• ११ माघ २०८१, शुक्रबार

कार्यवाहक प्रधानमन्त्री र सहरी विकासका सचिवबिच कार्यसम्पादन सम्झौता

blog

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र सचिव मणिराम गेलालबिच कार्यसम्पादन करार सम्झौता । तस्बिर : कार्यवाहक प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, असोज ८ गते । कार्यवाहक प्रधानमन्त्री समेत रहनुभएका उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सचिव मणिराम गेलालसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले मङ्गलबार मन्त्रालयमै कार्यसम्पादन करार सम्झौता गर्नुभएको हो । भदौ २७ गते उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको थियो । सो सम्झौतालाई आधार मानेर मन्त्रालयभित्रबाट गर्नुपर्ने काम प्रभावकारी बनाउनका लागि मन्त्री र सचिवबिच सम्झौता भएको हो ।


‘‘सम्मानित प्रधानमन्त्रीज्यूसँग मैले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेको थिएँ । ती प्रतिबद्धताअनुसार कार्यसम्पादनमा बाधा अड्चन नआउने गरी, आयोजनाहरू समयमा सम्पन्न हुने गरी कार्यसम्पादन सम्झौता अक्षरशः पालना हुने विश्वास लिएको छु,’’ कार्यसम्पादन सम्झौतापछि सिंहले भन्नुभयो ।

उहाँले मन्त्रालयको कामलाई जनताले अनुभूति गर्ने गरी अगाडि बढाउन पनि सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सचिव गेलालले मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने व्यवस्थित र योजनाबद्ध सहरी विकास, सुरक्षित र किफायती आवास, सुलभ र प्रकोप प्रतिरोधी भवन, स्थानीय पूर्वाधारको क्षेत्रमा सञ्चालित आयोजना र कार्यक्रम तथा सेवा प्रवाहमा सुधार, तोकिएको समयावधिमा आयोजना सम्पन्न गर्ने, विकास निर्माण र सुशासनमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी उपलब्धि हासिल गर्नेतर्फ विशेष ध्यान दिई स्वच्छ र सफा वातावरणसहितको योजनाबद्ध सहरीकरणद्वारा राष्ट्रको विकास गर्ने गरी कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।