्रिटिस सरकारले भारतमा पनि खोजी गरिरहेको थियो । पक्राउ परे त्यहाँबाट उहाँको सुपुर्दगी हुने निश्चित थियो । असार १५ गते जारी गरिएको गोर्खापत्रमा प्रकाशित इस्तिहारमा भनिएको थियो– “...गणेशमान के पुर्जी उप्रान्त...आजको १५ दिनभित्र तिमी आफैँ हाजिर हुन आउने काम गर । सो समयभित्र हाजिर हुन नआए पछि जुन वखत तिमी पक्राउ हौला, उस समय तिम्रो ज्यान सजाय हुने छ....।”

त्यसले स्पष्ट पारेको थियो– गणेशमान सिंहको अबको पक्राउ निःसन्देह मृत्युदण्ड थियो । राणाहरूले गणेशमानलाई पक्राउ गर्ने वा पक्राउ गर्न सुराक दिनेलाई पुरस्कार दिने घोषणा पनि गरिसकेका थिए । भारतमा पनि उहाँले कहिले कृष्णबहादुर गुरुङ र कहिले कुनै अरू नामले कडा भूमिगत रूपमा जोखिमपूर्ण क्षणलाई बेहोरिरहन परेको थियो । 

वि.सं. २००३ सम्म आइपुग्दा भारत स्वतन्त्रता प्राप्तिको नजिकै पुगिसकेको थियो तर पनि गणेशमानजीले भारतमा बेहोर्नु परेको खतरा हटिसकेको थिएन । केही मत्थर मात्र भएको थियो । २००३ को माघमा कोलकातामा भएको अधिवेशनले नेपाली राष्ट्रि«य काँग्रेसको स्थापना ग-यो । यसमा गणेशमानको प्रमुख भूमिका थियो । त्यसबेलासम्म पनि उहाँले गणेशमान होइन, कष्णबहादुरकै नामबाट भाग लिनु परेको थियो । नेपाली राष्ट्रिय काँग्रेसको दोस्रो अधिवेशन २००४ को माघमा बनारसमा सम्पन्न भयो । त्यो अधिवेशनदेखि मात्र उहाँ गणेशमान सिंहकै रूपमा उपस्थित हुनुभयो । 

दुई पार्टीको एकीकरणबाट नेपाली काँग्रेसको गठन भयो । नेपाली काँग्रेस सशस्त्र क्रान्तिको तयारीमा लाग्यो । नेपालको कुनै एक उपयुक्त स्थान सम्भवतः पाल्पालाई मुक्त क्षेत्र घोषणा गर्ने र राजा त्रिभुवनलाई भगाएर त्यहाँ पु-याउने, त्यही मुक्त क्षेत्र वा देशभित्रकै एक भूभागबाट जनक्रान्ति सञ्चालन गर्ने निर्णयलाई नेपाली काँग्रेसले आफ्नो प्रथमिकतामा राख्यो ।

यो निर्णयको जानकारी राजा त्रिभुवनलाई दिन तथा यसमा राजाको सहमति हुन्छ कि हुँदैन ? त्यो बुझ्न तथा केही महिनापहिले सुन्दरराज चालिसेले प्रारम्भ गरेको नेपाली सेनालाई विद्रोह गराएर, जनमुक्ति सेनामा सम्मिलित गराउने कार्यलाई समेत अघि बढाउन गणेशमान र सुन्दरराजको नेतृत्वमा एउटा सशस्त्र टोलीले अति गोप्य तवरमा भारतको सोनवर्षाबाट नेपाल प्रवेश ग-यो र भित्री मधेस, दाप्चा, बनेपा हुँदै यो टोली २००७ को साउनमा काठमाडौँ आयो । यो सशस्त्र टोलीमा जनमुक्ति सेनाका मेजर दिलमान सिंह थापा, लेफ्टिनेन्ट कुलमान लामासमेत सम्मिलित थिए । उनीहरूसित आधुनिक हतियार र शक्तिशाली वारलेस सेट थियो । 

राजा त्रिभुवनका सचिव दयारामभक्त माथेमा र कृष्णलालमार्फत गणेशमान सिंह र राजा त्रिभुवनको बीचमा संवाद आदान–प्रदान भयो । हेलिकप्टरको व्यवस्था भए मात्र नेपाली काँग्रेसले निर्धारण गरेको मुक्त क्षेत्रमा जान सक्ने राजा त्रिभुवनको निर्णय गणेशमान र सुन्दरराजलाई आयो । त्रिभुवनलाई भगाएर मुक्त क्षेत्रमा पु-याउने योजना कार्यान्वयन हुन नसक्ने स्थितिमा पुग्यो । 

गणेशमान र सुन्दरराजको टोली काठमाडौँ आएको कुरा राणाहरूले थाहा पाए । गणेशमानलाई धेरै पहिलेदेखि राणाहरू आफ्नो नियन्त्रणमा लिन चाहन्थे र मृत्युदण्ड दिन चाहन्थे । सेना भड्काएको अभियोग सुन्दरराजमाथि थियो । त्यसैले उहाँहरू र उहाँहरूको टोलीको व्यापक रूपमा खोजी भयो । अन्ततः २००७ को असोज ८ गते सुन्दरराज, दिलमान सिंह थापा, कुलमान लामा र उनीहरूसित आएका जनमुक्ति सेनाका धेरैलाई पक्राउ गरियो । असोज ८ कै राति सुशीला चालिसे (सुन्दरराजकी धर्मपत्नी) तथा कर्णेल तोरण शमशेर, कर्णेल प्रतापविक्रम शाह र नेपाली सेनाका अरूलाई पनि पक्राउ गरियो । राणाहरूको अनेक प्रयत्नबाट पनि जोगिएर केही पछि गणेशमान भारततिरै फर्कनुभयो । भारतको सीमानजिकै ठोरीमा उहाँ पक्राउ पर्नुभयो । उहाँलाई काठमाडौँ ल्याइयो र सिंहदरबारको सैनिक हिरासतमा राखियो । 

हरि शमशेरको अध्यक्षतामा विशेष अदालत गठन गरियो । हरि शमशेरले सोधेको कतिपय प्रश्नको जवाफ दिन गणेशमानले अस्वीकार गर्नुभयो । त्यसमा क्रोधित भएर आठपरियालाई हरि शमशेरले भने– यसलाई कोर्रा हान् । चार जना आठपरियाले क्रूरतापूर्वक गणेशमानजीलाई कोर्रा हाने । उहाँको सम्पूर्ण शरीर रगताम्य भयो । उहाँ मुर्छा पर्नु भयो । तिनै आठपरियाले घिसार्दै उहाँलाई थुनावा कोठामा पु-याए । एक दिन मात्र होइन, उहाँमाथि यस्ता यातना अरू निकै दिनसम्म दोहरिइरहे । 

२००१ मा जेलबाट फरार भएको, सीमान्त स्थान झरोखरमा नेपाली पुलिसमाथि गोली चलाएको, सरकारविरोधी सङ्गठनमा रहेर अनेक कार्य गरेको, जनमुक्ति सेनाको सशस्त्र टोलीसहित काठमाडौँमा आएको, श्री ३ र अरूहरूको हत्या गर्ने षड्यन्त्रमा लागेको, नेपाली सेनालाई भड्काउने प्रयत्न गरेको आदि कतिपय अभियोग मूलतः गणेशमान, सुन्दरराज, दिलमान सिंह थापा, कुलमान लामा र तोरण शमशेरसमेतलाई लगाइएको थियो । त्यसैले उहाँहरूलाई मृत्युदण्डको सजाय सुनाउने तयारीमा विशेष अदालत लागिरहेको थियो । 

त्यसबेलासम्म नेपाली काँग्रेसले सशस्त्र क्रान्तिको सम्पूर्ण तयारी पूरा गरिसकेको थियो । २००७ को असोज १० र ११ गते बैरगिनयाँमा भएको नेपाली काँग्रेसको सम्मेलनले सशस्त्र क्रान्ति गर्ने निर्णय ग-यो । २००७ को कात्तिक २६ को मध्यरातमा वीरगञ्ज कब्जा गरेर, जनमुक्ति सेनाले देशको धेरै भागमा जनक्रान्ति सुरु गरिसकेको थियो । त्यसैले गणेशमान र अरूलाई मृत्युदण्डको सजाय सुनाउने दिन पछि सर्दै गयो । 

वि.सं. २०१६ को जेठमा बीपी कोइरालाको प्रधानमन्त्रित्वमा जननिर्वाचित सरकार गठन भयो । गणेशमानजीले यातायात, निर्माण, सञ्चार, नहर, मालपोत र भूमिसुधार मन्त्रालयको जिम्मेवारी वहन गर्नुभएको थियो । यो सरकारले विकास र निर्माणका धेरै महìवपूर्ण काम ग-यो । त्यसलाई राजा महेन्द्रले सहन गर्न सकेनन् । २०१७ को पुस १ गते सैन्य शक्तिको आडमा उनले जननिर्वाचित प्रधानमन्त्री, मन्त्री र अरू धेरैलाई जेलमा राखे । संसद् विघटन गरे । पार्टीलाई प्रतिबन्ध लगाए । राजाको यो लामो निरङ्कुश कालमा आठ वर्ष जेलमा रहेर २०२५ को कात्तिकमा बीपी र गणेशमानको रिहा भयो । उहाँहरूले त्यसपछि लामो समयसम्म निर्वासनमा रहनु प-यो । 

देश सङ्कटतिर गइरहेको थियो । देशलाई सङ्कटबाट जोगाउन राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर २०३३ को पुस १६ गते बीपी र गणेशमानजी स्वदेश फर्कनुभयो । उहाँहरूलाई विमानस्थलमै पक्राउ गरियो र कडा निगरानीका साथ जेलमा राखियो । उहाँहरूमाथि राज्य विप्लवसम्बन्धी सातवटा मुद्दा थिए । ती प्रत्येक मुद्दामा उहाँहरूलाई मृत्युदण्ड हुन सक्थ्यो ।

तीमध्ये दुईवटा बेग्लाबेग्लै मुद्दामा भीमनारायण श्रेष्ठ र कप्तान यज्ञबहादुर थापालाई मृत्युदण्ड दिने फैसला भइसकेको थियो । तीलगायत अरू सबै मुद्दाको प्रमुख अभियुक्त बीपी, गणेशमान र गिरिजाबाबु हुनुहुन्थ्यो । उहाँहरूमाथिको मुद्दा हेर्न विशेष अदालत पनि गठन गरियो । गणेशमानजीको निमित्त यो तेस्रो विशेष अदालत थियो । १९९७ को, २००७ को र २०३३ को यी तीनवटै विशेष अदालतको अगाडि उभिएर उहाँले मृत्युदण्डको फैसलालाई  पर्खनु परेको थियो । 

Author

पुरुषोत्तम बस्नेत